बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सिरहामा करिब ६५ प्रतिशत मतदान भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा बिहानदेखि सुरु भएको मतदानका क्रममा कुल दुई लाख ९० हजार ४४७ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार खसेको मतमध्ये एक लाख ५८ हजार ५७७ महिला, एक लाख ३१ हजार ८६८ पुरुष तथा दुई जना अन्य मतदाता रहेका छन् । जिल्लामा कुल चार लाख ५३ हजार ६४५ मतदाता रहेका थिए ।
निर्वाचनपछि सबै निर्वाचन क्षेत्रका मतपेटिकाहरू सम्बन्धित सङ्कलन केन्द्रमा ल्याइएको छ । मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यालय सिरहाका मुख्य निर्वाचन अधिकृत डा श्रीप्रकाश उप्रेतीका अनुसार मतदान सम्पन्न भएसँगै उम्मेदवारका प्रतिनिधि तथा सम्बन्धित पदाधिकारीहरू मिलेर मतगणनास्थलको निरीक्षण गरेपछि मतगणना सुरु गरिने जानकारी दिए। “चारै निर्वाचन क्षेत्रमा मतगणनाका लागि स्थल तयारी अवस्थामा छन् । उम्मेदवारका प्रतिनिधिहरूसँग छलफल गरेर सहमति बने आजै रातिबाट मतगणना सुरु गर्ने तयारीमा छौँ”, उप्रेतीले भने।
मतगणनाका लागि सिरहा–१ को मतगणना लहान नगरपालिकाको सभाहलमा, सिरहा–२ को धनगढीमाई नगरपालिकाको कार्यालयमा, सिरहा–३ को सिरहा नगरपालिकाको कार्यालयमा र सिरहा–४ को मिर्चैयास्थित रेडक्रस भवनमा व्यवस्था गरिएको छ ।
Shares

प्रतिक्रिया