सर्लाहीको हरिपुर्वामा एक व्यक्तिलाई गोली हानेर मोटरसाइकलमा भाग्दै गर्दा दुर्घटनामा परेर एक जना घाइते भएका छन्।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार गएराति गोली हानेर हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको हत्या गरिएको हो।

स्थानीयका अनुसार गोली हान्न मोटरसाइकलमा दुई जना व्यक्ति आएका थिए। गोली हानिसकेपछि भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत नै पर्ने वसन्तपुरमा उनीहरू सवार मोटरसाइकल दुर्घटनामा परेको डीएसपी राईले बताए।
‘दुई जनामध्ये एकजना घाइते भएका छन् भने अर्का फरार भएका छन्’, डीएसपी राईले नेपालखबरसँग भने, ‘घाइतेलाई अहिले हाम्रो नियन्त्रणमा राखेर जनकपुर अस्पताल भर्ना गरिएको छ।’
फरार अर्का व्यक्तिको भने खोजी भइरहेको उनले बताए।
‘अहिले पक्राउ परेका घाइते व्यक्तिको नाम खुलाउन मिल्दैन’, डीएसपी राईले भने, ‘अनुसन्धानमै रहेकाले मोटरसाइकलको नम्बर पनि खुलाउन मिलेन।’
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउमामा गोली हानेका थिए। त्यसपछि गम्भीर घाइते भएका उनलाई छिमेकी जिल्ला महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँस्थित एक स्वास्थ्य संस्थामा लगिएको थियो। तर उपचारका क्रममा यादवको मृत्यु भएको डीएसपी राईले बताए।
छिमेकीहरूसँग कुरा गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली हानिएको एक स्थानीयले बताएका छन्। यादव यसअघि सर्लाहीको सदरमुकाम मलंगवास्थित एक निजी विद्यालयमा पढाउने भए पनि हाल खेतीमा संलग्न थिए। उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयले बताएका छन्।
Shares

प्रतिक्रिया