गएको आइतबार कीर्तिपुरको ढल्पाचोकस्थित घरमा पुग्दा सबिता महर्जन निकै व्यस्त देखिन्थिन्।
‘बिहानभर एउटा बैठक थियो’, हामीलाई देख्नेबित्तिकै उनले भनिन्, ‘तपाईँहरुसँग एक डेढ घण्टामात्र कुरा गर्छु।’
लगत्तै अर्को बैठक रहेको उनले स्पष्ट्याइन्। त्यतिबेला सविताले ९ जना महिलाहरुलाई बोलाइसकेकी थिइन्। आफूसहित १० जना।
‘धेरै काम सकिसकेको छ। अब केही स्टोर दर्ता गर्न जाँदै छौँ’, उनले भनिन्, ‘त्यही भएर आज मिटिङ राखेको।’
कीर्तिपुरमा दुई दशकदेखि कीर्तिपुर होजियारी र सिलाइकटाइ व्यवसाय गर्दै आएकी सबिता महिला उद्यमीको सीप विकासमा परिचित छन्।
कीर्तिपुरका महिलाहरुलाई उद्यमी बनाउन लागिपरेकी उनले आफ्नै नेतृत्वमा १० महिलासँग मिलेर नयाँ बजारमा डिपार्टमेन्ट स्टोर खोल्न लागेकी हुन्। २ करोड लगानी भएको उक्त डिपार्टमेन्ट स्टोर फागुन १ देखि सञ्चालनमा आउने सबिताको भनाइ छ।

उनले भनिन्, ‘अहिले मेरै नेतृत्वमा सबै काम भइरहेको छ। अबको १० दिनमा दश जनाको दर्ता भएर आउँछ।’
गर्नलागेको काममा उनी उत्साहित छिन्। डिपार्टमेन्ट स्टोर सञ्चालन भएपछि कीर्तिपुरका महिला उद्यमीको लागि थप सहयोग हुने अपेक्षा गरेको उनले सुनाइन्।
उनीहरुले उत्पादन गरेको हरेक सामान त्यहाँ ल्याएर बेच्न सकिनेछ।
र्याकमा रहेको फाइल झिक्दै उनले इन्टेरियर डिजाइन सकिसकेको डिपार्टमेन्ट स्टोरको नक्सा देखाइन्, ‘यी हेर्नुस्, यहाँनेर कीर्तिपुर होजियारीको हेन्डिक्राफ्टको स्टोर हुन्छ।’

नक्साको एक कुनाको चौघेरा देखाउँदै उनले थपिन्, ‘यहाँ फुड क्याफे हुन्छन्, जहाँ कीर्तिपुरका परम्परागत खाना उपलब्ध हुनेछन्।’
डिपार्टमेन्टमा दश जना महिलाको १० वटा पसल हुनेछन्। एउटा व्यवस्थापन कक्ष हुनेछ। दश जनाको टिमलाई नबिल बैंकले फाइनान्स गर्दै छ।
‘इन्टेरियर डिजाइन, निर्माणलगायत काम सम्पन्न भइसकेको छ। अब त्यहाँ उत्पादनहरु लगेर राख्न मात्र बाँकी छ’, उनले भनिन्।
डिपार्टमेन्टमा कीर्तिपुरको ह्यान्डिक्राफ्टको शोरुम, यहाँको सांस्कृतिक खानाहरुको क्याफेसहितका अन्य पसल हुनेछन्। यसमा ३ हजार कृषकसँग तरकारी संकलन गरेर राखिनेछ।
कीर्तिपुरमै कृषि उत्पादन गर्ने र यही डिपार्टमेन्ट स्टोरमा ल्याएर बेच्ने योजना उनीहरुको छ। यही मार्केटिङ गर्ने भनेर सबै किसानलाई सहयोग गर्ने गरी योजना अगाडि बढाएको उनको भनाइ छ।
‘फागुन १ गते यसको उद्घाटन गर्ने तयारीमा छौँ’, सबिताले भनिन्, ‘काम अन्तिम चरणमा छ।’
कीर्तिपुरमा केही गरौैँ भन्ने चाहनाले नै उनी २५ वर्षदेखि यहाँका महिला उद्यमीको सहयोग र सीप विकासमा लागिपरेकी छिन्।
यसकै लागि उनीहरु ‘आत्मनिर्भर अर्थतन्त्र’ भनेर अभियान नै सञ्चालन गर्दै छन्। कीर्तिपुरलाई खाद्यान्न संकटबाट मुक्त गर्ने र यहीँ उत्पादन पनि गर्ने उद्देश्य छ।
उर्वर नेपाल संस्थाबाट देशभरमा आत्मनिर्भर अर्थतन्त्र अभियान सञ्चान हुँदै छ। ७७ जिल्लामै चल्ने अभियानको कीर्तिपुरको संयोजन उनले गरिरहेकी छिन्।
त्यसका लागि यहाँ कलेक्सन केन्द्र पनि स्थापना भइसकेको छ।

आफ्नै योजना
डिपार्टमेन्ट स्टोर खोल्ने योजना सबिताकै हो। एक विशेष योजनासहित उनले यो खोल्न चाहेकी थिइन्।
‘मेरो खास उद्देश्य घरेलु हिंसामा परेका महिलाहरुलाई उद्यमी बनाऔँ भन्ने थियो’, उनले भनिन्, ‘तर त्यसअनुसार अगाडि बढ्न सकिएन।’
उनले चाहेकी थिइन्– घरेलु हिंसामा परेका महिलाहरु सहभागी बनाएर त्यो डिपार्टमेन्ट स्टोर चलाउने। उनी र श्रीमानले चलाएको सवि फाउन्डेसनअन्तर्गत ती महिलाको नाममा दर्ता गर्ने।

तर, लगानीको मोडालिटीले उनको योजनालाई साथ दिएन। घरेलु हिंसामा परेका ती महिलाले व्यक्तिगत रुपमा केही पैसा पनि लगानी गर्न सकेनन्।
यता बैंकले भने व्यक्तिगत रुपमा २ देखि ३ लाख लगानी गरेपछि मात्रै दश लाख रुपैयाँ फाइनान्स गर्ने भयो।
बैंकको यही नियमपछि उनले आफ्नो योजनाको मोडालिटी परिवर्तन गर्नुपर्यो। अहिले व्यक्तिगत रुपमा लगानी गर्ने उनीजस्तै सामाजिक काम गरिरहेका महिलाहरुसँग मिलेर यो डिपार्टमेन्ट सुरु गर्दै छिन्।
घरेलु हिंसामा परेका महिलाहरुलाई उद्यमी नै बनाउन नसके पनि यस डिपार्टमेन्ट स्टोरमा ती महिलालाई नै जागिर दिने योजना छ।
‘डिपार्टमेन्ट स्टोरमा घरेलु हिंसामा परेका महिलाहरुलाई नै जागिर दिनेछौँ’, उनले भनिन्, ‘हाम्रो सोच त उहाँहरुलाई सञ्चालक नै बनाउने थियो तर उहाँहरुले १० लाख ऋण लिने आँट गर्नुभएन।’

भोलि डुब्यो भने के गर्ने भनेर उनीहरुले आँट नगरेको उनले खुलाइन्।
‘कुरा ठीकै पनि हो जोखिम उठाउनसक्ने क्षमता सबै महिलामा छैन’, उनले भनिन्।
तर, मौका आउँदा महिलाहरुले केही आँट गर्नुपर्छ भन्ने उनलाई लाग्छ।
‘२० वर्षअघि यसरी सुविधा, मौका पाएको भए त मैले कीर्तिपुरभन्दा पनि संसारमा नै व्यवसाय गर्न सक्थेँ होला’, सविताले भनिन्, ‘त्यो अवसर मैले पाइनँ। जुन अहिले अरुले पाउन सक्छन्।’

कीर्तिपुर काठमाडौंमै भए पनि महिला व्यवसायीहरु निकै पछि परेको उनको अनुभव छ। परम्परागत रुपमा घरभित्रै सीमित हुँदा यसो भएको बताउँदै उनले थपिन्, ‘व्यवसायमा आएकाहरुले पनि राज्यको सेवा सुविधा लिन सकेनन्।’
‘एक त उनीहरु सरकारी प्रक्रियामै गएनन्। अर्को, राज्यले पनि स्थानीय महिलाहरुलाई प्रोत्सहन गरेन’, उनले भनिन्।
कीर्तिपुर आफैँमा उर्वरभूमि भएकोले यहाँको कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँछिन् उनी। उनले भनेजस्तै यहाँका परम्परागत व्यवसाय, हेन्डिक्राफ्टदेखि अन्य व्यवसायहरु चल्दै पनि आएका छन्।
‘यी सबै कामलाई व्यावसायिक रुपमा अगाडि बढाउन सकिएन,’ सबिता भन्छिन्, ‘अब त्यो दिन आएको छ।’

साना महिला उद्यमीले कोठैबाट व्यवसाय गर्ने भए पनि कम्तीमा प्यान कार्ड लिएर गरौं भन्ने अभियान सविताको छ।
परम्परागत रुपमा चल्दै आएको कीर्तिपुरको व्यवसायलाई काठमाडौंले महत्व नदिएको सविता बताउँछिन्।
‘काठमाडौंको नजिक भएर पनि ५४ वर्षपछि मात्र कीर्तिपुरमा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको संघ स्थापना भएको छ’, उनले भनिन्, ‘धेरै संघर्षपछि मात्र यो संघ खोल्न सफल भएका छौं।’
उनले यसलाई सफलता मानेकी छन्।

प्रतिक्रिया