म्यागेजिन


बेइजिङमा कोरोना खोप बनिरहेको कारखानाभित्र छिर्दा (भिडिओ)

बेइजिङमा कोरोना खोप बनिरहेको कारखानाभित्र छिर्दा (भिडिओ)

चेतनाथ आचार्य
पुस २९, २०७७ बुधबार १४:५५,

यही जनवरी ६ तारिख बुधबार दिउँसो, बेइजिङको तापक्रम माइनस १९ डिग्री सेल्सियस। मुटु कमाउने चिसो हावा। केही पाइला हिँड्दा पनि ज्यानै जालाजस्तो। चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेअनुसार २० वर्षपछि बेइजिङको तापक्रम यति तल झरेको अहिले हो। झलमल्ल घाम लागिरहेको भए पनि चिसो सिरेटोले खुला ठाउँमा राखिएको पानीलाई तुरुन्तै बरफ बनाउने।

मध्य दिउँसो त्यो चिसोमा बाहिर निस्किँदा मलाईचाहिँ भित्रदेखि गर्मीको महसुस भइरहेको थियो। ममा कुनै ज्वरो थिएन तर मन भने भकभकी उम्लिरहेको। कोठाबाट २ सय मिटर हिँडेर मिनी बसमा चढेपछि मनभित्रको तापक्रम अझ उक्लियो।

चिसो वातावरणमा मन तात्नुको पछाडि एउटा सुखद संवेग थियो। तुलबुल थियो। जिज्ञासा र कौतुहलता थिए। दोस्रो विश्वयुद्धपछि विश्वमा देखिएको सबैभन्दा ठूलो समस्या कोरोना महामारीविरुद्ध चीनले बनाइरहेको खोपको प्रत्यक्ष अवलोकन गर्न जाने अवसर पाएकाले चिसोमा पनि मलाई तातो महसुस भइरहेको थियो।

एउटा पत्रकारका लागि कुनै स्थलको प्रत्यक्ष अवलोकन गर्न पाउनु सामान्य कुरा हो। तर कोरोनाविरुद्ध खोप बनाइरहेको चीनकै अग्रस्थानको कम्पनी, खोप निर्माण प्रक्रिया, प्रयोगशाला, पछिल्ला प्रगति सबै कुरा प्रत्यक्ष देख्न पाउनु ठूलो उपलब्धि थियो मेरो लागि। उच्च प्रविधियुक्त प्रयोगशाला र विश्वका दर्जन मुलुकमा मानिसमा परीक्षण गर्दा ८५ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको खोपको निर्माता साइनोभ्याक्स चीनको मात्र होइन, विश्वकै नामी खोप कम्पनी हो।

सामान्यतः यस्ता उच्चस्तरीय प्रयोगशालासम्म पुग्न सर्वसाधारण अथवा हामीजस्ता पत्रकारको पहुँचै हुँदैन। यस्तो दुर्लभ अवसर हामीलाई चाइना मिडिया ग्रुपले उपलब्ध गराएको थियो। बाह्र जनाभन्दा बढी पत्रकारमध्ये म मात्र विदेशी थिएँ। बाँकी सबै चिनियाँ।

SinoVac7

बेइजिङको तासिङ जिल्लामा रहेको साइनोभ्याक्सको हेडक्वाटरमा पुग्न हामी चढेको मिनी बसलाई लगभग ४५ मिनेट लाग्यो। चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको कार्यालयबाट दिउँसो २ बजे गुडेको बस थोरै दक्षिण गएर पश्चिम मोडियो र पाँचौँ चक्रपथबाट सुलुलु दक्षिण हुँदै पूर्व लागे पछि तासिङ जिल्ला प्रवेश गर्‍यो।

चीनका नामी बायोइन्जिनर वेइतोङ यिनको टोलीले सन् १९९३ देखि खोज/अनुसन्धान गरी १९९९ मा देशमै पहिलोपटक हेपाटाइटिस एविरुद्ध खोप विकास गरेको थियो। त्यही टोलीले सन् २००१ मा साइनो बायोटिक कम्पनी स्थापना गरेको हो। यो कम्पनीले अहिलेसम्म ६ वटा खोप विकास गरिसकेको छ। सन् २००९ मे ७ देखि साइनोभ्याक्सको मुख्य कार्यालय तासिङ जिल्लाको चोङक्वाङछुन विज्ञान पार्कमा राखिएको छ।

साइनोभ्याक्सको हेडक्वाटर पुग्दा दिउँसोको ३ बज्न लागेको थियो। हामी रहेको मिनी बसभित्रै साइनोभ्याक्सका कर्मचारी आएर हाम्रो शरीरको तापक्रम जाँचे र मोबाइलमा स्वास्थ्य ग्रिनकोड हेरेपछि बसलाई कम्पनीको गेटभित्र प्रवेश दिए।

कम्पनीको पहिलो तलामा प्रदर्शनी कक्ष रहेछ। जहाँ साइनोभ्याक्सले अहिलेसम्म प्राप्त गरेका उपलब्धि र विश्वमा यसको पहुँचलाई तस्बिर, भिडिओ, विभिन्न ग्राफ र चित्रद्वारा प्रस्तुत गरिएको छ। त्यहाँ हामीलाई साइनोभ्याक्सबारे संक्षिप्त जानकारी दिइयो। त्यसपछि हामीलाई अर्को ब्लकमा लगियो, जहाँ कोरोनाविरुद्धको खोप उत्पादन भइरहेको थियो।

SinoVac 2

हामीले आफ्नो ज्याकेट खोलेर घर्रामा राख्यौं। त्यहाँ रहेका गाउन र प्लास्टिका टोपी लगायौं अनि स्वचालित मसिनद्वारा जुत्तालाई प्लास्टिककै कभर भिरायौं। त्यसपछि खोप बनाइरहेको कारखानाभित्र पस्यौं। विशाल हलमा उत्पादन मसिन जडान गरिएको रहेछ। सबैभन्दा पहिले खोपका लागि तयार गरिएको तरल पदार्थ भरिएका साना सिसी आउँथे। ती सिसीलाई लेबलिङ गर्ने र प्याकिङका लागि कागजका बट्टा तयार हुने अर्को प्रक्रिया। कागजका बट्टामा सिसी हालेपछि त्यसलाई फेरि ठूलो कार्टुन बक्समा राखिने रहेछ। यी सबै कार्य कारखानामा फरक-फरक प्रक्रियाबाट हुँदै थिए। अन्तिममा हरेक खोपको बारकोडलाई कम्प्युटरमा इन्ट्री गरेपछि बल्ल कार्टुन बक्स तयार हुने रहेछ।

स्वचालित मसिनले यी सबै काम गरिरहेका थिए। सँगसँगै प्राविधिक कर्मचारी पनि खटिरहेका थिए। उनीहरूले सबै प्रक्रिया ध्यानपूर्वक हेर्दै कुनै गल्ती देखिए तुरुन्तै सच्याउँथे। भ्याक्सिनका बट्टा उल्टापाल्टा भए बारकोड स्क्यानिङ गर्दा इरर देखिने हुनाले फेरि त्यो पूरै प्रकृया दोहोर्‍याउनुपर्ने रहेछ।

साइनोभ्याक्सले वर्षको ६० करोडका दरले खोप उत्पादन गरिरहेको छ। यस हिसाबले चीनलाई पुग्ने खोप बनाउनै कम्पनीलाई ३ वर्ष लाग्ने रहेछ। यो जिज्ञासा कम्पनीका अधिकारीसमक्ष राख्दा उनले चाखलाग्दो जवाफ दिए। उनका अनुसार साइनोभ्याक्सले आफ्नो क्षमता विस्तार गर्दै उत्पादन मात्रा बढाउने लक्ष्य लिइसकेको छ। अनि अन्य कम्पनी पनि भएकाले सबैले चाँडै खोप लगाउन पाउने कुरामा ढुक्क हुन उनले आश्वस्त पारे।

SinoVac6

अहिले चीनमा साइनोभ्याक्सबाहेक साइनोफार्म चोङसङ बेइजिङ कम्पनी र साइनोफार्म चोङसङ उहान कम्पनीले पनि कोरोनाविरुद्ध खोप उत्पादन गरिरहेका छन्। यी तीनै कम्पनी वार्षिक उत्पादन क्षमता १ अर्ब ६० करोडभन्दा बढी छ। चीनको उद्योग तथा सूचना मन्त्रालयका अनुसार देशमा अहिले १८ कम्पनीले खोप बनाइरहेका छन्। जसमध्ये उल्लिखित ३ कम्पनीलाई चीनको खाद्य तथा औषधि प्रशासन ब्युरोले अनुमोदन गरिसकेको छ भने बाँकी १५ कम्पनीका खोप परीक्षणकै क्रममा छन्।

कारखानाको अवलोकनपछि हामीलाई अर्को ब्लकमा रहेको प्रयोगशालामा लगियो। त्यहाँ पनि गाउन र टोपीसँगै जुत्तामा प्लास्टिक बेरेर भित्र पस्यौं। प्रत्येक कोठामा वैज्ञानिक व्यस्त देखिन्थे। खोप उत्पादन कारखानामा जस्तो भित्रै गएर हेर्ने सुविधा यहाँ (प्रयोगशालामा) थिएन। त्यहाँको सुरक्षा व्यवस्था र संवेदनशीलता विचार गरेर त्यसो गरिएको हो। सिसाबाट भित्र काम भइरहेको हेरियो। यस क्रममा कम्पनीका कर्मचारीले हामीलाई खोप भण्डारणबारे जानकारी दिए।

साइनोभ्याक्सले बनाएका खोप नेपालजस्ता कम विकसित मुलुकमा पनि सहजै ढुवानी र भण्डारण गर्न सकिने रहेछ। त्यहाँ जानकारी दिइएअनुसार साइनोभ्याक्सका खोप २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा ३ वर्षसम्म राख्न मिल्छ। २५ डिग्री सेल्सियसमा ४२ दिनसम्म र ३७ डिग्री सेल्सियसमा २१ दिनसम्म राख्न मिल्ने कुरा सुन्दा मलाई खुसी लाग्यो। तीन दसकअगाडि काठमाडौंको त्रिपुरेश्वरस्थित पशु चिकित्सा सेवाबाट रेबिजविरुद्धको खोप मैले इलाम लान इच्छा गर्दा फ्रिजमा हालेर मात्र लान सकिने बताएपछि निराश भएको थिएँ। कोरोनाविरुद्धको खोप त फ्रिजबिनै हप्तौं राख्न मिल्ने भएकाले नेपालका दूर दराजमा पनि सहजै ढुवानी गर्न सकिने कुराले मन निकै रमायो।

SinoVac4

करिब ३ घण्टाको अवलोकनपछि साँझ ६ बजे हामी साइनोभ्याक्सको हेडक्वाटरबाट निस्कियौं। बाहिर चिसो उस्तै थियो। रोकेर राखेको बसमा सिसाको भित्रपट्टि लागेको वाफ जमेर वरफ बनिसकेको रहेछ।

फर्किंदा मनमा भिन्नै कौतुहल मच्चिरहेको थियो। चीनमा बसेर काम गर्दा कोरोना नियन्त्रण प्रभावकारी भएकाले आफूलाई सुरक्षित महसुस गर्न पाएको छु। तर परिवारका सबै सदस्य नेपालमा छन्। कोरोना महामारी फैलिरहेका बेला नेपालको राजनीतिक वातावरण तातेको छ। जसले अवश्य पनि कोरोना महामारी नियन्त्रण होइन, उल्टो मलजल गर्ने कुरामा दुईमत नरहला। महामारीविरुद्ध अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मीको अवस्था अझ नाजुक छ। चीनसँग तुलना गर्न मन लाग्छ।

चीनको राष्ट्रिय स्वास्थ्य समितिका उपप्रमुख, राज्यपरिषद्अन्तर्गत महामारीको संयुक्त प्रतिरोध र नियन्त्रणसम्बन्धी खोपका विशेष जिम्मेवार व्यक्ति चङ यी सिनले जनवरी ९ तारिख आयोजित राज्य परिषद्अन्तर्गत महामारीको संयुक्त प्रतिरोध र नियन्त्रण व्यवस्थासम्बन्धी पत्रकार सम्मेलनमा बताएअनुसार चीनले सन् २०२० डिसेम्बर १५ देखि प्राथमिकतामा रहेका समुदायलाई कोरोना खोप लगाउन थालेको छ।

SinoVac3

अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, संक्रमणको उच्च जोखिममा रहेका क्षेत्र, विदेशमा काम गर्न जाने चिनियाँलगायत समूहलाई चीनले खोपमा प्राथमिकता दिएको छ। चीनले अहिलेसम्म त्यस्ता समूहका मानिसलाई झन्डै ७५ लाख डोज खोप लगाइसकेको छ। त्यसभन्दा अगाडि नै सबैभन्दा बढी जोखिममा रहेका समुदायलाई १६ लाख डोजभन्दा बढी खोप लगाइसकेको थियो। हालसम्म चीनमा करोडभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

चीनले कोरोनाविरुद्धको खोप वितरणमा विकासोन्मुख मुलुकलाई प्राथमिकता दिने बारम्बार बताइरहेको छ। नेपाल पनि विकासोन्मुख मुलुक मात्र होइन, चीनको घनिष्ठ छिमेकी पनि हो। अहिलेसम्म चीनसँग खोप गरिद गर्न दर्जनभन्दा बढी मुलुकले सम्झौता गरिसकेका छन्। यसका लागि नेपालले पनि चाँडै पहल गर्न आवश्यक छ। चीनले आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क दिने घोषणा गरेको छ। यहाँका सञ्चारमाध्यमले राष्ट्रिय स्वास्थ्य आयोगका अधिकारी चङ चोङवईको भनाइ उधृत गर्दै चीन सरकारले हरेक नागरिकलाई खोप निःशुल्क उपलब्ध गराउने जनाएका छन्। नेपालले पनि यसै गर्न सक्ला त?

भिडिओः

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad