अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यक्षेत्र अन्तर्गत जिल्लाहरूबाट चालु आव २०८२/८३ को पुस मसान्तभित्र २ हजारभन्दा बढी उजुरी दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोगको बर्दिबासस्थित कार्यालयद्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा चालु आवको ६ महिनाभित्र २ हजार ५२५ उजुरी दर्ता भएको र त्यसमा ८ सय १२ वटा उजुरीहरु फर्छ्यौट भएको जानकारी दिइयो। बाँकी १ हजार ७ सय १३ उजुरीहरू छानबिनको क्रममा रहेको अख्तियारले जनाएको छ।
कुल दर्ता भएका उजुरीहरूमध्ये ७२.६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित छन्।
जिल्लागत रुपमा धनुषा जिल्लाका सबैभन्दा बढी ७ सय ८० वटा उजुरी छ। दोस्रोमा महोत्तरीको ५ सय १४, तेस्रोमा सिरहाको ४ सय ८१, चौथोमा सर्लाहीको ३ सय ९७ र सबैभन्दा कम सोलुखुम्बुको ३९ वटा उजुरीहरू दर्ता भएको जानकारी गराइयो।
आयोग तथा कार्यालयमा विभिन्न माध्यमबाट दर्ता भएका उजुरीहरूलाई स्क्रिनिङ्ग, प्रारम्भिक छानबिन र विस्तृत छानबिनबाट तामेली गर्ने, लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने कार्य गरिन्छ। कुल दर्ता भएका उजुरीहरूमध्ये तामेली गरिएको ६ सय ५, सुझाव सहित तामेली १०, आवश्यक कारबाहीका लागि लेखी पठाएको ७९ र एकीकरण गरिएको १ सय १८ गरी कुल ८ सय १२ उजुरीहरू रहेकोमा २ सय ८ उजुरीहरूको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।
आयोग र मातहतका ८ वटा कार्यालयमा कार्यरत कुल ९ सय ९० कर्मचारीहरूबाट हाल कायम रहेका कुल ३ हजार ७ सय २६ उजुरीहरूको छानबिन तथा अनुसन्धान आफैंमा चुनौतिपूर्ण रहेको सो अवसरमा बताइयो।
बर्दिबासस्थित कार्यालय अन्तर्गत मधेस प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु र बागमती प्रदेशका सिन्धुली र रामेछाप सहितका ९ वटा जिल्लाहरू रहेका छन्।
कार्यक्रममा मधेस प्रदेशका प्रमुख प्राध्यापक डा सुरेन्द्र लाभ कर्णले भ्रष्टाचार नियन्त्रणका लागि व्यक्तिमा नैतिकता तथा सदाचारको विकास गर्न जरुरी रहेको बताए। उनले अख्तियारको दुरुपयोग रोक्नका लागि आयोगले खेलेको भूमिकाको सराहना गर्दै मुलुकमा सुशासन तथा समृद्धिका लागि भ्रष्टाचारको नियन्त्रण आवश्यक रहेकोमा जोड दिए।
यस्तै कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेश सरकार प्रदेशमा सुशासन मार्फत समृद्धि र विकासको पक्षमा काम गर्न चाहे पनि सानो सानो विषयमा आयोगले गर्ने गरेको पत्राचारका कारणले कर्मचारीले काम गर्नबाट रोक्ने गरेको आरोप लगाए।
मधेश प्रदेशका सभामुख रामआशिष यादवले अख्तियार प्रतिको जनविश्वास बढ्यो वा घट्यो जस्ता विषयको मूल्याङ्कन स्थापना दिवसमा गरेर सोही अनुसारको नीति बनाउन जरुरी रहेको कुरामा जोड दिए।
सो अवसरमा प्रदेश प्रमुख डा कर्णले आयोगका बर्दिबास कार्यालयका नायव सुब्बा सुरेश कुमार बराल, शाखा अधिकृत अरुण कुमार बराल तथा प्रहरी निरीक्षक सञ्जीव सुवाललाई अख्तियार सेवा पुरस्कार प्रदान गरेका थिए।
Shares

प्रतिक्रिया