मधेस


मधेसमा ६० प्रतिशत मतदान, कुन जिल्लामा कति?

मधेसमा ६० प्रतिशत मतदान, कुन जिल्लामा कति?

तस्बिर : रासस


सुभाष कर्ण
फागुन २१, २०८२ बिहिबार २१:३४, जनकपुरधाम

आज सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट करीब ६० प्रतिशत मतदान भएको जनाइएको छ।

विभिन्न जिल्लाबाट लिइएको तथ्यांक अनुसार मधेश प्रदेशमा प्रारम्भिक अनुमान अनुसार ६० प्रतिशतको हाराहारीमा मतदान मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

कार्यालयका प्रदेश प्रहरी प्रवक्ता कमल थापाले यहाँ उत्साहजनक ढंगबाट मतदान चलेको जनाए।

उनले भने, ‘प्रदेशभरबाट ६० प्रतिशत मत खसेको अनुमान गरेका छौँ, यद्यपी जिल्लाहरुबाट विवरण संकलन कार्य भइरहेकाले यकिन खुल्न बाँकी छ।’

८ वटै जिल्लाबाट जिल्लागत रिपोर्टिङ भइसकेपछि मात्र खसेको मतबारे यकिन भन्न सकिने उनको भनाई छ। उनले प्रदेशभर शान्तिपूर्ण, सुरक्षित र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाए।

‘त्यस्तो कुनै अप्रिय घटना भएन, मतदान स्थगित भएन, सुपक्षा निकायको कडा निगरानीबिच प्रदेशभर नै समग्रमा शान्तरुपले मतदान प्रक्रिया सम्पन्न भयो’, उनले भने।

मधेशको आठ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा १६ लाख ६३ हजार ३ सय ७४ जना महिला र १९ लाख ७२ हजार ९ सय ६४ जना पुरुषसहित ३६ लाख ३६ हजार ४ सय १४ जना कुल मतदाताहरुको संख्या छ। 

एक हजार ४२ मध्ये पुरुष उम्मेदवारहरुको संख्या ९ सय ४१ रहेका छन भने जबकि महिला १ सय १ जना मात्र चुनावी प्रतिस्पर्धामा उत्रेका हुन्। भारतसँग जोडिएको ३ सय ६७ किलोमिटर सिमाना रहेको मधेश प्रदेशको आठै जिल्लामा ४ हजार ४ सय ७१ मतदान केन्द्र र २ हजार १ सय ५६ मतदान स्थल छन्। 

निर्वाचन आयोगले १ हजार २ सय ३७ वटा मतदान स्थल अति संवेदनशील र ७ सय ६३ संवेदनशीलको सूचीमा राखेका छन् भने सामान्य मतदान स्थल २ हजार ४ सय ७१ वटा मात्रै छन्। 

धनुषा- धनुषामा करीब ६० प्रतिशत मतदान भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले दिएको जानकारी अनुसार प्रारम्भिक अनुमान अनुसार जिल्लाभरमा ६० प्रतिशत मतदान भएको हो। 

धनुषा निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत मनोज बरालका अनुसार करीब ६० प्रतिशत मतदान भएको हो। यस्तै क्षेत्र नं. २ का निर्वाचन अधिकृत दामोदर रेग्मीका अनुसार ५० देखि ६० प्रतिशतको बीचमा मतदान भएको हो। क्षेत्र नं. ३ का निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार यस क्षेत्रमा ६० प्रतिशतको हाराहारीमा मतदान भएको हो। उता क्षेत्र नं. ४ का निर्वाचन अधिकृत पुरुषोत्तम खतिवडाका अनुसार सो क्षेत्रमा ५५ प्रतिशतभन्दा माथि मतदान भएको हो। धनुषामा ५ लाख १४ हजार ५७१ मतदाता रहेको छ। 

महोत्तरी- महोत्तरीमा करिव ५२% मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार जिल्लामा अनुमानित ५२ प्रतिशत मतदान भएको हो। तर यकिन विवरण सबै मतदानस्थलबाट मतपेटिका आइसकेपछि भन्न सकिनेछ। शान्तिपूर्ण मतदान सम्पन्न भै मतपेटिका ढुवानी कार्य जारी रहेको उनको भनाई छ। 

सर्लाही- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा छिटपुटबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सर्लाही जिल्लाभर करिव ६० प्रतिसत मत खसेको भनी प्रारम्भिक विवरण प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ऋषिराम पौडेलले जानकारी दिएका छन्।

सर्लाहीको चारवटा निर्वाचन क्षेत्रमा ५ लाख ११ हजार ६०६ जना मतदातामध्ये आधा भन्दा केही बढीले मतदान गरेको प्रारम्भिक विवरण आएको हो। सम्पूर्ण मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका प्राप्त भएपछि कूल खसेको मतको एकिन विवरण प्राप्त हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका–४, जब्दीमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबिच विवाद भएपछि केही समय मतदान रोकिएको थियो। त्यहाँ तत्कालै प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको सुरक्षा अधिकारीको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि सामान्य ढङ्गले मतदान कार्य सम्पन्न भएको छ।

क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिकास्थित जनता मावि भवानीपुर मतदान केन्द्रमा पनि बिहान दलका प्रतिनिधिबिच विवाद हुँदा केहीबेर मतदान रोकिन पुगेको थियो। क्षेत्र नं. ४ को जब्दी र भवानीपुरबाहेक जिल्लाभर रहेका ६२८ मतदान केन्द्रमा कहिँकतै विवाद नभइ शान्तिपूर्वक रुपमा मतदान सम्पन्न भएको हो।

मतदान सम्पन्न भएसँगै चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी अघि बढाइएको छ। सबै मतदान केन्द्रबाट मतपेटिका आएपछि मतगणना सुरु गर्नेबारे सर्वदलिय बैठक राखिने मुख्य निर्वाचन अधिकृत थपलियाले बताए।

सप्तरी- सप्तरीमा ५५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सप्तरीले जिल्लाभर ५५ प्रतिशत मत खसेको जनाएको छ।

जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको बताए उनले भने हामी तथ्यांक संकलन गरिरहेका छौं। तर, ५५ प्रतिशत  हाराहारी मत खसेको छ  ।

सप्तरीका चारैवटा निर्वाचन क्षेत्रबाट १०२ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । चार लाख ४६ हजार ४०२ मतदाता रहेको सप्तरीमा पुरुष मतदाता दुई लाख ३३ हजार ९६, महिला मतदाता दुई लाख १३ हजार २८३ तथा अन्य २३ जना छन् ।

सिरहा- सिरहामा कुल मतदाता संख्यामध्ये ६५ प्रतिशत हाराहारी मत खसेको छ। सिरहा जिल्लाभरमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ६५ प्रतिशत हाराहारी मत खसेको हो।

चार निर्वाचन क्षेत्र रहेको सिरहामा कुल ४ लाख ५३ हजार ६४५ मतदाता छन्। सिरहा–१ मा एक लाख ११ हजार ९४९, सिरहा–२ मा एक लाख १५ हजार ७६०, सिरहा–३ मा एक लाख १९ हजार २५० र सिरहा–४ मा एक लाख ६ हजार ६८६ मतदाता छन्।

जिल्लाका विभिन्न स्थानमा गरी मतदानका लागि ५ सय ३८ मतदान केन्द्र कायम गरिएको थियो। जिल्लाभरमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

रौतहट- रौतहट जिल्लमा करिब ६० प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। रौतहटका चार निर्वाचन क्षेत्रमा गरी कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। 
निर्वाचनलाई सुरक्षित र व्यवस्थित बनाउन जिल्लाभरका १५२ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको थियो। कुनै स्थानमा

विवाद भएमा जानकारी प्राप्त भएको १० मिनेटभित्र संयुक्त सुरक्षा टोली घटनास्थलमा पुग्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताएका छन्।

बारा- बारा जिल्लामा करीब ६५ प्रतिशत मतदान भएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविराम भट्टराईले दिएको जानकारी अनुसार प्रारम्भिक अनुमान अनुसार त्यहाँ ६५ प्रतिशत मतदान भएको हो। 

पर्सा- पर्सा जिल्लामा अनुमानित ६५ प्रतिशतभन्दा बढी मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रारम्भिक जानकारीअनुसार मतदाता उपस्थितिले उत्साहजनक सहभागिता देखाएको छ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले जानकारी दिँदै भने, ‘विवरण संकलन कार्य अझै जारी छ, त्यसैले एकिन तथ्याङ्क आउन केही समय लाग्नेछ।’

पर्सा जिल्लामा ४ निर्वाचन क्षेत्र रहेका छन्, जसमा कुल ३ लाख ७६ हजार ५३१ मतदाता छन्। देशैभर आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान प्रक्रिया सञ्चालन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad