ad ad

मधेस


‘भरत ताल’मा पर्यटनमन्त्री : सर्वसाधारणसँगै डुंगा चढे, अटोमा हुइँकिए (भिडिओ)

‘भरत ताल’मा पर्यटनमन्त्री : सर्वसाधारणसँगै डुंगा चढे, अटोमा हुइँकिए (भिडिओ)

सर्लाहीको भरत तालमा पर्यटनमन्त्री। तस्बिर : जनार्दन पोखरेल/नेपालखबर


जनार्दन पोखरेल
फागुन २९, २०७९ सोमबार १८:४४, सर्लाही

सर्लाही आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आइतबार स्थानीय  ‘भरत ताल’  भ्रमण गरे। उनले सर्वसाधारणसँगै जेटबोट चढेर तालमा सयर गरे। अटो चढेर ताल वरपर हुइँकिए।

बागमती नगरपालिका-१२ निर्मित १२१ बिघामा फैलिएको भरत ताल यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्न थालेको छ। 

आइतबार सर्लाहीको हरिवनमा आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को कार्यक्रममा सहभागी हुन आएका पर्यटनमन्त्री किराँतीलाई बागमती नगरपालिकाकी उपमेयर लीलाकुमारी भोक्तानले आफूहरूले निर्माण गरेको तालसम्म पुग्न आग्रह गरिन्। उपमेयरकै आग्रहमा मन्त्री किराँती भरत ताल पुगे।

यसअघि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बहालवाला उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डे, मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायत उच्च पदस्थ व्यक्तिहरूले यो ताल भ्रमण गरिसकेका छन्। 

बागमती नगरपालिकाले अझै तालको नामकरण गरेको छैन। तर, जनजिब्रोमा ‘भरत ताल’को नामले यो ताल देश-विदेशमा प्रख्यात् भइसकेको छ। 

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको नेतृत्वमा निर्माण भएकाले सर्वसाधारणले यसलाई भरत ताल भनेका हुन्। तर, बागमती नगरपालिकाले राखेको बोर्डमा यसको नाम ‘बागमती माछा पोखरी’ लेखिएको छ।

मन्त्री किराँती पुग्दा मेयर थापा भने नगरमा थिएनन्। स्वास्थ्य उपचारको सिलिसिलामा उनी यतिबेला काठमाडौंमा छन्। 

उपमेयर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेल, माओवादी केन्द्रका युवा नेता सन्देश श्रेष्ठलगायतले डुंगामै बसेर नगरपालिकाका तर्फबाट मन्त्री किराँतीलाई सम्मानपत्र प्रदान गरे। 

उनीहरूले पनि मन्त्री किराँतीसँगै तालमा सयर गरे। ताल निर्माण गर्दाको कथा-व्यथा सुनाए। यसबाट अहिले नगरपालिकालाई पुगेको फाइदाको विषयमा बेलिविस्तार लगाए।

चार वर्षअघि बनाउन थालिएको यो ताल निर्माण अझै पूरा भएको छैन। ताल निर्माणमा अहिलेसम्म ६० करोड रूपैयाँ खर्च भइसकेको छ। तर, अहिले पनि ताल निर्माणधीन अवस्थामै छ। तर, नगरपालिकाले दुई वर्ष अघिदेखि नै यो तालबाट आम्दानी लिन थालिसकेको छ। 

तालबाट अहिले नगरलाई मासिक रूपमा कम्तीमा ५ लाख रूपैयाँ आम्दानी भइरहेको उपमेयर लीला मोक्तानले जानकारी दिइन्। तालकै कारण हजारौँ जनाले रोजगारी पाएका छन्। ताल वरपर सुविधायुक्त होटल र लज खुलेका छन्। 

हिजोआज दैनिक हजारौँ पर्यटक यो तालमा पुग्छन्। डुंगा चढेर रमाउँछन्। पछिल्लो समय यो ताल युवायुवतीको भेटघाटस्थल पनि बन्न थालेको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले धेरैपटक यो तालमा गोताखोर तालिम लिइसकेका छन्। 

तालमा सयर गर्ने क्रममा मन्त्री किराँतीले डुंगा सञ्चालन गर्दा यात्रुको सुरक्षामा ध्यान दिन आग्रह गरे।  ‘डुंगा चढ्दा लाइफ ज्याकेट अनिवार्य गर्नुपर्छ’, उनले भने,  ‘डुंगा चढ्ने यात्रुको अनिवार्य रूपमा बिमाको व्यवस्था पनि मिलाउनु होला।’ 

भिडिओ

उनले नगरपालिकाले चाहे मन्त्रालयले पर्यटन प्रवर्द्धनको विषयमा निःशुल्क तालिमको व्यवस्था गर्ने आश्वासन दिए। 

‘नाथाम भन्ने संस्थाले यो विषयमा तालिम दिन्छ’, उनले भने,  ‘तपाईंहरू चाहनुहुन्छ भने म निःशुल्क तालिमको व्यवस्था मिलाउने छु।’

ताल भ्रमणका लागि मासिक लाख जनासम्म पर्यटक आउने गरेको बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल पोखरेलले जानकारी दिए। स्वदेशीबाहेक तालमा विशेषगरी भारतीय पर्यटक धेरै आउने गरेका छन्।

तालमा अहिले ३१ वटा डुंगा सञ्चालनमा छन्। डुंगा चढेको शुल्क प्रतिव्यक्ति ३ सयदेखि हजार रूपैयाँसम्म लाग्छ। डुंगाको सुविधा र स्तरअनुसार व्यवसायीले शुल्क निर्धारण गरेका छन्। आम्दानीको २० प्रतिशत व्यवसायीले नगरपालिकालाई राजस्व बुझाउँछन्।

‘ताल सञ्चालनमा आएपछि नगरपालिकाको आम्दानीको स्रोत बढ्नाका साथै पर्यावरण सन्तुलनमा पनि सहयोग पुगेको छ’, पोखरेलले भने, ‘तालकै कारण भूमिगत पानीको रिचार्ज सिस्टम सुध्रिएको छ। विगतमा सुकेका ताल वरपरका इनार र चापाकलमा अहिले पानी आउन थालेका छन्।’

तालमा यतिबेला लाखौँ माछा हुर्किरहेका छन्। माछा ६/७ किलोसम्मका भइसकेका छन्। तालमा साइबेरियन बकुल्ला पनि आउन थालेका छन्। यसले ताललाई अझ मनोरम बनाएको छ। तालबाट निकासी भएको पानीले स्थानीयका खेतबारीमा सिँचाइसमेत भइरहेको छ।

बागमती नदीमा खेर गइरहेको पानी सदुपयोग गर्ने उद्देश्यले नगरपालिकाले ताल बनाएर उदाहरणीय काम गरेको भन्दै मन्त्री किराँतीले स्थानीय जनप्रतिनिधिको प्रशंसा गरे।

‘बागमती नगरपालिकाले आफ्नो स्थानीय स्रोत/साधनको परिचालन गरेर आम्दानीको स्रोत बढाउन खोजेको देखिन्छ’, उनले भने,  ‘बागमती नगरपालिकाको यो कामबाट हाम्रा अरु स्थानीय तहले पनि धेरै कुरा सिक्न सक्छन्। यसले देशलाई नै फाइदा पुग्ने विश्वास मैले लिएको छु।’

उनले सगरमाथा र रारा ताल हेर्न आउने विदेशी पर्यटकले अब भरत ताल पनि सयर गर्ने विश्वास व्यक्त गरे।

‘हाम्रा स्थानीय तहहरूले साना साना भए पनि पर्यटन विकासमा सहयोग पुग्ने काम गर्नुपर्छ,’ मन्त्री किराँतीले भने,  ‘विदेशको फोटोकपी गरेर हाम्रो देशको पर्यटन व्यवसाय चल्दैन। नेपालीपन झल्कने पर्यटनको विकासमा हामीले ध्यान दिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .