ad ad

मधेस


वारुण यन्त्र बिग्रेको विषयमा आफ्नो बदनाम गर्न खोजिएको मेयरको गुनासो

वारुण यन्त्र बिग्रेको विषयमा आफ्नो बदनाम गर्न खोजिएको मेयरको गुनासो

फाइल तस्बिर : हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी


नेपालखबर
बैशाख १६, २०८० शनिबार ९:१०, सर्लाही

एक साताअघि सर्लाहीको हरिवनमा भएको आगलागी घटनाको निहुँमा कतिपयले नियोजित रुपमा आफ्नो बदनाम गर्ने प्रयास गरेको भन्दै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले दुःख व्यक्त गरेका छन्। 

शुक्रबार दिउँसो उनले नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै घटनाको वास्तविकता सुनाएका छन्। 

यही वैशाख ११ गते हरिवन नगरपालिका कार्यालयनजिकै पर्ने बासाटोलस्थित एक घरमा आगलागी भएको थियो। आगलागीमा परेर स्थानीय बद्री न्यौपानेको घर नष्ट भएको थियो। 

उक्त आगो निभाउन गएको नगरपालिकाको वारुण यन्त्र बिग्रिएर पानी फाल्न नसकी  त्यसै फर्किएपछि कतिपयले मेयर बुढाथोकीसहित नगरपालिकाका जनप्रतिनिधिको आलोचना गरिरहेका छन्। 

मेयर बुढाथोकीले भने मेसिनरी सामान बिग्रिएको घटनालाई बढाइचढाइ गर्दै मित्थ्या विषयहरु जोडेर जनप्रतिनिधि र कर्मचारीको बदनाम गर्ने प्रयास हुनु खेदजनक भएको बताए। 

‘आगलागी हुनुभन्दा दुई घण्टाअघिसम्म चलिरहेको वारुण यन्त्रको पानी फाल्ने सिस्टमले त्यतिबेला काम नगर्दा हामीले आगो निभाउन सकेनौँ’, उनले भने, ‘मेसिनरी सामान कतिबेला बिग्रिन्छ, ठेगान हुँदैन। मेसिनरी सामानले काम नगरेको विषयलाई लिएर वारुण यन्त्र नगरपालिकाले मर्मत नगरी राखेको, असक्षम चालक राखेको जस्ता आरोप लगाउँदै नगरपालिका र नगरप्रमुखलाई नियोजित रुपमा बदनाम गर्ने प्रयास गर्नु जायज होइन।’

बिग्रिएको वारुणयत्र भोलिपल्टै वीरगन्ज लगेर मर्मत गरेर ल्याइसकिएको जानकारी पनि उनले दिए।

अहिलेको सुक्खा मौसमममा सर्लाहीमा आगलागीका धेरै घटना भइरहेका छन्। तर, २० वटा स्थानीय तह रहेको सर्लाही जिल्लामा यतिबेला हरिवन नगरपालिकाको वारुण यन्त्र मात्रै चालु अवस्थामा छ। 

हरिवनबाहेक मलंगवा नगरपालिकासँग मात्रै वारुण यन्त्र छ। तर, त्यो बिग्रिएको लामो समय भइसक्दासमेत मर्मत गरिएको छैन। 

जिल्लाभर एउटा मात्रै वारुण यन्त्र चालु अवस्थामा रहेका कारण हरिवनको वारुण यन्त्रलाई कुनै-कुनै दिन आगो निभाउन भ्याइनभ्याइ हुने गरेको मेयर बुढाथोकीले बताए। 

आगलागी पीडितलाई नगरपालिकाका तर्फबाट तत्कालै खाद्यान्न र भाँडाकुँडा सहयोग गरिएको जानकारी पनि उनले दिए। पीडितलाई घर निर्माणसहित थप सहयोगका लागि विभिन्न निकायसँग नगरपालिकाका तर्फबाट पहल भइरहेको बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .