मधेस


कञ्चन वनमा मनाइयो होली

कञ्चन वनमा मनाइयो होली

नेपालखबर
फागुन ११, २०८२ सोमबार २१:२२, जनकपुरधाम

त्रेता युगमा भगवान श्रीराम र सीताले होली खेलेको स्मरणमा महोत्तरीको कञ्चन वनमा मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुले प्रत्येक वर्ष झैँ यसवर्ष पनि होली मनाएका छन्। 

मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा अन्तर्गत मिथिला विहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रंग अबिर दल्दै भगवान रामसँग जोडिएका होलीका गीतहरु गाउँदै होली पर्व मनाएका हुन्।

सो होली कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र भंगहा नगरपालिकाका मेयर संजीव साह लगायतका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न मठ मन्दिरका महन्थ र साधुसन्तहरूको विशेष उपस्थिति रहेको थियो। 

कञ्चनवनमा रंग खेलेसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्वको औपचारिक शुरुवात भएको मानिने परम्परा रहेको संस्कृतिविदहरू बताउँछन्। परम्परा अनुसार परिक्रमा टोली कञ्चनवन आइपुग्नेबित्तिकै होली खेल्ने चलन रहेको छ।

फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीका दिन ध्रुवकुण्डबाट कञ्चनवन पुग्छ। धार्मिक दृष्टिले महत्वपूर्ण मानिने कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको विश्वास छ।

इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको किंवदन्ती पनि प्रचलित छ। यही स्थलमा रामजानकीले होली खेलेको जनआस्था रहँदै आएको छ। यसकारण कञ्चनवनलाई मिथिलाञ्चलको सांस्कृतिक धरोहरका रूपमा लिइन्छ।

यस वर्षको परिक्रमा जनकपुरधामस्थित हनुमान नगरबाट डोलासहित सुरु भएको थियो। परिक्रमा टोली कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै हुँदै पुनः ध्रुवकुण्ड पुगेर कञ्चनवन आइपुगेको हो। तीर्थयात्रीहरूले बाटोभरि भजन कीर्तन, आरती र धार्मिक अनुष्ठान गर्दै यात्रा सम्पन्न गरेका थिए।

कञ्चनवनको होलीको प्राचीनता र सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पछिल्ला केही वर्षदेखि यहाँ औपचारिक रूपमा होली महोत्सव आयोजना गर्दै आएको छ। परिषद्का पदाधिकारीहरूका अनुसार कञ्चनवनलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाएको छ। 

कञ्चन वनबाट परिक्रमा टोली धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरहीमा एक एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुरधाम आईपुग्छन र पूर्णिमाको दिन जनकपुरधाममा नगरको परिक्रमाको रुपमा अन्तगृह परिक्रमा गरि होलि खेलि १५ दिवसीय यात्रा सम्पन्न गर्ने छन।  

सुख समृद्धि मानसिक शान्ति तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने जनविश्वासका साथ यस धर्म यात्रामा सहभागीहरुले नेपालको १ सय ७ तथा भारतको २६ गरी १ सय ३३ किलोमिटर भुमिको पैदल यात्रा गर्ने मान्यता रहेको छ। 

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्तवको परिचय दिने यस परिक्रमामा नेपाल भारतका एक लाखभन्दा बढी साधु सन्त सहित गृहस्थ आश्रमका श्रद्धालुहरु सहभागी हुने गरेका छन्।

मिथिला परिक्रममा सहभागि हुनेले १५ विश्रामस्थलमा नाङ्गो खुट्टा पैदल हिँडेर यात्रा गर्नुपर्ने र बिना लसुन प्याजको परिकार खाना खानुले परिक्रमा यात्रालाई कठोर धार्मिक यात्राको रुपमा पनि हेर्ने गरिन्छ। 

साथै परिक्रमा यात्रिले परिक्रमा अवधि भर गृह प्रवेश नगर्ने र खुल्ला आकास मुनि पाल टाँगेर वनवासी जीवन बिताउने गर्छन्। परिक्रमामा सहभागि हुनाले मन वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पुरा हुने धार्मिक मान्यता रहिआएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad