ad ad

मधेस


मधेशका ७ जिल्लामा पाठ्यपुस्तक पुग्यो, ३० प्रतिशत बाँड्न बाँकी

मधेशका ७ जिल्लामा पाठ्यपुस्तक पुग्यो, ३० प्रतिशत बाँड्न बाँकी

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १६:८, जनकपुरधाम

समयमै विद्यालयहरुमा पाठ्यपुस्तक पुग्न नसक्ने विगतका अनुभवबीच यसवर्ष देशभरका अधिकांश विद्यालयहरूमा समयमै पाठ्यपुस्तक पुगेको छ।

मधेश प्रदेशका ७ जिल्लाका विद्यालयहरुमा पनि समयमै पाठ्यपुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ। 

गत चैत २६ गतेदेखि पाठ्यपुस्तक वितरण सुरु गरेको जनक शिक्षाले मधेश प्रदेशका ७ जिल्लाका विद्यालयहरूमा समयमै पाठ्यपुस्तक पुर्याएको हो। 

पाठ्यपुस्तक बिक्री–वितरण र छपाइका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीले जनक शिक्षा सामग्री केन्द्रको अनुगमन गरेपश्चात जनक शिक्षाका प्रबन्धक अनिलकुमार झाले नयाँ शैक्षिकसत्रमा सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने गरी काम भइरहेको बताएका थिए।

मधेश प्रदेशका विद्यालयहरूमा पनि यसवर्ष समयमै पाठ्यपुस्तक पुगेको हो। सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहँदा जनक शिक्षा सामग्री केन्द्रले समयमै पाठ्यपुस्तक बाँडेको केन्द्रका मधेश प्रदेश कार्यालय प्रमुख रुद्र खनालले जानकारी दिए।

उनले हालसम्म ७० प्रतिशतभन्दा बढी पुस्तक वितरण भइसकेको बताए। केन्द्रले यसवर्ष १६ लाख ३२ हजार पुस्तक वितरण गर्ने लक्ष्य राखेको उनले बताए। वैशाख ११ गतेसम्म १० लाख ८२ हजार २३४ पुस्तक वितरण भइसकेका छन्।

केन्द्रसँग २ लाख १८ हजार १९३ थान पुस्तक मौज्दात रहेकोमा ३ लाख ३१ हजार ५७३ थान पुस्तकको अझै आवश्यकता रहेको प्रमुख खनालले जानकारी दिए।

जनक शिक्षा सामग्री केन्द्रको मधेश प्रदेश कार्यालयले प्रदेशको बारा बाहेक अन्य ७ जिल्ला र ओखलढुंगा, खोटाङ, उदयपुर तथा सिन्धुली जिल्लामा पनि पुस्तक उपलब्ध गराउँदै आएको छ।

जनक शिक्षा सामग्री केन्द्र मधेश प्रदेशले अहिले यस केन्द्रमा कक्षा ६ देखि १० सम्मका लागि आवश्यक पाठ्यपुस्तक आइसकेको जनाएको छ। पाठ्यपुस्तक परिवर्तन भएका सामाजिक, विज्ञान र स्वास्थ्य विषयका पुस्तक आउने क्रममा रहेको प्रमुख खनालले बताए।

ती जिल्लाका व्यवसायीले आफ्नो व्यवसायलाई पाठ्यक्रम विकास केन्द्रमा सूचीकृत गरिसकेको र अन्य पनि सूचीकृत तथा नवीकरण हुन आउने क्रम जारी रहेको उनले बताए।

कोरोना कहरका कारण मुलुकको अवस्था सामान्य बनेर पठनपाठन पुनः सञ्चालन भएपछि किताबको अभाव नहुने उनको भनाइ छ। आगामी शैक्षिक सत्रबाट कक्षा १२ को पुस्तक पनि जनक शिक्षाले नै वितरण गर्नेछ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि यस केन्द्रले पुस्तक पुर्याउँछ भने संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निजी क्षेत्रले पुस्तक उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .