ad ad

म्यागेजिन


६५ वर्ष लगाएर भैरवबहादुरले आर्जेको ‘नृत्याक्षर विज्ञान’

६५ वर्ष लगाएर भैरवबहादुरले आर्जेको ‘नृत्याक्षर विज्ञान’

समर्पण श्री
भदौ १८, २०७८ शुक्रबार १०:२६, काठमाडौँ

भुइँमा असरल्ल कागज। टेबलमा चाङ लगाइएका पुस्तक। टेबलअगाडि भित्तामा किला ठोकेर झुण्ड्याइएका पुराना तस्बिर। तस्बिरमा एक युवा हातमा डम्फु बोकेर नाचिरहेछन्, अर्कोमा हलो बोकेर उभिइरहेका।

भुइँमा टुक्रुक्क बसिरहेका छन् नब्बे वर्षीय नृत्यगुरु भैरवबहादुर थापा। जवानीका श्यामश्वेत तस्बिरमा झैँ जोसिला देखिन्छन् उनी।

२० वर्षे जोबनमा उनी देश दौडाहामा निस्केका थिए– नाचबारे अनुसन्धान गर्न। त्यही जोस निकालेर उनले जिउलाई अनेक लय र भावमा हल्लाउँदै आफ्नो जीवनका संस्मरण उत्खनन् गर्न थाले। 

‘एक जमानामा सरकारको ढुकुटी मासेर विदेश घुम्न जान्थे जंगबहादुर। हिजोआज आफ्नै पौरखमा दलबलसहित देशविदेश घुमिरहेछन् भैरवबहादुर!’ विसं २०१३ सालमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले भैरव नृत्य दलको उद्घाटनमा भनिदिए।  

भट्टराईको यो तारिफपछि जय नेपाल चित्रघर तालीले गुञ्जायमान भयो। तन्नेरी भैरवका अनुहारमा असीमित खुसी झल्कियो।

उद्घाटन कार्यक्रममा आएका बीपी कोइराला, गणेशमान सिंह, ऋषिकेश शाह लगायतका थुप्रै नेता तथा साहित्यकारहरूले उनलाई धाप मार्दै भने, ‘भैरवबहादुर, लोकनृत्यलाई देशभर फैलाउनुपर्छ तिमीले।’

झण्डै दुई वर्ष देशका कुनाकन्दराका गाउँमा पुगेर नृत्यको अनुसन्धान गरेका थिए भैरवले। ०११ सालमा भैरव नृत्य दलको समूहसहित हिँड्दा गाउँमा पस्न उति सजिलो थिएन।

‘यी नाच्नेहरू गाउँ भाँड्न आए भनेर ठाउँठाउँमा अबगाल सहनुपरेको थियो,’ उनी सम्झिन्छन्।

त्यो अबगालका बीच उनले एउटा जुक्ति निकाले। 

कांग्रेस र कम्युनिस्टको प्रभाव थियो देशभर। उनले दुवै पार्टीबाट एकएक वटा पत्र लेख्न लगाए। 

‘अनि जहाँ जुन पार्टीको माहोल थियो, त्यहाँ त्यही पार्टीको सिफारिस देखाउँथ्यौं गाउँलेहरूले स्वागत गर्थे,’ उनी सम्झिन्छन्।  

यसरी थुप्रै गाउँमा भैरवहरूले आफ्नो नाच देखाएर गाउँलेहरू प्रभावित पारे। र, गाउँलेहरूले पनि आफ्ना चलिआएका नृत्य उनीहरुलाई देखाए। ती सबैको विवरण उनले संकलन गर्न थाले। 

कालान्तरमा यही टिपोट नै लोकनृत्यसम्बन्धी ठूलो अनुसन्धानको विषय भयो उनका लागि।
***

०१३ सालमा चीन जाँदा भैरवबहादुरले चिनियाँ नेताहरुलाई नृत्य देखाएका थिए। नाचबाट प्रभावित भएर अध्यक्ष माओ त्सेतुङले उनलाई एउटा कलम उपहार दिए। 

माओको हातबाट कलम पाएपछि उनले एउटा प्रण गरे– ‘यो कलमले केही ऐतिहासिक काम गर्छु।’

उनले नेपाल फर्केपछि निर्णय गरे, किताब लेख्ने। माओले दिएको त्यही कलमले ०१३ सालमा लेख्न सुरु गरेको किताब पुरा भयो ६५ वर्षपछि। साढे ६ दशक लगाएर लेखेको किताब उनले प्रेमपूर्वक सुम्सुम्याए।

