ad ad

मधेस


जनकपुरको श्री जानकी आँखा अस्पताल पुनः विवादमा

जनकपुरको श्री जानकी आँखा अस्पताल पुनः विवादमा

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १९:५९, काठमाडौँ

पटक पटक विवादमा आइरहने जनकपुरको श्री जानकी आँखा अस्पताल पुनः एक पटक विवादकै कारण चर्चामा छ।

केही दिन यतादेखि अस्पतालमा ताला लागेको छ, चिकित्सकीय सेवा प्रभावित भएको हो। केही राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुले अस्पताल सुधारका लागि दबाबको सिर्जना गर्ने उद्देश्यले बनाएको सर्वदलीय तथा सर्वपक्षीय समितिले अस्पताललाई गोजीको संस्था बनाएको भन्दै अस्पताल परिसरमै हातपातका साथै तोडफोड गरेपछि विवादले झन उग्र रुप लिएको छ।

अहिले आएर दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रिएको छ। सर्वपक्षीय समितिले अस्पताल भ्रष्टाचारको अखडा बन्दै गइरहेको आरोप लगाएको छ भने अस्पताल पक्षले व्यक्तिलाई स्थापित गर्न अस्पतालमा आन्दोलन चलाइएको आरोप लगाएको छ। विवादकाबीच दुवै पक्षले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आ–आफ्नो पक्ष राखेका छन्।    

समितिले पत्रकार सम्मेलन गरेर रेडक्रस धनुषाका सभापति एवं जानकी आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले अस्पताललाई गोजीको संस्था बनाउनुका साथै भ्रष्टाचारको अखाडा बनाएको आरोप लगाएको छ। रेडक्रसका कोषाध्यक्ष एवं समितिमा समेत रहेका धिरेन्द्रमोहन झाले वर्तमान रेडक्रस सोसाइटीको धनुषा समिति नै अवैधानिक रहेको दाबी गरे।

उनले सिंह अगाडी सभापति बनेका गंगाराम यादव ७७ को नियमावली अनुसार बनेको अवस्थामा उनपछि सभापति बनेका सिंह ७५ को नियमावलीलाई टेकेर सभापति कसरी बने भन्दै प्रश्न गरे।

यता सर्वदलीय सर्वपक्षीय समितिका संयोजक रामसिंह यादवले अस्पतालमा कार्यरत चिकित्सकमाथि श्रम शोषण समेत भइरहेको आरोप लगाए। उनकाअनुसार ५ वर्ष अगाडी छात्रवृत्तिमा टिचिङ अस्पतालबाट एमडी अध्ययन गरेका डा‍ अमित यादव जानकी आँखा अस्पतालमा काम गर्न शुरु गरे।

त्यसबेला जानकी आँखा अस्पताल सञ्चालन समितिका अध्यक्ष डा विजयकुमार सिंह थिए। डा यादवले २ वर्षको करार सम्झौताको आधारमा काम शुरु गरेका थिए। उक्त करारको अवधि समाप्त नहुँदै डा सिंहको पदावधि समाप्त भयो।

नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन भइरहेको आँखा अस्पतालको सञ्चालन नियमावली, २०७५ मा व्यवस्था गरिएअनुसार अस्पतालको सञ्चालन समिति पाँच सदस्यीय रहने व्यवस्था गरिएको छ। तर सोही नियमावलीमा पहिलो संशोधन २०७७ मा सञ्चालन समिति ७ सदस्यीय हुने व्यवस्था गरिएको हो।

नियमावलीको व्यवस्था अनुसार सञ्चालन समितिमा रेडक्रसले नियुक्त गरेको एक अध्यक्ष र एक कोषाध्यक्ष हुने व्यवस्था छ। त्यसैगरी रेडक्रसका जिल्ला शाखा अध्यक्ष अस्पताल सञ्चालन समितिका पदेन उपाध्यक्ष रहने व्यवस्था गरिएको छ। समितिका निःवर्तमान अध्यक्ष समितिमा पदेन सदस्य र अस्पताल प्रमुख पदेन सचिव रहने व्यवस्था गरिएको छ।

अस्पतालका वर्तमान अध्यक्ष नरेश सिंह, रेडक्रस धनुषाका अध्यक्ष रहेको नाताले पदेन उपाध्यक्ष पनि छन्। सिंहले नियमावलीअनुसार निःवर्तमान अध्यक्ष गंगाराम यादवलाई पदेन सदस्य चयन गर्नुपर्नेमा उनका नजिककका पूर्वअध्यक्ष डा विजय सिंहलाई पदेन सदस्यमा राखेका छन्। सञ्चालन समितिमा बहुमत भएपछि अध्यक्ष सिंहले एक्लौटी निर्णयहरू गर्दै आएको र अस्पताललाई गोजीको संस्था बनाएको आरोप लगाइएको छ।

यता आँखा अस्पतालका अध्यक्ष नरेश सिंह लगायतका अस्पताल प्रशासन पक्षले समेत पत्रकार सम्मेलनको आयोजना गरेर सम्पूर्ण अरोपको खण्डन गरेको छ।

आँखा अस्पतालका अध्यक्ष नरेश सिंहले यो अस्पतालको अध्यक्ष विनोद शर्मा, डा विजय सिंह, गंगाराम यादवपछि मात्रै आफू अध्यक्ष भएको भन्दै यसले अस्पताल गोजीको संस्था नरहेको प्रमाणित गर्ने बताए।

साथै गंगाराम यादव निर्वाचित अध्यक्ष नरहेको र डा विजय सिंह निर्वाचित पूर्वअध्यक्ष रहेकाले उनीहरुलाई निःवर्तमान अध्यक्षको नाताले पदेन सदस्य राखिएको उनले स्पष्ट गरे। अहिले आएर झाले रेडक्रस बिरुद्ध जथाभावी अनर्गल प्रचारवाजी गर्नुका साथै अस्पतालको गरिमा तल झार्ने काम गरिरहनु भएको आरोप लगाए।

आँखा अस्पतालका प्रमुख डा आशिष बोहोराले कुनैपनि चिकित्सक वा कर्मचारीलाई बलजफ्ती हटाउन लागिएको आरोप बेतुकको रहेको दाबी गरे। उनले डा अमित यादव इन्टन्र्स गर्नका लागि आएका र उनको करार अवधि नथप्ने निर्णय भएपछि आन्दोलनको रुप दिइएको आरोप लगाए।

बोहराले डा यादवलाई विज्ञापनबाट आफूहरुले तपाईलाई राख्न तयार रहेको भनेपछि उनले बखेडा झिकेको आरोप लगाए। डा यादवले आँखा अस्पतालमा आउने बिरामीलाई रेफर गर्ने, वैकल्पिक पूर्जीको प्रयोग गर्ने लगायतका क्रियाकलापमा लागेकाले पनि  करार अवधि नथप्ने पक्षमा पुगेको उनको भनाई थियो।

यसका साथै डा रञ्जना ठाकुरलाई मधेसको स्वास्थ्य मन्त्रालयले आँखा अस्पतालमा २०८०/०४/२९मा काजमा खटाएको र पछि मन्त्रालयले नै काज फिर्ता लिएको डा बोहोराले स्पष्ट पारे। बोहोराले अस्पतालको खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोप समेत निराधार रहेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .