मानव बेचबिखनको जोखिममा परेकी एक किशोरीको पर्साबाट उद्धार भएको छ। कोसी प्रदेशको एक १८ वर्षीय किशोरीलाई आफन्त नेपालको सहयोगमा पर्सा जिल्ला सीमावर्ती क्षेत्रबाट उद्धार गरेको हो। वीरगन्ज महानगरपालिका–१६ ईनर्वा भन्सार नजिकबाट ती किशोरीको उद्धार भएको आफन्त नेपालले जनाएको छ।
उक्त घटनामा संलग्न भएको आरोपमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ का २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफन्त नेपालको सहयोगमा पक्राउ परेका लामालाई मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनी विरुद्ध मानव बेचबिखनको जोखिममा परेकी ती किशोरीले जाहेरी दिएको समेत प्रहरीले पुष्टि गरेको छ।
किशोरीलाई काम गरेबापत दिनको ८ घण्टाको महिनामा २५ देखि ३० हजार तलब हुन्छ भनेर प्रलोभन देखाएको समेत बताएकी छिन्। वैशाख १५ गते घरबाट हिँडेकी किशोरी १६ गते मिर्चैया हुँदै वीरगन्ज पुगेर होटलमा राखेको पनि उनले उल्लेख गरेकी छिन्।
‘सुरुमा कामको विश्वास लागेको थिएन’, ती किशोरी भन्छिन्, लामाले पटक पटक कामको आश्वासन दिएपछि मात्रै आएको हुँ।’ किशोरीका अनुसार, लामाले हामी जाने ठाउँ नजिक पुलिसले सोधपुछ गर्छ, बजार गर्न जाने हो, मेरो मामाको छोरा हो, भन्नु है भनेर मलाई सिकाएको थियो।
भोलिपल्ट साँझ सात बजेतिर उनलाई होटलबाट फ्याक्ट्री लग्ने भन्दै फकाएर लगेको उनले प्रहरीमा बताएकी छिन्। लग्ने बेलामा त्यो व्यक्तिले २ किलोमिटर पर मात्र हो भनी सिटीमा चढाएर किशोरीलाई इनर्वा सिमाना कटाउन लागेको अवस्थामा संस्थाले फेला परेको आफन्त नेपालका शाखा प्रमुख मनु रानाले जानकारी दिइन्।
प्रहरीका अनुसार किशोरीले जिल्ला प्रहरी कार्यालय पर्सामा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम कारबाहीको माग गरेकी छन्। जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका लामालाई जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थपेर अनुसन्धान थालेको जनाएको छ।
Shares

प्रतिक्रिया