मधेस


गाउँपालिका अध्यक्ष नै आगजनीमा संलग्न रहेको वडाध्यक्षको आरोप, कारबाहीको माग गर्दै प्रशासनमा निवेदन

गाउँपालिका अध्यक्ष नै आगजनीमा संलग्न रहेको वडाध्यक्षको आरोप, कारबाहीको माग गर्दै प्रशासनमा निवेदन

सुभाष कर्ण
बैशाख ७, २०८३ सोमबार २१:१५, जनकपुरधाम

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि पालिका मातहतका कार्यालयमा आगजनी तथा लुटपाट गरेको गम्भीर आरोप लागेको छ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नं २ का वडाअध्यक्ष नरेशप्रसाद यादवले आफ्नो वडा कार्यालयसहित वडामा रहेका स्वास्थ्य कार्यालय र हुलाक कार्यालयमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा गाउँपालिका अध्यक्ष यादवकै संलग्नता रहेको आरोप लगाएका हुन्। 

उनले घटनाको छानबिन गरी गाउँपालिका अध्यक्ष यादवलाई कारबाही गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएका छन्।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेललाई दिइएको निवेदनमा गत भदौ २४ गते राति करिब २ः३० बजे अज्ञात समूहले ती कार्यालयहरूमा आक्रमण गर्दै तोडफोड, लुटपाट र आगजनी गरेको घटनामा गाउँपालिका अध्यक्ष यादवकै संलग्नता रहेको दाबी गरिएको छ। उनले सीसीटीभी फुटेजबाट घटनाको प्रमाण हेर्न सकिने निवेदनमा भनेका छन्। 

गाउँपालिका अध्यक्ष जयकुमार यादवले घटना हुनुभन्दा केही समयअघि नै अपराधीहरूसँग फोन सम्पर्क गरेको र आफ्नो निवासमा बैठक बसेर योजना बनाएको उनको आरोप छ। 

अध्यक्ष यादवको निवासमा लगाइएको सीसीटीभी फुटेजबाट समेत घटना पुष्टि गर्न सकिने भएकाले सीसीटीभी फुटेज झिकाउन पनि उनले माग गरेका छन्।

वडाको घटनाबारे गाउँपालिका कार्यालयमा यसअघि नै सप्रमाण पेस गरेको वडाध्यक्ष नरेशले जनाएका छन्। 

यता, जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन पत्राचार समेत गरेको बुझिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad