मधेस


मोदीको मधुवनी भ्रमण तयारी, नेपाल-भारत उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

मोदीको मधुवनी भ्रमण तयारी, नेपाल-भारत उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न

नेपालखबर
बैशाख ६, २०८२ शनिबार २३:६, महेन्द्रनगर (धनुषा)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख १२ गते त्यहाँको मधुवनी जिल्ला भ्रमणमा आउने कार्यक्रम तय भएपछि भारत–नेपाल सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ त्यसका लागि नेपाली पक्षसँग समन्वय गर्न आज (शनिबार) भारतकै जयनगरमा नेपाल—भारतका सुरक्षा अधिकारीबीच उच्चस्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ।

बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता रहेको थियो।

भारततर्फबाट मधुवनी जिल्ला प्रशासनका शीर्ष सुरक्षा अधिकारी, प्रहरी र अर्धसैनिक बलका प्रतिनिधि सहभागी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।

बैठकमा भारतीय प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाउन दुवै देशका सुरक्षा संयन्त्रबीच पूर्वतयारी, समन्वय र जानकारी आदानप्रदान गरिएको उनले जानकारी दिए।

उनका अनुसार, सीमावर्ती क्षेत्रमा संयुक्त सुरक्षागस्ती बढाउने, सीमा नाका र भन्सार क्षेत्रमा सवारीसाधन तथा व्यक्तिको निगरानी प्रणाली कडा बनाउने विषयमा छलफल भएको थियो। त्यसैगरी गैरकानुनी हतियार, लागु पदार्थ तथा मानव तस्करी नियन्त्रणमा संयुक्त अपरेसन तथा सूचना आदानप्रदान, भ्रमण अवधिभर सीमामा विशेष सतर्कता अपनाउने, शङ्कास्पद गतिविधिमा संलग्न व्यक्तिको निगरानी गर्ने, स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीबीच हरेक १२ घण्टामा अन्तरसमन्वय बैठक तथा जानकारी आदानप्रदान गर्नेबारे पनि छलफल भएको थियो।

सम्भावित अप्रिय घटना रोक्न दुवै देशका सुरक्षा निकायले ‘र्‍यापिड रिस्पोन्स टिम’ तयार राख्नेलगायतका सात बुँदामा सहमति भएको उनले जानकारी दिए।

मोदी अप्रिल २४ मा पञ्चायती राज दिवस मनाउन मधुवनी आउने कार्यक्रम छ।

भारतीय सञ्चार माध्यमका अनुसार, मोदीको भ्रमणका लागि नेपालतर्फको १४० किलोमिटर खुला सिमानामा निगरानी बढाइएको छ। २०० भन्दा बढी सीसीक्यामेरा नै नयाँ जडान गरिएको छ। ठूलो संख्यामा गुप्तचर परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad