महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।
नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा विजयी भएका यादवको शव गत भदौ ९ गते जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टनजिकै सडकभन्दा तल फेला परेको थियो। उनी सवार लु.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकल कल्भर्ट नजिकै भेटिएको थियो।
घटना शंकास्पद देखिएपछि नेकपा माओवादी केन्द्रका नेता-कार्यकर्ताले अनुसन्धान गर्न सीआइबीको माग गरेका थिए। जिल्लादेखि केन्द्रसम्म दबाबमूलक कार्यक्रम गरेपश्चात् मुकेशको हत्या आरोपमा मुकेशकै साथीहरू सञ्जीव र दिलिप पक्राउ परेका हुन्।
घटनाको अघिल्लो राति सञ्जीव, दिलीप र अन्य दुई महिला साथीहरूसँग वडाध्यक्ष यादवले अबेर रातिसम्म बर्दिबासका विभिन्न होटलमा खानपिन गरेको, सँगै अबेर रातिसम्म बसेको र बिहान उनी मृत अवस्थामा फेला परेको कारण घटना शंकास्पद रहेको माओवादी केन्द्रको दाबी छ।
पक्राउ परेका सञ्जीव र दिलीपलाई आजै कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया