मधेस


मधेसमा रोपाइँ : अघिल्लो वर्ष सकिएको थियो, यसपाली ८२ प्रतिशत मात्रै

मधेसमा रोपाइँ : अघिल्लो वर्ष सकिएको थियो, यसपाली ८२ प्रतिशत मात्रै

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८२ बुधबार १६:२१, काठमाडौँ

गत आर्थिक वर्ष २०८१/८२ को साउनसम्ममा मधेसमा धान रोपाईं सम्पन्न भइसकेको थियो। तर यस वर्ष मनसुन अवधिमा पनि मधेसमा खडेरी परेपछि अझै धान रोपाईं सम्पन्न हुन सकेको छैन। 

मधेसमा धान रोपाइँ हुने कुल ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमध्ये २ लाख ८५ हजार २ सय ३४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालय मधेसले जनाएको छ।

यस वर्ष मौसम प्रतिकुल बन्दा मधेसमा रोपाइँ हुन सकेको छैन। यतिबेला मधेसमा रोपाइँ सकि सक्नुपर्ने भएपनि अझै रोपाइँ सम्पन्न हुन सकेको छैन। कारण हो- समयमै पानी नपर्नु, सिंचाइको व्यवस्था नहुनु। सिंचाइको व्यवस्था नहुँदा र आकाशे पानीको भर पर्नुपर्ने बाध्यताले किसानले धान रोप्न नपाएका हुन्। 

कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीप यादवकाअनुसार साउन सकिनै लाग्दा मधेसमा ८२ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको अनुमान गरिएको छ। अर्थात अझैपनि १८ प्रतिशत धान रोपाइँ मधेसमा बाँकी नै छ। 

कृषि विकास निर्देशनालयका अनुसार सबैभन्दा बढी बारामा ९५ प्रतिशत धान रोपाइँ भएको छ। बारामा रोपाइँ हुने कुल क्षेत्रफल ४६ हजार २० हेक्टरमध्ये ४३ हजार ७ सय १९ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ।

पर्सामा धान रोपाइँ हुने ३९ हजार ७ सय ३१ हेक्टरमध्ये ३६ हजार ५ सय ५२ हेक्टरमा रोपाइँ भएको छ। सिरहाको धान रोपाइँ हुने कुल क्षेत्रफल ५४ हजार हेक्टरमध्ये ३७ हजार ८ सय हेक्टरमा जम्मा ७० प्रतिशत रोपाइँ भएको छ। धनुषामा ४३ हजार ७ सय हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये जम्मा ३० हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। 

उक्त क्षेत्रफलमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ। रौतहटमा ३५ हजार हेक्टरमध्ये ३० हजार ६५ हेक्टरमा अर्थात् ८६ प्रतिशत रोपाइँ भएको छ। सर्लाहीमा ४३ हजार ६ सय ९४ मध्ये ३२ हजार ७ सय ७० हेक्टरमा रोपाइँ भएको छ। यो भनेको ६५ प्रतिशत हो। 

सप्तरीमा भने ७० प्रतिशत मात्रै रोपाइँ हुन सकेको छ। सप्तरीमा ६८ हजार हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ६ सय हेक्टरमा मात्रै रोपाइँ हुन सकेको हो। महोत्तरीको धान रोपाइँ हुने कुल क्षेत्रफल ४२ हजार ५ सय हो। त्यसमध्ये २६ हजार १ सय ३७ हेक्टरमा अर्थात ६१.५ प्रतिशत रोपाइँ भएको छ।

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad