NepalKhabar NepalKhabar

म्यागेजिन


गणेशमानका नातिको गर्भकथा : सिर्जना सिंहको मातृत्व अनुभव

यस्तो छ प्रकाशमान र सिर्जना सिंहको पारिवारिक कथा
गणेशमानका नातिको गर्भकथा : सिर्जना सिंहको मातृत्व अनुभव

राधिका अधिकारी
साउन २८ , काठमाडौँ

नेपाली राजनीतिका लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमान विवाह नगर्ने मुडमा थिए। सानैबाट राजनीतिमा सक्रिय उनले ३० वर्षको उमेर पार गरिसक्दा पनि विवाह गरेका थिएनन्। गणेशमान–मंगलादेवीलाई छोराको चिन्ता थियो।

त्यही समय गोर्खाकी सिर्जना सिंह बीएको परीक्षा सकेर बसेकी थिइन्। विद्यार्थी राजनीतिमा सक्रिय सिर्जनाले थुप्रै कार्यक्रममा प्रकाशमानलाई देखेकी थिइन्। तर उनीहरुको भेट नेता र कार्यकर्ताभन्दा परको थिएन। दुवैले एक–अर्कालाई जीवनसाथीका रुपमा हेरेकै थिएनन्।  

एकदिन गोरखाका नेता चिनकाजी श्रेष्ठ मंगलादेवीलाई भेट्न काठमाडौँ आए। मंगलादेवीले छोराको बिहे गरिदिने इच्छा सुनाइन्। त्यसपछि चिनकाजीले प्रकाशमानका लागि सिर्जना असल जीवनसाथी हुने कुरा सुनाए। 

कांग्रेसको राजनीति गरेका सिर्जनाका बुबा। नेविसंघ मार्फत सक्रिय राजनीति गरिरहेकी सिर्जना। दुवै परिवारको राजनीतिक पृष्ठभूमि एकै भएपछि मंगलादेवी सकारात्मक देखिइन्। चिनकाजी सिर्जनाको लगनगाँठो प्रकाशमानसँग कसिदिने प्रस्ताव बोकेर गोरखा पुगे। 

तर, सिर्जनाका बुबाले चिनकाजीको प्रस्ताव सुन्नेबित्तिकै भनिदिए, ‘तपाईंले प्रस्ताव बोकेर आएर मेरी छोरीको विवाह हुँदैन। उहाँको परिवार माग्न आउनु पर्यो नि!’ 

उसो त बुबा सिर्जनालाई अन्माएर काठमाडौं पठाउने पक्षमा थिएनन्। सिर्जनाकी फुपू पनि विवाह गरेर काठमाडौँ आएकी थिइन्। उनका देउरानी, जेठानी काठमाडौँकै थिए। माइत गइरहन्थे। उनकी फुपू भने माइती टाढा भएकाले जान पाउँदिनथिन्। उनको दुखाइ र गुनासो बेग्लै थियो। तर राजनीतिक पृष्ठभूमि मिलेकाले पनि प्रकाशमानलाई छोरी दिन उनी सकारात्मक भए। 

त्यहीबेला प्रकाशमान गिरफ्तारमा परे। गणेमान र मंगलादेवी पनि समातिए। सिर्जनाकी आमाले जेलमा भएको मान्छेलाई छोरी दिन्नँ भनेकी थिइन्। झण्डै ८ महिना जेल परेर छुटेपछि गणेशमा सिर्जनाको हात माग्न गोरखा पुगे। 

प्रकाशमान र सिर्जनाको धुमधामसँग विवाह भयो। सिर्जनालाई अन्माउने बेला गणेशमानले सम्धीलाई भनेका थिए, ‘मेरा तीन छोरी थिए, आजबाट चारवटी भए।’ गणेशमानले आफ्ना छोराछोरीमध्ये धुमधामले विवाह गरेको प्रकाशमानको मात्रै हो। राजनीतिक उतारचढावकै बीचमा अन्य छोराछोरीको विवाह हतारमै गरिदिए। 

विवाहपछि सिर्जनाको राजनीतिक जीवन छायामा पर्यो। घरका सबै राजनीतिमा, महिला हकअधिकारका लागि लड्ने मंगलादेवीको साथ लागेर थुप्रै आन्दोलनका मोर्चामा पुगेकी सिर्जनालाई परिवार पनि सम्हाल्नु थियो। त्यसैले उनले प्रत्यक्ष राजनीति छोडेर राजनीतिमा आफ्ना ससुरा, श्रीमान् र सासूलाई सघाइन्। 

