ad ad

मधेस


सर्लाहीमा कृषि सहकारी संस्थाद्वारा सामूहिक धान रोपाइँ

सर्लाहीमा कृषि सहकारी संस्थाद्वारा सामूहिक धान रोपाइँ

नेपालखबर
असार १५, २०८० शुक्रबार १३:३६, सर्लाही

सर्लाहीको हरिवन– ४ पटौनमा रहेको हाम्रो कृषि सहकारी संस्थाले राष्ट्रिय धान दिवस (असार १५) को अवसरमा आज सामूहिक धान रोपाइँ गरेको छ।

यस अवसरमा संस्थाका अध्यक्ष तिलकबहादुर खड्काको झण्डै १० कठ्ठा जग्गामा धान रोपाइँ गरिएको हाम्रो कृषि सहकारी संस्थाका कार्य समिति सदस्य सुभाष श्रेष्ठले जानकारी दिए।

रोपाइँ कार्यक्रममा हरिवन–१ का वडाअध्यक्ष टमबहादुर घिसिङ, हरिवन– ४ का वडाध्यक्ष केशवराज थापा, हरिवन १ स्थित आधारभूत विद्यालय पटौनाका शिक्षक, विद्यार्थीसहित ५० जनाभन्दा धेरै स्थानीयबासी सहभागी भएका थिए।

असारे भाकामा लोकदोहोरी गाउँदै रोपाइँ सकेपछि रोपाहारहरुले दही चिउरा खाँदै रमाइलो गरेका थिए।

श्रमप्रति सम्मानको विकास गर्न ससाना विद्यार्थीलाई पनि धान रोपाइँमा सहभागी गराइएको हाम्रो कृषि सहकारी संस्थाका व्यवस्थापक समीर न्यौपानेले जानकारी दिए।

राष्ट्रिय धान दिवसको अवसरमा सर्लाहीका मलंगवा नगरपालिका, कृषि ज्ञान केन्द्र सर्लाहीले पनि आज सामूहिक रोपाइँ आयोजना गरेका छन्।

सर्लाहीमा सिँचाइको सुविधा भएका जमिनमा यतिबेला धमाधम धान रोपाइँ भइरहे पनि पर्याप्त वर्षा नहुँदा सर्लाहीका अधिकांश खेतीयोग्य जमिनमा अझै रोपाइँ सुरु भएको छैन।

समयमै रोपाइँ नभए धान उत्पादन घट्ने डर किसानलाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .