सोमबार दिउँसो (२८ चैत २०७८) तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापासँग गरिएको चुनाव–चर्चाको भिडिओ सम्पादन, लेखन र प्रसारण सक्दा मंगलबार बिहान ३ बजिसकेको थियो।
सोमबार बिहान काठमाडौँबाट हिँडेको नेपालखबरको ‘इलेक्सन वाच’ टिमलाई मंगलबार बिहान ५ः३० बजे नै कार्टुनिस्ट वात्स्यायन (दुर्गा बराल) सँग ‘मर्निङ वाक’ मा जानु थियो। किनकी गएको ५ चैतमा उमेरले ८० वर्षमा टेकेका वात्स्यायनसँग ‘हाइकिङ’ मा डाँडा उक्लँदै उनले देखे–भोगेको राणादेखि गणतान्त्रिक व्यवस्थासम्मको अनुभव र बुझाइ सुन्नु थियो।
बिहान ६ बजे नदिपुरस्थित वात्स्यायनको कटेजमा पुग्दा उनी ‘मर्निङ वाक’ निस्किसकेका रहेछन्। रुट पछ्याउँदै जाँदा ८० वर्षका यी तन्नेरी चिसाखोलाको मनोरम जंगलको उकालो चढिरहेका भेटिए। हामी सँगसँगै उक्लिँदै गयौँ।
हरेक बिहान नदिपुरको शीरमा अवस्थित चिसाखोला वेद विद्याश्रमसम्म पुगेर फर्कने वात्स्यायनको प्रदिप्त व्यक्तित्व निर्माणका पछाडि उनको आहार विहारले पनि भूमिका खेलेको हुनुपर्छ। उनी हामीसँग गफिँदै जोडकातोड उकालो चढिरहेका थिए। त्यसका बाबजुद उनको श्वासप्रश्वासको उतारचढाव सन्तुलित नै सुनिन्थ्यो।
केही दिनदेखि पोखराको मौसम खुलेको छैन। यही विषयमा गफिँदै फर्कँदै थियौँ, उनी टक्क अडिए। चिसाखोलाको कान्लोमा रहेको आफ्नो खेतबारी देखाउँदै उनी हामीलाई ७० वर्ष पछाडि फर्काउँदै थिए।
त्यसबखतको पोखराको सदृश्य बयान गदै उनी भन्दै थिए, ‘त्यतिबेला आभामण्डलमा यस्तो धुप्प तुवाँलो हुन्थेन। वातावरण छ्याङ्ग हुन्थ्यो। स्वास फेर्दा अहिलेजस्तो अप्ठेरो महशुस हुन्थेन।’
विकासका नाममा अचाक्ली बढिरहेका कंक्रिटका जंगलले पोखराको गहना र सौन्दर्य ठानिएको हरियालीको हरण गरेको प्रकृतिप्रेमी यी कलाकारको विश्लेषण छ। १५ वर्षयता खेतीयोग्य जमिन मासेर डाँडाकाँडा ढाक्दै बनाइएका भौतिक संरचनाले वातावरण दूषित बनाएको अनुभव सँगालेका कवि मनका वात्स्यायन कुरै कुरामा बालापनमा हराउँदै गए झैँ लाग्थ्यो।
भन्दै थिए, ‘त्यतिबेला रात पर्नासाथ आकाशभरि तारा तिल्मिलाउँथे। हेरिरहूँ लाग्थ्यो। अहिले कयौँ वर्षदेखि चम्किला ती ताराहरु कता विलुप्त भए, कतै देखिँदैनन्।’
भिडिओः विशाल कार्की
वात्स्यायनको स्मरणमा पोखरामा अहिले देखिएको जस्तो तुवाँलो जुन हप्तौँदेखि हटेको होइन, उनले यसअघि भोगेका थिएनन्। पहिला केही दिन धप्प भएपनि पानी पर्नासाथ तुवाँलो हराएर जान्थ्यो।
अहिले तुवाँलो साह्रै अटेरी भएको छ। पानी परेर पनि हट्दैन। वातावरणलाई कालो बादलले जसरी ढपक्कै ढाकेको छ, त्यसैगरि नेपालको राजनीति पनि छ्याङ्ग हुन नसकेको उनको बुझाई छ। राणा, पंचायत र बहुदल हुँदै गणतान्त्रिक व्यवस्थासम्मको भोगाइ सँगालेका वात्स्यायनलाई नेताका राजनीतिले विरक्त बनाएको छ। किनकी, थुप्रै मान्छेको शहादतका जगमा उभिएका परिवर्तित राज्य व्यवस्थाहरूले सर्वसाधारणको जीवनशैली बदल्नै सकेन।
मान्छेलाई स्कुले शिक्षाले चेतनशील बनाएपनि त्यसले प्रज्ञावान बनाउन नसकेका कारण चेतना छलकपटका लागि प्रयोग भएको उनको बुझाई छ।
वात्स्यायनको चिन्ता छ, ‘मान्छे सारै बिग्रियो। आत्मकेन्द्रित भयो। उसले शिक्षालाई बदमासी गर्ने लाइसेन्स बनायो।’
उन्नत जीवनयापन गर्ने आकांक्षा सहित आन्दोलनमा होमिएका नेपाली जनले सधैँ धोका पाउँदै आएको बताउने वात्स्यायन भन्छन्, ‘आन्दोलन भो। त्यसको बलमा व्यवस्था परिवर्तन भो। तर मान्छेको मानसिकतामा परिवर्तन आएन। सोचमा परिवर्तन भएन। त्यसैले जुन उद्देश्य बोकेर क्रान्ति गरिएको थियो, त्यसले साकार रुप लिन सकेन।’
मान्छेलाई निराशातर्फ धकेलिरहेको राजकाजका यतिका बदमासी औंल्याइरहेका वात्स्यायन आफू चाहिँ रत्तिभर विचलित देखिएनन्। सकारात्मक उर्जाका धनी यी तन्नेरी ‘अत्तालिनु हुँदैन’ भन्दै हामीलाई पनि आश्वस्त पार्न खोज्दै थिए।
आफू स्वयंपनि आक्रोशलाई कार्टुन मार्फत अभिव्यक्त गर्दै आइरहेका हरेक परिवर्तनका संवाहक वात्स्यायन भन्छन्, ‘नआत्तिनोस्, जति निराशा बढेपनि हामीले खोजेको र रोजेको उज्यालो दिन आउँछ, आउँछ।’
प्रतिक्रिया