सिर्जना भन्छिन्, ‘मलाई सक्रिय राजनीतिमा घरबाट कसैले बन्देज लगाएको भने होइन।’ ससुरा, सासू र पतिलाई पञ्चायती व्यवस्थाविरुद्वको आन्दोलनमा अधिकतम समय दिन सक्ने पारिवारिक वातावरण आफूले बनाएको उनी बताउँछिन्। आफू चाहिँ महिला संघको सल्लाहकारको रूपमा राजनीतिमा जोडिइरहिन्। 

अनि आमा
बिहेको अर्को वर्षबाटै सिर्जनाका साथीसंगीले ‘बच्चा कहिले’ भनेर सोध्न थालिसकेका थिए। तीन वर्षपछि सिर्जना आमा बन्ने भइन्। उनको गर्भावस्थाको खबरले सिर्जनाभन्दा धेरै खुसी मंगलादेवी र गणेशमान भएका थिए। त्यतिबेला ३०÷३२ वर्षका व्यक्तिका बच्चा हुर्किसकेका हुन्थे। 

गणेशमान दम्पतीलाई भने छोराले बिहे नगरेको चिन्ता, विवाहको तीन वर्षसम्म बच्चा नहुँदाको चिन्ता दुवै थियो। उमेर ढल्किन लागेका आफ्ना छोरा बाबु बन्ने खबरले सासूससुराको मुहारमा देखिएको खुसी अहिले पनि सिर्जनाले बिर्सिएकी छैनन्। प्रकाशमानको भने खुसी, दुःख दुवै देखाउने बानी थिएन। त्यसैले उनको मन कति खुसी थियो, सिर्जनाले चाल पाइनन्। सिर्जना भने सबैको खुसी देखेर खुसी थिइन्। 

घरको राजनीतिक माहौल, नेता कार्यकर्ताको बाक्लो ओहोरदोहोर, सानोतिनो काम गर्दा बच्चा जन्माउन सजिलो हुन्छ भन्ने मान्यताका कारण सिर्जनाले गर्भावस्थाको समय पनि निकै सक्रिय भएर गुजारिन्। सिर्जनाकी जेठानी क्यानडेली नागरिक। 
उनले गर्भावस्थाको समयमा महिलाले गर्नुपर्ने र गर्न नहुने विषयवस्तुमा लेखिएका किताब थिए। सिर्जनाले ती किताब पढिन्। र, त्यसैलाई पछ्याइन्।

उनलाई त्यो समय आँप र अम्बा खान मन लाग्थ्यो। व्यापारीले टोकरीमा आँप बेच्न  ल्याउँथे। गणेशमान टोकरी भरी आँप किनेर राखिदिन्थे। सासू ‘आँप खाँदा गर्मी हुन्छ, धेरै नखाऊ’ भन्थिन्। गर्भावस्थामा आउने धेरै परिवर्तनहरु उनले थाहा नै पाइनन्। अलिअलि बच्चा चलेको सम्झना आउँछ। त्यसबेला उनलाई रमाइलो लाग्थ्यो। 

सिर्जनाको बच्चा जन्मिने मिति नजिकै आइसकेको थियो, ०४५ सालको भूकम्प गयो। भूकम्प जाँदैगर्दा उनलाई सासूले हतारहतार दलिनमुनि राखेकी थिइन्। यसबाहेक उनले आफ्नो गर्भावस्थामा भोग्नु परेका अप्ठेरो याद छैन। 

सिर्जनाकी जेठानीले दुई छोरी जन्माएकी थिइन्। घरमा त छोराछोरीको विभेद थिएन। वरिपरिका मानिस भने ‘जेठानीका छोरीछोरी छन्, तिमीले छोरा पाउनुपर्छ’ भन्थे। समाजको छोराप्रतिको आशक्ति देखेर सिर्जनालाई नराम्रो लाग्थ्यो। 

गर्भावस्थाको ९ महिना टेकेकै दिन बिहान सिर्जनालाई रक्तस्राव भयो। उनले नन्दलाई भनिन्। उनकी नन्द त्यतिबेला टिचिङ अस्पतालमा कार्यरत थिइन्। 

नन्दले सोधिन्, ‘पेट दुखेको छ तपार्इंलाई?’ उनलाई पेट दुखेकै थिएन। दुखाइ नभई रक्तस्राव भएको हो भने खतरा हुन्छ भनेर उनलाई अस्पताल लगियो। तर, सुत्केरी व्यथा नै सुरु भएको रहेछ। उनले त्यही साँझ अस्पतालमा छोरा जन्माइन्।

खुसियालीमा नन्द र सासूहरुले अस्पताल र घरमा सबैलाई मिठाइ बाँडे। तर प्रकाशमान छोरो जन्मिँदा पनि मौन देखिन्थे। उनी छोरो हेरेर केवल मुस्कुराउँथे। अरु प्रतिक्रिया जनाएनन्। कुनै प्रतिक्रिया नदिने उनको स्वभावसँग सिर्जना बानी परिसकेकी थिइन्।

