राजनीति


प्रचण्डको भनाइ– एमाले पनि अन्ततः नेकपामै मिसिनुपर्छ

प्रचण्डको भनाइ– एमाले पनि अन्ततः नेकपामै मिसिनुपर्छ

नेपालखबर
फागुन १७, २०८२ आइतबार १६:५५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक दुई प्रकारका ‘अतिवाद’ को गम्भीर खतरासँग जुधिरहेको बताएका छन्। आगामी फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा शनिबार भिडियो सन्देशमार्फत विशेष सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

उनले एकातिर जनताको आक्रोश र निराशालाई भड्काएर अराजकतातिर धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–बिचौलियाको स्वार्थमा टिकेको यथास्थितिवाद देशका लागि चुनौती बनेको उल्लेख गरे। सडक र सदनबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएकाले कुशासनका कारण देश अराजकताउन्मुख बनेको दाहालको आरोप छ।

दाहालले भनेका छन्, “यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै हो। त्यसैले सम्पूर्ण वाम जनमत एकताबद्ध हुन आवश्यक छ।” उनले नेकपा (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्रका रूपमा पुनर्गठित आफ्नै पार्टी (नेकपा) मा मिसिनुपर्ने दाबी गरे।

‘भदौ २३ को हत्या र २४ को विध्वंश अस्वीकार्य’
संयोजक दाहालले आफू नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा पहल गरेको स्मरण गराए। उनले उत्पीडित समुदाय, महिला, दलित, आदिवासी जनजाति र मधेसीको अधिकार रक्षाका लागि आफ्नो दलको चुनाव चिह्न ‘तारा’ मा मतदान गर्न अपील गरे।

“हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,” दाहालले सन्देशमा भनेका छन्, “निराशालाई आशामा र आक्रोशलाई निर्माणमा बदल्न मतदानलाई सुन्दर भविष्यको आधार बनाऔँ ।” उनले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गरी देशलाई स्थायित्व र सुशासनतर्फ लैजाने प्रतिबद्धता समेत व्यक्त गरे ।

दाहालले गत भदौ २३ र २४ गते भएका हिंसात्मक घटना र ध्वंसात्मक गतिविधिलाई नेपाली जनताले मतदानमार्फत दण्ड दिने विश्वास व्यक्त गरे। “जनताले तारा चिह्नमा छाप लगाएर भन्नेछन्— भदौ २३ को हत्या र २४ को विध्वंश अस्वीकार्य छ,” उनले भने, “यी घटनामा संलग्नहरूले मतदानबाटै सजाय पाउनुपर्छ।”

आगामी फागुन २१ को निर्वाचनलाई दलहरूले नयाँ राजनीतिक शक्ति सन्तुलनको 'लिटमस टेस्ट' का रूपमा हेरेका छन्, जहाँ दाहाल नेतृत्वको पुनर्गठित नेकपा २५ भन्दा बढी साना समूहलाई समेटेर चुनावी मैदानमा छ।

सम्बोधनको अन्त्यमा उनले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सुरक्षाकर्मीलाई संयमित हुन आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad