धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ खतबैया टोलमा बिहेको रथमा किचिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीले दिएको जानकारी अनुसार गएराति स्थानीय केश्वर मुखियाको छोरीको बिहेका लागि मटकोर विधि भइरहेको क्रममा बीआर३२पी ७४६८ नम्बरको रथको ब्रेक अचानक फेल हुँदा दुर्घटना भएको हो।
बिहेको खुशीमा नाची रहेको समूहमाथि ब्रेक फेल भएको रथ चढेपछि स्थानीय संजय मुखियाकी छोरी अन्दाजी १३ वर्षीया सरस्वती मुखिया र बिकाउ मुखियाकी श्रीमती ३५ वर्षीया कवितादेवी मुखियालाई किचेको थियो।
दुर्घटनामा घाइते दुवै जनालाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको थियो। उपचारकै क्रममा सरस्वती मुखियाको मृत्यु भएको छ भने कविताको उपचार जारी रहेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।
कविताको टाउको तथा शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको कारण थप उपचारका लागि न्युरो अस्पताल जनकपुरधाममा रेफर गरिएको छ।
यता घटना पश्चात प्रहरीले रथ नियन्त्रणमा लिएका छन भने चालक फरार भएको जनाइएको छ।
Shares

प्रतिक्रिया