चलचित्र जोर ढुंगा हङकङमा प्रदर्शन हुँदैछ। आगामी ३० अगस्टमा हुङहम वाम्पोको सानविम सिनेमा हलमा ग्रान्ड प्रिमियर हुने तय भएको यो चलचित्र वाई के फिल्मस्को ब्यानरमा बनेको हो।
युगल पोमोको लेखन तथा निर्देशनमा निर्माण भएको जोर ढुंगाको हङकङ प्रिमियर ३० अगस्ट, आइतबार बेलुका साढे ५ देखि साढे ६ बजेसम्म गर्न लागिएको हो।
चलचित्रलाई हङकङवासी नेपालीहरू रमेश लिम्बू, रोमन लावती र योगेश लामाले निर्माण गरेका हुन्। यस्तै, कार्यकारी निर्माता अमेरिकामा रहेका ह्यारी योञ्जन रहेका छन्।
जेनेक्स मिडिया र शाहसी डिजिटल एसोसिएट रहेको जोर ढुंगा चलचित्रमा हङकङका रमेश लिम्बू,रोमन लावती र योगेश लामा निर्माता छन् भने अमेरिकाका ह्यारी योञ्जन कार्यकरी निर्माता रहेका छन्।
चलचित्रको छायाङ्कन ताप्लेजुङको निगुरादेन आसपासमा गरिएको हो। अङ्ग्रेजीमा सबटाइटल राखिएको फिल्ममा स्थानीय स्वादको संवाद समावेश गरिएको निर्माण टिमले जनाएको छ।
चलचित्रमा हङकङवासी अभिनेता मौसम लिम्बूको पनि अभिनय रहेको छ। लिम्बू जोरढुंगाको अभिनयका बखत प्रतिकूल मौसमले दिएको चुनौती अहिले पनि सम्झन्छन्। ‘प्रतिकूल मौसमका कारण लामो समयसम्म एउटै दृश्यलाई दोहोर्याइरहनुपर्दा रमाइलो पनि भयो, साथै केही वाक्कदिक्क पनि भइयो,’ नेपालखबरसँगको भेटमा लिम्बू गफिए।
यसका साथै, चलचित्र जोर ढुंगा बालसंघर्षको कथा भएकोले बालबालिका र अभिभावक दुवैले हेर्नुपर्छ फिल्म भन्छन् उनी।
५० लाख रुपैयाँको लागतमा निर्माण भएको चलचित्रको अधिकांश लगानी हङकङबाट उठाउने लक्ष्य राखिएको अभिनेता लिम्बूले बताउछन्।
‘हामी हङकङलाई कर्मथलो बनाएका युवाले निर्माण, निर्देशन र अभिनय गरेको जोर ढुंगाको लगानी सकभर हङकङबाटै उठाउने लक्ष्य राखेका छौँ,’ लिम्बूले नेपालखबरसँग भने, ‘यसमा हङकङवासी नेपाली दाजुभाइ/दिदीबहिनीको साथ चाहिन्छ।’
Shares

प्रतिक्रिया