छैठीपछि अस्पताल भर्ना
छैठीको दिन साँझबाट उनका छोरा निकै बिरामी परे। एकतमासले झाडा लाग्यो। एकोहोरो रुन थाले। दुई दिनसम्म बच्चालाई चिसो लाग्यो भनेर सेकेर राखियो। तर निको भएन। 

अस्पताल लैजाँदा डाक्टरले टाइफाइड भएको बताए। छोरालाई एनआईसीयूमा राख्नुपर्ने भयो। उनी अस्पतालको एउटा कोठामा, छोरो एनआईसीयूमा, त्यो समय भने सिर्जनाका लागि अत्यन्त कष्टकर थियो। 

बेलाबेला उनी छोरालाई दूध ख्वाउन जान्थिन्। छोरा खेलिरहेका हुन्थे। सिर्जना भने मन सम्हाल्न सक्दिनथिन्, छाडेर फर्किन गाह्रो हुन्थ्यो। रुँदै निस्किन्थिन्। 

सासू र नन्दले उनलाई सम्झाए, ‘बच्चालाई केही हुँदैन किन आत्तिएको!’ सिर्जनाको मन मान्दैनथ्यो। उनले त्यो समय सोच्न हुने कुरा पनि सोचिन्, सोच्न नहुने कुरा पनि सोचिन्। यस्तो १२ दिनसम्म चल्यो। सबैजनाले आआफ्नै हिसाबले सम्झाए, प्रकाशमानलाई श्रीमती फकाउन आएन, उनले सम्झाएनन्। अस्पताल बसाइको १२ दिनपछि छोरा ठिक भए। न्वारान २१ दिनमा मात्रै गरियो। 

सुत्केरी भएको एक महिनापछि सिर्जना माइती गइन्। त्यसपछि भने प्रकाशमानलाई यता छट्पटी भयो। उनी छोरालाई भेट्न गोरखा गइरहन्थे। प्रकाशमानले त्यतिबेला छोराको फोटो खिच्न भनेर सानो क्यामेरा किनेका थिए।  

हजुरबासँग हुर्किए
सिर्जना माइतबाट फर्किंदा काठमाडौंमा चिसो सुरु भएको थियो। गणेशमान बिहानको घाम ताप्न चौरमा निस्किन्थे। नातिलाई पनि आफूसँगै लगेर चौरमा राख्थे। सिर्जनाका छोरा पनि सानैबाट हजुरबुबासँग धेरै नजिक भए। 

संयुक्त परिवार भएकाले छोरा हुर्काउने भार सिर्जनाले एक्लै उठाउनु परेन। हजुरबुबा र नातिको सम्बन्ध निकै मजबुत थियो। सिर्जना दोस्रो पटक गर्भवती भएपछि नै गणेशमानले उनका जेठाछोरा आफैँसँग सुताउने थाले। जसले गर्दा हजुरबुबा–नातिको आत्मीयता झन् बढेर गयो। 

गणेशमानको मृत्युताका उनका छोरा नौ वर्षका थिए। हजुरबुबाको स्मृतिमा उनको छोराले कविता लेखेका थिए। जुन कान्तिपुरमा छापिएको थियो।

दोस्रो पटक आमा
देशमा भर्खर बहुदल आएको थियो। जनतामा देखिएको खुसियालीको प्रतिबिम्ब सिर्जनाको घरमा पनि परेको थियो। घरमा हरेक दिन ठूलो भीड लाग्थ्यो। सिर्जना दोस्रो पटक गर्भवती भएकी थिइन्। भीडैभीडमा दोस्रो गर्भावस्था पनि उनले गुजारिन्।

यसपटक सिर्जनालाई छोरीको चाहना थियो। छोरी जन्मिए परिवार पूर्ण हुने कल्पना गर्थिन्। सुत्केरी हुने मिति कटिसकेको थियो। उनलाई सुत्केरी व्यथा लागेको थिएन।

 नियमित जँचाउन गराउन अस्पताल पुगेकी सिर्जनालाई डा. सुभद्राले अस्पताल भर्ना हुन भनिन्। तर उनलाई सासूको हातको टीका लगाएर अस्पताल जान मन थियो। त्यसैले घर फर्किइन्। सासूको हातको टीका लगाएर अस्पताल भर्ना भइन्। दोस्रो पटक पनि उनले छोरा नै जन्माइन्।

सानो छोरा हुर्काउन भने सिर्जनालाई अलि असहज भयो। उनले बोटलको दूध खानै मानेनन्। आमाको दूधले पुग्दैनथ्यो। त्यसैले उनी धेरै रुन्थे। सिर्जना भन्छिन्, ‘छोराछोरी रुनु भनेको आमाको मुटु गाँठो पर्नु रहेछ।’ उनका दुई छोराको स्वभाव फरक थियो। उस्तै उमेरका दुई सन्तान एकैपटक हुर्काउँदै गर्दा सिर्जना आफ्नी आमालाई सम्झिन्थिन्, ‘मेरी आमाले सातआठ जना बच्चा कसरी हुर्काउनु भयो होला!’

बाबु जेल पर्दा
ठूलो छोराले एसएलसी दिएका थिए। उनलाई राजनीतिबारे जानकारी थिए। सानो छोरालाई भने त्यति जानकारी थिएन। प्रकाशमान जेल परे। प्रहरीले बुबालाई हत्कडी लगाएर लगेको जेठा छोराले हेरिरहे। उनी प्रश्न गरिरहन्थे, ‘बुबालाई प्रहरीले किन लगेको?’ 

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि थुप्रै नेताहरुलाई झुटा मुद्दा लाग्यो। प्रकाशमानलाई पनि लाग्यो। तर उनी पटकपटक बोलाउँदा पनि बयान दिन गएनन्। त्यसपछि प्रहरीले घरबाटै उनलाई पक्राउ गर्यो। 

कान्छा छोरा बुबा पक्राउ परेपछि निकै विक्षिप्त बने। बुबालाई प्रहरीले पक्राउ गरेको टेलिभिजनमा हेरेर रुन्थे। साथीहरुले पनि तिम्रो बुवालाई पुलिसले समात्यो भनिदिए। सिर्जनाले छोरालाई ‘तिम्रो बुबा नराम्रो काम गरेर जेल जानु भएको होइन’ भनेर निकै सम्झाउन खोजिन्। तर उनको केही लागेन। त्यसपछि परामर्श दिन पठाइन्। प्रकाशमान ११ महिनापछि जेलबाट छुटेर घर फर्किए। त्यसपछि उनको अवस्था सामान्य बन्दै गयो। 

छोरीको अभाव
छोरी नभएकाले सिर्जनालाई चाडपर्व खल्लो लाग्थे। हुन त उनका दिदीका छोरी, जेठाजुका छोरीले घर अँध्यारो हुन दिएका थिएनन्। उनका छोराहरुले पनि दिदीबहिनी नभएको महसुस गरेनन्। 

तर उनलाई जेठानी, दिदीका छोरीहरु आएर फर्किंदै गर्दा नमज्जा लाग्थ्यो। उनलाई लाग्थ्यो, ‘आफ्नै छोरी भएका भए मैसँग हुन्थे।’ दिदीहरुले सुनाउँथे, ‘यो छोरीहरुले लगाइदिएको, यो लगाउँदा सुहाउँदैन भन्छन्।’ उनलाई झन् छोरीको अभाव महसुस हुन्थ्यो। 

उनको यो अभाव बुहारी भित्रिएपछि भने पुरिएको छ। बुहारीहरुले पनि सासूले छोरीको अभाव महसुस गरेको बुझेका छन्। 

त्यसैले सासूलाई सासूभन्दा पनि आमाकै रुपमा बुझेर चाडपर्वमा एक्लै छोड्दैनन्। सिर्जनाका सासूबुहारी एकअर्कासँग खुसी छन्। श्रीमती र आमाको सुमधुर सम्बन्ध देखेर उनका छोराहरु झन् धेरै खुसी छन्। सिर्जना भन्छिन्, ‘खुशी त एकबाट अर्कोमा प्रतिबिम्बित हुने कुरा रहेछ।’

छोराहरु हुर्कंदै गर्दा सिर्जना राजनीतिमा देखिइनन्। तर, सामाजिक कार्यमा सक्रिय रहिन्। गएको स्थानीय निर्वाचनमा काठमाडौंको मेयरका लागि उम्मेदवारी दिन महिला संघले प्रस्ताव गर्यो। सिर्जना उम्मेदवारी दिने सोचमा थिइनन्। 

त्यतिबेला उनका छोराले भने, ‘आमा तपाईं आफैँमा एक सक्षम महिला हो। तपाईंको आफ्नै राजनीतिक पृष्ठभूमि छ। हामी सानै हुँदा हात समाएर आन्दोलनमा हिँड्नु भयो। ड्याडी राजनीतिमा हुनुहुन्छ भन्दैमा तपाईंले पछि हट्नु पर्ने कारण छैन। हामी अब तपाईलाई साथ दिन सक्षम भएका छौँ। मेयरमा उठ्नु पर्छ।’ छोराको कुरामा बुहारीहरु पनि एक स्वर भएर मिसिए। सिर्जना मेयरमा उठिन्। 

परिणाम सोचेको जस्तो आएन। उनका छोरा र बुहारीले उनलाई परिणाम फरक आउँदा पनि दरिलो साथ दिए। भन्छिन्, ‘छोराछोरी अप्ठ्यारोका भर रहेछन्।’

साउन २८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.