मधेस


भयावह बन्दै मोटरसाइकल दुर्घटना, अधिकांश घटनामा युवाले गुमाउँछन् ज्यान

सवारी दुर्घटनामध्ये झण्डै दुई तिहाई मोटरसाइकल
भयावह बन्दै मोटरसाइकल दुर्घटना, अधिकांश घटनामा युवाले गुमाउँछन् ज्यान

सुभाष कर्ण
बैशाख २२, २०८३ मंगलबार ११:२१, जनकपुरधाम

एसईई परीक्षा दिएर मोटरसाइकलमा घर फर्किंदै गरेका तीन विद्यार्थी महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत एकडारा गाउँपालिका–५ स्थित बथनाहामा मोटरसाइकल दुर्घटनामा परे। 

दुई मोटरसाइकल आपसमा ठोक्किँदा लागेको आगलागीमा उनीहरूको जलेर मृत्यु भयो। केही सेकेन्डमै भएको यो दुर्घटनाले नेपालमा सवारी दुर्घटनाको सबैभन्दा ठूलो जोखिम मोटरसाइकल बनेको देखाउँछ।

मधेस प्रदेशका जिल्लाहरूमा मोटरसाइकल दुर्घटना बढ्दै गएको छ। कुल सवारी दुर्घटनामध्ये झण्डै दुई तिहाई मोटरसाइकल दुर्घटना नै हुने गरेका प्रहरीको तथ्यांकले देखाउँछ। चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा ८ हजार ६२४ वटा सवारीसाधन दुर्घटना मध्ये ५ हजार ९७५ वटा मोटरसाइकल रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार चैत मसान्तसम्ममा मधेसका जिल्लाहरूमध्ये धनुषामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको हो। धनुषामा १ हजार ४८ वटा मोटरसाइकल दुर्घटना भएको तथ्यांक छ। 

यहाँ सवारी दुर्घटनामा परी ३९८ जनाको मृत्यु भएको छ भने १ हजार ४०९ गम्भीर घाइते र ८ हजार ३२९ सामान्य घाइते भएका छ। तथ्यांक अनुसार सवारी दुर्घटनामा मृत्यु हुनेहरूमा अधिकांश मोटरसाइकल दुर्घटनामा परेका व्यक्तिहरु हुन्। 

चालु आवको चैत मसान्तसम्म अन्य जिल्ला सप्तरीमा २९४, सिरहामा ७४०, महोत्तरीमा ५६८, सर्लाहीमा ९४४, रौतहटमा ८२१, बारामा ८४२ र पर्सामा ७१८ मोटरसाइकल दुर्घटना भएको हो। 

गत आर्थिक वर्ष २०८१।८२ मा १० हजार ६७९ वटा सवारीसाधन दुर्घटनामा परेकोमा ७ हजार २०१ वटा मोटरसाइकल नै रहेका थिए भने आव २०८०।८१ मा ८ हजार ५२९ वटा सवारीसाधन दुर्घटनामा परेकोमा ५ हजार ९२६ वटा मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाई छ। आव २०७९।८० मा ८ हजार ३७६ वटा सवारीसाधन दुर्घटनामा परेकोमा ५ हजार ७४५ वटा मोटरसाइकल रहेका छन्।

यस्तै आव २०७८।७९ मा ८ हजार ३०२ वटा सवारीसाधन दुर्घटनामा परेकोमा ५ हजार ४१८ वटा मोटरसाइकल थिए। आव २०७७।७८ मा ५ हजार ८११ वटा सवारीसाधन दुर्घटनामा परेकोमा ३ हजार ७३७ वटा मोटरसाइकल थिए। 

यी पाँचवटै आवमा सबभन्दा बढी मोटरसाइकल दुर्घटना धनुषा जिल्लामै भएको हो। तथ्यांक अनुसार धनुषा जिल्लामा पछिल्ला आर्थिक वर्षहरू २०८१।८२ मा १ हजार १८७, आव २०८०।०८१ मा १ हजार ८२, आव २०७९।८० मा ९५८ र आव २०७८।०७९ मा ९०२ मोटरसाइकल दुर्घटना भएको तथ्यांक छ।

दुर्घटनाको प्रमुख कारण
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थापालियाले मोटरसाइकल दुर्घटना बढ्नुको प्रमुख कारण तिव्रगति, लाइसेन्स नभएका युवाहरूले चलाउनु र लागुऔषध तथा मादक पदार्थ सेवन गरी चलाउनु रहेका छन्। 

उनले भने ‘उमेर नपुगेका युवा र लाइसेन्स नभएका युवाहरूले तिव्र गतिमा चलाउनु, लागुऔषध र मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा अनियन्त्रित हुने कारणले अन्य सवारीको तुलनामा मोटरसाइकल दुर्घटना प्रदेशमा बढेको हो।’

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीद्वारा समय समयमा जनचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएको छ। दुर्घटनाको प्रमुख कारण मध्ये लागुपदार्थ सेवन न्यूनीकरणका लागि प्रदेशको सबै जिल्लामा सेवनकर्तालाई सुधार र पुनर्स्थापनामा ल्याउने लक्ष्यसहित प्रदेश प्रहरी कार्यालयले ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महा–अभियान २०८३’ सुरु गरिएको उनले बताए। 

यस्तै, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रवक्ता डीएसपी वकिलबहादुर सिंहका अनुसार मोटरसाइकल दुर्घटना बढी हुनुको प्रमुख कारण तिव्र गति हो। 

उनले भने ‘लागुऔषध तथा मादक पदार्थ सेवन गरेर, ओभर टेक गर्न, आफूलाई बढी स्मार्ट देखाउन उद्देश्यले तिव्र गतिमा चलाउनुले मोटरसाइकल बढी दुर्घटना हुने गरेको हो। यसमा अधिकांश उमेर नपुगेका र उमेर पुगेका २५/३० वर्षका युवाहरु नै बढी हुन्।’ 

यही वैशाख महिनाभित्र पनि थुप्रै ठाउँमा मोटरसाइकल दुर्घटना भएका छन्। वैशाख १२ गते धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा चालक महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी २१ वर्षीय अतुल चौधरी मृत्यु भएको थियो। प्रहरीका अनुसार चितवनबाट पूर्व गाईघाटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १०११ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०२–०१० प १२३७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। 

वैशाख ८ गते धनुषाको ढल्केबरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु हुनुका साथै शिशुसहित तीनजना घाइते भएका थिए। धनुषा प्रहरीका अनुसार ठक्करबाट मिथिला नगरपालिका–६, ढल्केबरकी ३१ वर्षीया बिनिताकुमारी महतोको मुत्यु भएको थियो भने दुर्घटनामा १६ वर्षीया अनुष्काकुमारी महतो र आठ महिनाकी काखे बालिका घाइते भएका थिए। 

वैशाख १६ गते पथलैया–वीरगन्ज सडकखण्ड अन्तर्गत डाबर नेपाल अगाडि मोटरसाइकल दुर्घटनामा परी पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसन्तपुरका राम चमारको मत्यु भएको थियो। प्रहरीका अनुसार वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको ना २७ प ३०२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो। 

उदाहरणमा देखाइएका यी घटनामा मोटरसाइकल दुर्घटनाको प्रमुख कारण तीव्र गति र दुर्घटनामा पर्ने अधिकांश युवा वर्ग नै थिए। प्रहरीको तथ्यांक अनुसार पनि मोटरसाइकल दुर्घटनामा पर्ने अधिकांश युवाहरू नै हुने गरेका छन्। ती मध्ये धेरैजसो लाइसेन्स नभएका पाइएको ट्राफिक व्यवस्थपनका प्रवक्ता डीएसपी सिंहको भनाई छ। 

मोटरसाइकल दुर्घटना न्यूनीकरण प्रभावकारी नहुनुको प्रमुख कारण सरकार न्यूनीकरणतर्फ नलागी राजश्व संकलनमा लाग्नु र ठोस कानुनको आभाव तथा समाजिक व्यवहारिकता हो। जनकपुरधाम ४ का स्थानीय अमरेश कर्ण भन्छन्,  ‘मोटरसाइकल दुर्घटना बढ्नुको प्रमुख दोषी सरकार नै हो।’ 

उनका अनुसार सरकारले राजश्व संकलनका लागि मोटरसाइकल बढीभन्दा बढी संख्यामा बिक्री गर्न लगाउँछन तर लाइसेन्स सिमित संख्यामा मात्रै वितरण गर्ने गरेको छ। यसबाट सरकारलाई मोटरसाइकल बिक्री र लाइसेन्सस नभएका कारण लाग्ने जरिवाना दुवैबाट राजश्व लिने गरेको छ। 

यस्तै, अर्का स्थानीय सुरेन्द्र यादव भन्छन्, ‘लाइसेन्स नभएका व्यक्तिले दुर्घटना गराएको वा ट्राफिक नियम उल्लंघन गरेको अवस्थामा र लापसे वा मापसे गरेको अवस्थामा सवारी चलाएको पाइएपनि कुनै ठोस कारबाही नगरी जरिवाना मात्रै लिएर छाड्ने गरेका कारण मोटरसाइकल चलाउनेको मनोबल बढ्दा दुर्घटना बढिरहेको हो।

सरकारी तवरबाट मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि जुन रुपमा ठोस पहल हुनु पर्थ्यो त्यस्तो नभइरहेको देखिन्छ। ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता सिंहका अनुसार मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि विद्यालय तथा सडकहरूमा सचेतना अभियान जारी रहेको छ। लाइसेन्स नभएका, लापसे वा मापसे गरी र तीव्रगतिमा मोटरसाइकल चलाउने चालकहरूसँग जरिवाना लिएर मात्रै छाड्ने गरिएको उनले पनि स्वीकार्छन्। 

उनी भन्छन् ‘लाइसेन्स नभएका चालकलाई जरिवाना बाहेक अन्य कारबाहीको व्यवस्था छैन, हुनत यस्तो विषयमा सवारी धनीलाई सचेत गराउने वा दुर्घटना भएको खण्डमा कारबाहीको व्यवस्था छ। त्यो समय समयमा कार्यान्वयन पनि भइरहेको छ। तर लापसे वा मापसे गरेको अवस्थामा पाइएमा त्यसलाई जरिवाना वा सुधार केन्द्रमा पठाउने कानुनी व्यवस्था रहेको छ। 

न्यून कारबाहीको व्यवस्थाले पनि मोटरसाइकल दुर्घटना बढेर गएको देखिन्छ। गम्भीर रुप लिएका मोटरसाइकल दुर्घटना न्यूनीकरणका लागि मोटरसाइकल बिक्रीको संख्याको आधारमा लाइसेन्स वितरण, उमेर नपुगेको वा लाइसेन्स नभएको अवस्था सवारी धनीलाई कारबाही प्रक्रिया कार्यान्वयन र लापसे वा मापसे गरेको अवस्थाका चालकलाई कडा कानुनी कारबाहीको आवश्यकता रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad