म्यागेजिन


आफैँसँग विवाह गरेकी २४ वर्षीया युवतीको कथा

आफैँसँग विवाह गरेकी २४ वर्षीया युवतीको कथा

इस्मत अरा
साउन ८ , काठमाडौँ

भर्खर विवाह भएकी दुलहीजसरी सिंगारिएकी छन् उनी। तर, उनी अरु बेहुलीभन्दा अलग छिन्। किनभने क्षमा विन्दुले कुनै पुरुष वा महिलासँग विवाह गरेकी होइनन्। उनले त आफैँसँग विवाह गरेकी हुन्।

‘मान्छेहरु मलाई विचित्र नजरले हेर्छन्। मानौँ, मैले कुनै अपराध गरेको हुँ,’ उनले सुनाइन्।

विन्दुको ‘आफैँसँगको विवाह’ गत महिना गरिएको थियो, त्यो पनि भव्य समारोहका बीच। जसका कारण रातारात इन्टरनेटमा उनी सनसनी बनिन्। र, यस्तो वैवाहिक अभ्यास गर्ने पहिलो भारतीय बनेकी छन् उनी।

विन्दुको भनाइमा सो विवाह समारोहभन्दा तीन महिनाअघि मात्र एउटा नेटफ्लिक्स शो हेर्दै गर्दा यो विचार उनको मनमा पलाएको थिए। ‘एन विद एन ई’ नामक त्यो शो एउटी टुहुरी केटी हुर्किंदाको कथा हो, जसले बाल्यकालमा हिंसा सहेकी हुन्छिन्। 

शोमा एउटा संवाद छ– ‘म बेहुली बन्न चाहन्छु, तर श्रीमती होइन।’ सोही भनाइलाई व्यवहारमा लागू गर्दै विन्दुले जुन ८ का दिन आफैँसँग लगनगाँठो कसिन्।

त्यसयता काममा जाँदा होस् या किनमेलमा जाँदा, पश्चिमी भारतको गुजरात सहरकी यी २४ वर्षीयाले कयौँ अपरिचितहरुको भर्त्सनायुक्त नजरको सामना गरेकी छन्।

तर, उनी अत्यन्त खुसी छन्। विवाहको दिन उनको जीवनकै सर्वोत्तम दिन थियो। 

‘ऐनामा आफूलाई हेर्दा म आफैँसँग चकित परेँ। सामान्य भारतीय बेहुलीहरुको जस्तो चिन्ता मलाई थिएन। मेरो लागि म आफैँ पर्याप्त छु भन्ने महसुस मैले गरेँ,’ उनले भनिन्।

त्यसयता त्यो अनुभूति खास परिवर्तन नभएको उनको भनाइ छ। जुन आफ्नो विवाहको सबैभन्दा उत्तम कुरा भएको उनले बताइन्।

‘मलाई अरु कसैले मान्यता दिनुपर्ने आवश्यकता छैन। पार्टनर बसाइँ सर्दा म पनि विभिन्न सहरमा सरिराख्नुपर्ला भन्ने पीर मलाई छैन। म मात्र आफ्नो बारेमा सोच्न सक्छु,’ उनले भनिन्।

आफूलाई आफूले भन्दा ज्यादा माया कसैले गर्न नसक्ने उनको तर्क छ।

हाल तीव्र परिवर्तनबाट गुज्रिरहेको परम्परागत भारतीय समाजका लागि विन्दु एक असामान्य महिला हुन्।

विन्दुको यो कदम कट्टर स्वप्रेमको नतिजा हो वा चर्चामा आउने तिकडम? कि एक्लोपनविरुद्धको विद्रोह? अथवा, पितृसत्ता र महिलासँगको सामाजिक अपेक्षाको खारेजी पो हो कि?

विज्ञहरु यस्तो स्वप्रेमको घोषणा विगतका चोट वा असफल सम्बन्धको नतिजा हुनसक्ने बताउँछन्। जसले आत्ममुग्धतालाई संकेत गर्ने उनीहरुको भनाइ छ।

बेलायतस्थित बर्मिंघम युनिभर्सिटीकी मनोविश्लेषणात्मक अध्येता अनु स्निग्धा कलिलो उमेरमा पाएको गहिरो चोटले आत्म–प्रेमलाई जन्म दिनसक्ने बताउँछिन्। चोटबाट गुज्रिएको जोकसैलाई यस्तो स्वीकारोक्तिले निको हुन सहज हुने उनको भनाइ छ।

‘अहिले हरेक थोक सामाजिक सञ्जालमा अभिव्यक्त गरेर खुसी मनाइन्छ। यस्तो समाजमा उनले सार्वजनिक रुपमा चोट निको भएपछि अन्ततः मैले आफूलाई स्वीकार गरेँ भन्ने घोषणा गर्न चाहेको देखिन्छ,’ अनु स्निग्धा भन्छिन्।

विन्दुले आफ्नो बाल्यकाल कठिन रहेको बताइन्। आठ वर्षकी हुँदा आफू बारम्बार यौनहिंसाको सिकार भएको उनको भनाइ छ।

‘त्यस्तो भएपछि हरेक पटक म ऐनामा हेर्थेँ र रुँदै आफूलाई उत्प्रेरित गर्ने कोसिस गर्थेँ। म बलियो छु भनेर आफूलाई सम्झाइरहनु पर्थ्यो। यसका कारण बेला नभई म हुर्किएँ,’ उनी भन्छिन्।

भारतको नेसनल क्राइम रेकर्ड्स ब्युरोको २०२० को तथ्यांअनुसार भारतमा बालबालिकामाथिको यौन अपराध बढ्दो छ। बालबालिकाविरुद्धको सम्पूर्ण अपराधमध्ये ४० प्रतिशत यौन अपराध रहेको तथ्यांक छ।

विन्दु आफूलाई सधैँ अन्यायविरुद्ध बोल्ने व्यक्ति ठान्छिन्।

‘केही मान्छेहरु मलाई मन पराउँदैनन्। म नबोलुँ भन्ने चाहन्छन्। उनीहरु मलाई नराम्रो ठान्छन् किनभने म सामान्य लैंगिक विभेद र महिलाद्वेशी मजाकविरुद्ध बोलिहाल्छु,’ उनी भन्छिन्।

विन्दुले आफ्नो देब्रे पाखुरामा चिहानको ट्याटु खोपाएकी छन्, जहाँ लेखिएको छ, ‘पितृसत्ता र लैंगिक नियम– आत्माको शान्तिको कामना!’

अनु स्निग्धाका अनुसार भारतीय समाजमा महिलाहरुमाथि हुने आदर्श विवाहको दबाबले पनि विन्दुले आफैँसँग विवाहको निर्णय लिएकी हुनसक्छिन्। 

‘विश्वमा आफैँसँग विवाह गर्ने काम ज्यादाजसो महिलाहरुले गरेका छन्। कलिलै उमेरदेखि केटीहरुलाई विवाहका लागि तयार पारिन्छ। यसले उनीहरुमाथि चर्को दबाब पैदा गर्न सक्छ। आफैँसँग विवाह गरेर उनले मानिसहरुको मुख बन्द गरिदिएकी छन्,’ अनु स्निग्धाले भनिन्।

के हो ‘सोलोगामी?’
पश्चिमा लोकप्रिय संस्कृतिमा सोलोगामीका अनेक चर्चा भेटिन्छन्। सेक्स इन द सिटी, ग्ली र डक्टर हुजस्ता हलिउडका लोकप्रिय फिल्म तथा टेलिभिजन सिरिजमा यस्तो प्रयोग गरिएको छ।

क्यानडाको ‘म्यारी योरसेल्फ भ्यानकुभर’ र अमेरिकाको ‘आइम्यारिडमी डटकम’जस्ता संस्थाले आफैँसँग विवाहको प्याकेज र सहयोग पनि दिन्छन्।

यो अवधारणाबारे पहिलो पटक थाहा पाउँदा आफू चकित नभएको विन्दु बताउँछिन्।

‘बहुविवाह र एकविवाहको बारेमा मैले धेरै सुनेकी थिएँ तर आफैँसँग विवाहको बारेमा सुनेकी थिइनँ,’ उनले भनिन्, ‘त्यो शो हेरेपछि मैले पहिलो पटक आफैँसँग विवाह गर्नु भारतमा वैधानिक छ कि छैन भनेर गुगल गरेँ। यसबारे पढ्दा सबैथोक सामान्य लाग्यो र म आकर्षित भएँ।’

तर, उनका साथी र परिवारका लागि भने यो चट्याङसरह थियो। अन्ततः उनीहरु सबै सहमत भने भए। उनका साथीहरुले उनका लागि विवाहअघिको जमघट समेत आयोजना गरे। तर, जमघटस्थलबाहिर सञ्चारमाध्यमको भीड लागेपछि सो पार्टी आयोजना भएन। 

‘सञ्चारमाध्यमका कारण म नजरबन्दजस्तोमा थिएँ। म बाहिर जान सक्दिनथेँ। छिमेकीहरुको पनि आपत्ति थियो,’ उनी भन्छिन्। 

उनको विवाहको समाचार सार्वजनिक भएपछि सञ्चारमाध्यमहरु अन्तर्वार्ताका लागि उनको घरबाहिर भेला भए। उनको कथाले मिश्रित प्रतिक्रिया पायो। तर, धेरैजसो रिपोर्टहरुमा उनलाई सोलोगामीको अग्रदूतका रुपमा प्रस्तुत गरियो। 

विन्दुले सफलतापूर्व सामाजिक सञ्जालको फाइदा उठाएको र आफूलाई ‘ट्रेन्डसेटर’ तथा महिलावादी हस्तीका रुपमा उभ्याएको अनु स्निग्धाको भनाइ छ। विवाहजस्तो आत्मस्वीकारोक्तिको क्रिया पनि प्रदर्शन गर्ने उदेश्यले गरिएको उनले बताइन्।

विन्दुका लागि यो यात्रा सजिलो थिएन। मान्छेहरुले उनलाई जिस्क्याएका त थिए नै, राजनीतिक रुपमा आलोचना समेत भइरहेको थियो। उनको विवाहभन्दा एक साताअघि मात्र उनको विवाह गराउने पुजारी पछि हटे।

‘यसको कारण थियो, राजनीति जोडिनु,’ विन्दु भन्छिन्। सत्तारुढ भारतीय जनता पार्टीकी नेतृ सुनिता शुक्लाले विन्दुको विवाह कुनै हिन्दु मन्दिरमा हुनै दिन्नँ भनेर घोषणा गरेकी थिइन्।

धम्कीका कारण विन्दु होसियारी अपनाउनुपर्ने दबाबमा थिइन्। त्यसैले विवाह समारोह उनले आफ्नै घरमा तोकिएको मितिअगावै आयोजना गरिन्। गुजराती परम्पराबाट विवाह गरिएको उनको भनाइ छ, जहाँ गर्बा नाच आयोजना भएको थियो।

भाजपाकी नेतृ शुक्लाले यस्तो विवाह हिन्दु धर्मविरुद्ध हुने बताएकी थिइन्।

‘उनलाई मन्दिरमा आफैँसँग विवाह गर्ने अनुमति दिइने छैन। यस्तो विवाह हिन्दु धर्मविरुद्ध हुन्छ। यसले हिन्दुहरुको जनसंख्या घटाउँछ। यदि कुनै कुरा धर्मविरुद्ध जान्छ भने कुनै पनि कानुनले त्यसलाई सही ठहर्याउन सक्दैन,’ शुक्लाले एएनआई समाचार एजेन्सीलाई भनेकी थिइन्।

विवाह गराउन कम्तीमा २५ जना पुजारीलाई गुहार्दा पनि कोही नआएको विन्दुको भनाइ छ। अन्ततः प्रविधि काम लाग्यो। विन्दुको घरमा विवाहको मन्त्र ब्लुटुथ स्पिकरमार्फत बजाइयो। र, विवाह भयो।

विवाहको अघिल्लो दिन नै उनका हातगोडा मेहन्दीले सजिएका थिए। विवाहको दिन पनि उनले शृंगारका लागि मेकअप आर्टिस्ट बोलाइन्।

‘विवाहपछि मेरो यौन जीवन कस्तो होला भन्ने प्रश्न मलाई धेरै सोधियो। मैले कसैसँग डेट नजाने, फेरि विवाह नगर्ने वा आफूसँग बाहेक अरु कसैसँग यौन सम्बन्ध नराख्ने संकल्प गरेकी छु। त्यसैले, म आफ्ना आवश्यकताहरु आफैँ पुरा गर्न सक्छु,’ उनी भन्छिन्। 

यसलाई विन्दुको जीवनको एउटा चरण मान्ने हो भने मात्र सोलोगामी स्वस्थकर हुने अनु स्निग्धा बताउँछिन्।