‘नृत्याक्षर विज्ञान’ २०७७ सालको मदन पुरस्कार छनोट सूचीमा परेको छ। मदन पुरस्कार सूचीमा परेपछि नै हो, वर्षौंदेखि गुमनामझैं भएका भैरवको खोजी हुन थालेको।

 

जतिबेला देश नाचको महत्वबारे अनभिज्ञ थियो, विनासन्दर्भ नाच्ने मान्छेलाई समाजले बहिष्कार गरी थानकोट कटाउँथ्यो, त्यतिबेला लोकनृत्यलाई भूगोलभर फैलाउने जोखिम उठाएका थिए उनले।

‘नृत्यलाई फैलाउन र जीवित राख्न पुस्तक आवश्यक छ र त्यो मैले नै लेख्नुपर्छ,’ यही सोचेर उनले किताब लेख्न थालेका थिए। तर, त्यसलाई पुरा गर्न उनले जुगै साधनामा खर्चिए।

लेखिरहँदा फ्याट्टफ्याट्ट दशक बदलिएको उनले पत्तै पाएनन्। अनेक पटक उनी निराश पनि हुन्थे। साथी साहित्यकार धनुषचन्द्र गौतम भैरवको घर आइरहन्थे। जहिले आउँदा पनि उनी निहुरेर केही कोरिरहेकै भेटिन्थे।

‘यो भैरवबहादुर जै’ले आए नि के के कोरेको देख्छु, न पेन्टिङ हो न एब्स्ट्रयाक्ट चित्र। यस्तै हो भने पागल हुनसक्छ कुनै दिन,’ अनुहार खुम्च्याउँदै धनुषचन्द्रले भने। 

२० वर्ष भइसक्यो, तैपनि आफूले सोचेको कुरा व्यक्त गर्न नसक्दा भैरवको मनस्थिति साँच्चै नै बिग्रँदै गएको थियो। त्यस्तो बेला धनुषचन्द्रको वचनको वाणले खुत्रुक्कै भए उनी। 

‘यत्रो वर्ष भइसकेको थियो, चारपाँच वटा मुभमेन्ट एउटै चिह्नबाट एक्सप्रेस गर्नुपर्ने। सकेको थिइनँ। अभिव्यक्ति नओकलिँदा गाह्रो भइरहेको बेलामा धनुषचन्द्रको यो व्यंग्य मुटुमा बिझ्यो,’ उनी सम्झन्छन्।  

चाहेको जस्तो गर्न नसक्दा केही वर्ष निराश भए पनि अन्ततः अभिव्यक्ति सूत्र पहिल्याएरै छाड्थे। त्यसपछि किताब सक्ने हुटहुटी फेरि जाग्थ्यो। 

०५३ सालतिर उनको मुटुको भल्भ लिकेज भयो। दैनिकीमा पूर्णविराम लाग्यो। दुई वर्षसम्म लेख्ने, पढ्ने काम बन्द गर्न डाक्टरले सुझाए। दुई वर्ष उनले निकै पीडामा गुजारे।

‘गंगालाल अस्पताल गएर पुनः उपचार गरेपछि लेख्न सुरु गरेँ,’ उनी भन्छन्। 

फेरि लेख्न सुरु गर्दै गर्दा आफैँलाई देखेर, छामेर अजीब लाग्यो उनलाई। लेख्न सुरु गर्दाका तन्नेरी औंलाहरूमा निकै बदलाव आइसकेछन्। ऐनामा हेर्दा अनुहार चाउरिसकेका थिए। कपाल सेताम्य फुलिसकेका थिए। 

‘अहो! किताबै नसकी बुढो भइसकिएछ,’ उनी झस्किए, ‘अनि बेलाबेला बिमार पर्दा पनि लाग्न थाल्यो, कतै लेखी नसकी नै मरिन्छ कि!’

तर, उनले सिध्याइछाडे। 

०६५ मा खाका तयार गरे। अब त्यसलाई टाइप गराउनु थियो। ५ वर्षसम्म टाइप गर्नसक्ने कुनै साइबर भेटेनन्।

‘हामी यस्तो टाइप गर्न सक्दैनौँ। यो चित्र टाइप गर्ने टाइम हामीसँग छैन,’ जुन साइबरमा पनि यही जवाफ सुन्नुपर्थ्यो उनले। 

अन्ततः टाइप गर्न एक जना व्यक्ति राजी भए। टाइप सकेपछि भैरवले सोचे– यसको परीक्षण कक्षा सुरु गर्नुपर्छ। 

परीक्षण कक्षा ४ वर्षको थियो। त्यतिबेला चेतन कार्कीले सहयोग गरेका थिए भैरवलाई।

श्रुति काफ्ले, अनमी बोहरा र केपी पौडेल नृत्य परीक्षणको विद्यार्थी थिए उनका। 

०७५ सालमा किताबको अभ्यास गर्ने क्रममा उनका विद्यार्थीले भने, ‘अब हामीलाई सबै याद भइसक्यो। गर्न पनि सक्छौँ, सिकाउन पनि।’

त्यसपछि भैरवले नृत्यको परीक्षा लिए। 

‘जब विद्यार्थीहरू मैले दिएको परीक्षामा सफल भए, विश्वयुद्धमा भिक्टोरिया क्रस पाएको योद्धाले झैँ मैले उत्सव मनाएँ,’ उनी खुसी व्यक्त गर्छन्।
***

पर्सामा जन्मिएका भैरवको बाल्यकालीन रुचि थियो– गायन। उनी भोजपुरी गीत खुब गाउँथे। जब पढ्न दाइसँग बनारस गए, त्यहाँ हिन्दी गीत पर्याप्त सुन्थे। डम्फु बजाएर हिन्दी गीत गुनगुनाउँदा निकै रोमाञ्चित हुन्थे।  

१० कक्षा पढ्दै थिए। छुट्टीमा दाइसँग गोरखपुर घुम्न गए। गोरखपुरको रेलवे स्टेशनमा नास्ता गरिरहेको बेला सैनिक पोसाकमा एकजना नेपाली देखा परे। 

ती व्यक्ति दाइको साथी थिए। 

केहीबेरमै भैरवसँग उनको हिमचिम बढ्यो। 

‘मलाई भाइ राम्रो लाग्यो। ब्रिटिस आर्मीमा भर्ना गराइदेऊ। म सहयोग गर्छु,’ तिनले दाइलाई भने। 

सुरुमा त मानेनन् भैरवका दाजुले। 

‘म सिपाहीमा भर्ना गराउन्नँ। उसलाई टाइप गर्ने काममा लगाउँछु,’ साथीले प्रस्ताव राखे।

त्यसपछि दाइ राजी भए।

भैरव गोरखपुरमा ब्रिटिस गोरखा क्याम्पमा भर्ना भए। पाँच महिनापछि तालिममा सिंगापुर जानुपर्ने भयो। सिंगापुर जान कलकत्ताबाट पानीजहाज चढ्नुपर्ने।

भैरवसँग गएका एक तालिमेका दाइ कलकत्तामा बस्दा रहेछन्। उनैले भैरवलाई दाइको घर लिएर गए। उनीहरूको त्यो दिनको बास त्यहीँ भयो। राति युवायुवतीहरू भेला भएर नाचगान सुरु गरे।

गीत भनेपछि हुरुक्कै हुने भैरवबहादुर टेबल ठटाएर गाउन थाले। अरु सबै नाच्न थाले। गाउँदागाउँदै भैरव पनि नाच्न थाले। उनको जीवनको पहिलो नाच त्यही थियो। 

रातभरिको नाचगानको मीठो स्मृति बोकेर उनीहरू सिंगापुर जाने पानीजहाज चढे। जहाजमा कोही रिङ खेलिरहेका हुन्थे त कोही ब्याटमिन्टन। पानीबाहेक नदेखिने लामो यात्रामा उनी भने निसास्सिएको अनुभव गर्न थाले। 

जहाजभित्र उनले डम्फु फेला पारे। त्यही डम्फुले उनको यात्रालाई रसिलो बनायो। उनी डम्फु बजाउँदै गाउन र नाच्न थाले। भैरवको नाच देखेपछि सबैजना खेल्न छाडेर उनको वरिपरि झुम्मिन थाले। 

तीन हप्ताको यात्रामा उनी परिपक्व नर्तक बनिसकेका थिए। जहाजमा जापानी, बेलायती, दक्षिण भारतीय, चिनियाँलगायत थरिथरिका मानिस थिए। भैरवले ती सबैको नाचको अनुकरण गरे, तिनले भैरवको। 

‘सिंगापुर पुग्ने बेलामा मेरो शरीरमा नृत्य चढिसकेछ। पछि आर्मीको तालिममा पनि म नाच्न पो थालेछु,’ भैरव सुनाउँछन्, ‘मेरो लागि डान्सिङ कलेज नै पानीजहाज पो भयो।’

त्यसपछि उनले सेनामै रहँदा कार्यक्रमहरूमा नृत्यको जिम्मेवारी पाए। जसरी हुन्छ, नयाँ शैली सिक्नु थियो। डान्सबार र रेस्टुरेन्टमा जान्थे। नयाँनयाँ अभ्यासहरू सिक्थे। यसरी भैरवको सम्पूर्ण चाह नजानिँदो ढंगबाट नृत्यतर्फै मोडियो। 
***

२०१० साल असार ४ गते। सिंगापुरबाट ६ महिनाको विदामा भैरवबहादुर काठमाडौं आए। काठमाडौं आएकै भोलिपल्ट साहित्यकार भीमनिधि तिवारीसँग भेट भयो उनको। दाइमार्फत् भैरव नाच्छन् भन्ने भीमनिधिले थाहा पाइसकेका थिए। 

‘मेरो नाटकमा डान्स गर्ने मान्छे चाहिएको छ। भैरवलाई लिएर जान्छु,’ भीमनिधिले दाइसँग आग्रह गरे। 

त्यसपछि भैरव भीमनिधिसँग गए। भीमनिधिले उनलाई त्रैलोक्यनाथ उप्रेती, सुन्दरप्रसाद शाह दुःखी लगायतका साथीसँग भेट गराए। असार १५ गते उनीहरूले कमलपोखरीको एक चौरमा नाटक देखाए। नाटकमा भैरवबहादुरको नृत्य देखेर मान्छेहरू चकित भए। 

‘नक्साल, डिल्लीबजार, ज्ञानेश्वर क्षेत्रका अधिकांश मान्छेले मेरो नाचबारे प्रचार गरेछन्,’ उनी सम्झन्छन्। 

त्यसपछि नेपाल कम्युनिस्ट पार्टीको एक कार्यक्रममा उनले नाच्ने अवसर पाए। उनले नाचेपछि हेर्न आउनेहरूको जमात बढ्दै गयो। 

‘ललितपुर, कीर्तिपुर, नुवाकोटदेखि नाच हेर्न आउने मान्छेहरूको क्रम बढ्यो,’ उनी सुनाउँछन्। 

उनको नाच हेरेर मानिसहरु जादु देखेझैँ मन्त्रमुग्ध हुन्थे। नहुन् पनि किन, त्यसबेलासम्म काठमाडौँबासीले झ्याउरे लयमा परम्परागत नाच मात्रै देखेका थिए। 

तर, भैरवले विदेशमा सिकेर आएको शैलीलाई काठमाडौँबासीमाझ पस्किए। उनले झ्याउरे गीतमै पनि नृत्यमा सजीव अभिनय उतारे। उनका शैली चलनचल्तीको भन्दा भिन्न हुन्थ्यो। 

मूलतः झ्याउरे शैलीमा भाव नृत्य गर्थे भैरव। जब उनी नाच्थे, तब मानिसहरु ‘यस्तो नाच कहिल्यै देखिएको थिएन’ भन्दै एक पटक फेरि दोहो¥याउन आग्रह गर्थे।

त्यही क्रममा केदारमान व्यथित, बालकृष्ण सम, धर्मराज थापा लगायतका चर्चित साहित्यकारसँग उनको भेट भएको थियो।

उनको नाचको प्रसिद्धि बढ्दै गएपछि उनलाई स्कुल पढ्दै गरेका विद्यार्थीले घेर्न थाले, ‘हामीलाई पनि सिकाउनुहोस् नाच्न।’

तर, अभिभावकहरू नाच्नुलाई हेला गर्थे। गाईजात्रे भन्थे। विद्यार्थीहरू उनको पछि लाग्न थालेपछि ‘भैरवबहादुरले टोल भाँड्न थाल्यो’ भन्ने आरोप समेत लाग्यो।

तर, विद्यार्थीहरू रोकिनेवाला थिएनन्। उनीहरूलाई जसरी पनि भैरवले जस्तै नाच्नु थियो। 

एउटा संयोग जुर्यो। काठमाडौंमा दिल्लीबाट आएका प्रशिक्षकले दरबार स्कुलका विद्यार्थीलाई स्काउट तालिम तीन महिनादेखि दिइरहेका रहेछन्। तर, काठमाडौंको चिसो सहन नसकेर उनीहरू ६ महिना नपुग्दै फर्केछन्।

दिल्लीबाट आएकासँगै स्काउट तालिम दिएका भैरवका एकजना साथीले भने, ‘थापाज्यू विद्यार्थीहरूको रुवाइ दुःखलाग्दो छ। तपाईंले एउटा जुक्ति गर्नुपर्यो।’

‘के जुक्ति?’ भैरवले सोधे।

‘यहाँ विद्यार्थीहरूलाई नाच्न दिइन्छजस्तो लागेन। आखिर तपाईं आर्मीको मान्छे। स्काउट तालिम दिनुस्। एक घण्टा स्काउट तालिम, एक घण्टा नृत्य र त्यसो गर्दा स्काउट तालिममा समावेश भएको भनेर समाजले त्यसलाई वास्ता गर्दैन। समाजले वास्ता नगरेपछि ठाउँठाउँमा कार्यक्रम गर्ने अनुमति पाउनुहुन्छ,’ उनले सुझाए। 

साथीले सुझाएअनुसार नै भयो। उनीहरूले स्काउट तालिमबाटै नृत्य सिकाउन पनि सुरु गरे। 

विद्यार्थीहरू नृत्यमा पोख्त हुँदै गए। लोकनृत्यको माहोल पनि विस्तारै फैलँदै गयो। पाँच महिनाको दौरानमा विभिन्न चार्डपर्वमा स्काउटका विद्यार्थीले नाच देखाए। त्यसपछि त उनको माग जताततै हुन थाल्यो। 

भैरवको विदा सकिने दिन नजिकिँदै थिए। विद्यार्थी र नृत्यप्रेमीहरूमाझ यो चिन्ताको विषय थियो। 

‘भैरव गएपछि कसले सिकाउँछ नाच?’ उनीहरू उदास बन्दै गए। 

भैरवका साथीहरूले सोचे, ‘कुनै पनि हालतमा भैरवलाई रोक्नैपर्छ।’

भैरवलाई रोक्नकै लागि उनीहरू बालकृष्ण सम गुहार्न पुगे– ‘दाइ, जसरी पनि रोक्नुपर्यो भैरवलाई!’

बालकृष्ण समले भैरवलाई भेटे। अनि प्रस्ताव गरे, ‘अब भैरवजीकै नामबाट भैरव नृत्य दल स्थापना गरौँ।’

भैरवले चाल पाइसकेका थिए– यो सब उनलाई रोक्नकै लागि गरिएको थियो। हुन त उनलाई पनि नौ डाँडा काटेर सेनामा जान मन थिएन। नाच्न छाडेर बन्दुक चलाउने रहर थिएन। अन्ततः उनले समको यो प्रस्ताव स्वीकार गरे। सबै खुसी भए।
***

जीवनभर नृत्यमा अनुसन्धान र साधना गरेका भैरवको जीवनकै ठूलो उपलब्धि हो यो पुस्तक। 

‘६५ वर्ष लगाएर लेख्नुको उद्देश्य लाइब्रेरीमा थन्काउनु होइन। म चाहन्छु, यसलाई विश्वविद्यालयमा पढाइयोस्,’ उनी दृढ सुनिन्छन्। 

लोकनृत्यकै अभियानमा निस्कँदा उनले जीवनमा के–के बेहोर्नुपरेन! देशभित्र मात्र होइन, विदेश भ्रमणमा पनि उनी दलबलसहित जान्थे। अभियानमा थुप्रै खर्च हुन्थ्यो। त्यो सबै व्यक्तिगत खर्च थियो। त्यसका लागि उनले आफ्नो घर बैंकमा धितो राखे। दुर्भाग्य, बैंकमा राखेको त्यो घर फिर्ता ल्याउन सकेनन्। 

कृष्णप्रसाद भट्टराईले पनि उसै भनेका थिएनन्, ‘एक जमानामा सरकारको ढुकुटी मासेर विदेश घुम्न जान्थे जंगबहादुर। हिजोआज आफ्नै पौरखमा दलबलसहित देशविदेश घुमिरहेछन् भैरवबहादुर।’

तर, घर गुमाएकोमा उनलाई पछुतो छैन। यो सब बेहोरेर ‘जीवनमा तैँले के आर्जन गरिस्’ भनेर कसैले सोधे जवाफमा उनी यही किताब तेर्स्याउनेछन् अब।

‘मैले धेरैथोक गुमाएर जोडेको सिर्जना हातमा छ– नृत्याक्षर विज्ञान। मेरो लागि यो सम्पत्ति बराबर अरु के हुनु?’ उनी खुसी सुनिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .