धनुषामा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा खटिएका एक निरीक्षक पक्राउ परेका छन्।
धनुषाको लक्ष्मिनियाँ गाउँपालिका सपहीस्थित बीपी कोइराला माविस्थित परीक्षा केन्द्रमा खटिएका निरीक्षक नागेन्द्र यादव पक्राउ परेका हुन्।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार कक्षाकोठा बाहिरबाट प्रश्नपत्रका उत्तर आफ्नो मोबाइलमा पठाउन लगाएर विद्यार्थीलाई चिट चोरी गराएको फेला परेपछि निरीक्षक यादवलाई पक्राउ गरिएको हो।
यादव जनता आधारभूत माध्यमिक विद्यालय (बनिगा, लक्ष्मिनियाँ) का शिक्षक हुन्।
परीक्षाको पहिलो दिन नै उनले मर्यादा विपरीतको काम गरेपछि पक्राउ गरिएको बताइएको छ।
परीक्षा निरिक्षकले नै मोबाइल प्रयोग गरी ह्वाट्सएपबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि विद्यार्थीले सारिरहेको पाइएको थियो। मोबाइल यादवको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आज देशभर एकसाथ एसईई सुरु भएको छ भने पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। बिहान ८ बजे सुरु परीक्षा बिहान ११ बजे सकिनेछ।
प्रतिक्रिया