‘उनले आफूलाई बन्द गर्नु ठिक होइन। यदि उनले आफूलायक कोही फेला पारिन् भने त्यसका लागि खुला रहनु स्वस्थ तरिका हो। अघि बढ्नुमा कुनै ग्लानि वा व्यग्रता हुनुहुन्न। अन्याथा उनको समग्र वृद्धि र विकास प्रभावित हुन सक्छ,’ उनले भनिन्।

‘थप समझदारी आवश्यक छ’
इजाजतप्राप्त सेक्स तथा ट्रमा थेरापिस्ट नेहा भट्ट प्राचीन समयदेखि नै मानिसहरुले आफैँसँग बाँच्ने अर्थात् अविवाहित रहने अभ्यास गर्दै आएको बताइन्। 

‘अलग संस्कृतिमा यसलाई अलग नामले पुकार्न सकिन्छ। तर, यो लामो समयदेखि अस्तित्वमा छ। आदिवासी संस्कृतिमा जहिले पनि अविवाहित महिला र पुरुष हुन्थे,’ संस्कृति, हिंसा र सम्बन्धबारे लेख्ने भट्ट भन्छिन्।

उनका अनुसार सोलोगामी पितृसत्ताविरुद्धको कट्टर कदम हो। यो सामाजिक न्यायको अभिव्यक्ति र महिलामाथि थोपरिएको रुढिग्रस्त अपेक्षालाई तोडेको घोषणा हो। यसर्थमा यो सशक्त तुल्याउने रोजाइ पनि हुनसक्छ।

‘अन्तरंगताको मामिलामा के ठिक हुन्छ र कस्तो खालको प्रतिबद्धताले उनीहरुलाई सहयोग गर्छ भन्नेमा थुप्रै मानिसले फरकफरक तरिकाले निर्णय लिन्छन्,’ उनी भन्छिन्।

नयाँदिल्लीनजिकैको मेदान्त अस्पतालका मनोचिकित्सक सौरभ मेहरोत्रा भविष्यमा सोलोगामी बढ्दै जाने बताउँछन्।

‘यो प्रवृत्ति बढ्दै जाने देखिन्छ। किनभने विश्वको जनसंख्याको ठूलो हिस्सा एक्लो, अविवाहित र सम्बन्ध विच्छेद गरेको छ। त्यसमाथि आत्म–प्रेमको अवधारणालाई धेरैले स्वीकार्न थालेका छन्,’ उनले भने।

सोलोगामीलाई विचित्र क्रियाकलाप भनेर खारेज गर्न नहुने बताउँदै उनी भन्छन्, ‘यो अवधारणाबारे थप समझदारी आवश्यक छ। अहिलेसम्म यस्ता घटनामा कुनै ढाँचा छ कि भनेर बुझ्ने कुनै तथ्यांक हामीसँग छैन।’

डा. मेहरोत्राका अनुसार सोलोगामीको नकारात्मक पाटो भनेको यसले मानिसहरुको अन्य सम्बन्धलाई पनि टुटाउन र एकान्तवासतर्फ लैजान सक्छ। 

विन्दुको बाल्यकालको अनुभवलाई आफैँसँग विवाह गर्ने उनको निर्णयसँग जोड्नु खतरनाक हुनसक्ने भट्टको विश्वास छ।

‘यौन हिंसाबाट बचेर आएकी विन्दुले त्यसको प्रतिक्रियास्वरुप आफैँसँग विवाह गर्नि भन्नु गलत हुनजान्छ। किनभने त्यसो गर्नुको अर्थ उनलाई असामान्य व्यक्ति मान्नु हो,’ उनी भन्छिन्, ‘आफूमाथि कुनै गलत काम भएकै कारण मान्छेले आफ्नो पहिचान अभिव्यक्त गर्न वैकल्पिक उपाय अपनाउँदैनन्।’

गुजरातस्थित विन्दुको घरबाट भने एक महिनापछि बल्ल सञ्चारमाध्यमको ध्यान हट्यो र बर्षे झरी वर्षिन थाल्यो।

यो मधुमासमा (विवाहको खुसी मनाउन छुट्टीमा जाने) जाने उत्तम समय भएको विन्दु बताउँछिन्।

(अल जजिराबाट)
 

साउन ८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad