कारोबार


गौतमबुद्ध विमानस्थलको काम तोकिएको समयमै सक्न पर्यटनमन्त्रीको निर्देशन

गौतमबुद्ध विमानस्थलको काम तोकिएको समयमै सक्न पर्यटनमन्त्रीको निर्देशन

नेपालखबर
पुस २९, २०७७ बुधबार १४:३२,

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस क्षेत्रमा सञ्चालित विभिन्न राष्ट्रिय गौरवका आयोजनाको निरीक्षण गर्दै कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न निर्देशन दिएका छन्।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल, लुम्बिनी गुरुयोजनालयगायतका विभिन्न आयोजनाको बुधबार निरीक्षण गर्दै मन्त्री ढकालले बजेटको अभाव नहुने र सरकारबाट गर्नुपर्ने सहयोगमा पनि कुनै कसुर बाँकी नरहने भन्दै तोकिएको समयमै निर्माण सक्न निर्देशन दिए।

मन्त्री ढकालले बुधबारै बुटवल अन्तर्राष्ट्रिय सभाहल, बुटवल–बेलहिया व्यापारिक मार्गको पनि अवलोकन गर्दै निर्माणकार्यमा हुने ढिलाई र अलमल अब स्वीकार्य नहुने बताए। उक्त मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालय अन्तर्गतका कामको अवस्थाबारे बुझ्न मन्त्री ढकाल बुधबार भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए।

विमानस्थलको निरीक्षण पछि मन्त्री ढकाल बुटवल–बेलहिया व्यापारिक मार्ग हुँदै बुटवल पुगेका थिए। बुटवलमा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको माघी पर्व विशेष कार्यक्रममा समेत सहभागी भएका मन्त्री सैनामैना–सूर्यपुरा सडकको निरीक्षण गर्दै बुधबारै लुम्बिनी पुगेका छन्। लुम्बिनीमा मन्त्री ढकाललाई राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईसहति लुम्बिनी विकास कोषको टोलीले स्वागत गर्दै लुम्बिनी गुरुयोजनाका प्रगतिका बारेमा संक्षिप्त जानकारी गराएको थियो।

भैरहवाको उक्त विमानस्थल अन्तर्राष्ट्रिय स्तरको बनिरहेको छ। चालु महिनामै निर्माण सक्ने लक्ष्य रहेपनि ढिलाई भइरहेका बेला विभागीय मन्त्रीले प्राविधिकसहितको टोली लिएर विमानस्थलको कार्यप्रगति बुझ्न भैरहवामा आएका हुन्। विमानस्थलको निर्माणकार्यको अवस्था बुझेपछि उनले कुनै पनि बहानामा निर्माणकार्यमा ढिलाई नगर्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिए।

‘कोरोनाको बहाना अब चल्दैन’
कोरोनाको बहाना देखाउँदै निर्माणकार्य लम्ब्याउने कुरा अब स्वीकार नहुने मन्त्री ढकालको भनाई छ। उनले कुनै पनि समस्या आइपरेमा सरकारले समन्वय गर्ने र समाधानको तत्कालै पहल गर्ने पनि बताए।

‘काम गरौँ कि भन्यो भने हाम्रो हातमा छैन, जुन मितिमा आउने भन्नु भएको छ त्यो मितिदेखि काम गरौँ अब बिलम्ब नगरौँ, मन्त्री ढकालको भनाइ थियो। विमानस्थललगायत यहाँ निर्माण भइरहेका राष्ट्रिय गौरवका कुनै पनि आयोजनालाई कुनै पनि बहानामा ढिलाई नगर्न मन्त्री ढकालको निर्देशन थियो। मन्त्री ढकालले अर्थमन्त्री विष्णुप्रसाद पौडेल यहीँ जिल्लाको भएकाले गौरवका आयोजनाका लागि बजेटको कुनै पनि अभाव नहुने बताए।

मन्त्री ढकालले राष्ट्रिय गौरवका कुनै पनि आयोजनामा स्थानीय समुदायको अपनत्व हुने स्पष्ट पारे। अन्तर्राष्ट्रिय बिमानस्थलको बैधानिकताको कुरा पनि भएको हुनाले स्थानीय योगदान गर्नेहरुलाई कुनै पिरमर्का नपर्ने मन्त्री ढकालले बताए। समस्याको समाधान पनि राज्यले थप गर्नुपर्ने काम पनि गर्ने र स्थानीयको उचित समाधान गर्न सरकार तयार रहेको गर्व गर्ने अनुभूति हुने गरि काम सरकारले थालेको मन्त्री ढकालले बताए।

निर्माधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले आर्थिक वर्ष ०७५।७६ मा ७४ प्रतिशत, ७६।७७ मा ९१ प्रतिशत र आर्थिक वर्ष ७७।७८ मा ९३.८ प्रतिशत विमानस्थलको प्रगति रहेको बताए। उनले बीचमा कोरोनाका कारणले निर्माणकार्यमा केही विलम्ब भएको उल्लेख गर्दै अब त्यो समस्याको पनि समाधान भइरहेकाले निर्माणकार्यमा ढिलाई नहुने स्पष्ट पारेका थिए। विमानस्थलमा उपकरण जडानलगायतका प्राविधिक काम अहिले चलिरहेका छन्। यी बाहेक संरचना निर्माणका काम भने लगभग पूरा भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad