ad ad

समाज


बागमतीमा बन्यो समुद्रको झल्को दिने विशाल ताल, चल्छ १३५ सिटे पानीजहाज

बागमतीमा बन्यो समुद्रको झल्को दिने विशाल ताल, चल्छ १३५ सिटे पानीजहाज

जनार्दन पोखरेल
चैत २१, २०७८ सोमबार १९:४५, काठमाडौँ

तीन वर्षअघि यतिबेला सर्लाहीको बागमती नगरपालिका–१२ बुढीबागमती किनार सुख्खा थियो। चैतको खडेरीले बागमती नदीमा पानीको बहाव घटेको थियो। त्यति नै बेला बागमती ४ र १२ को सीमा क्षेत्रमा पर्ने बागमती किनारको बगर (नदी उकास पर्ती जमिन) डोजरले खोस्रिन थाल्यो।

०१८ साल अघिसम्म बागमती नदी बगिरहेको त्यो बगरको महत्वप्रति कसैको ध्यान गएको थिएन। सबैले ‘बिनाकामको ढड्यान’ मान्दै आएको त्यो बगरमा डोजर चल्न थालेपछि वरपरका मान्छेले मेयर भरत थापालाई सोधे, ‘यहाँ के गर्न लागेको?’

धेरै नबोल्ने मेयर थापाले जवाफ दिए– ‘यहाँ ताल निर्माणको थालनी हुँदैछ।’

मेयरको जवाफलाई कतिले पत्याए, कतिले एक कानले सुनेर अर्को कानले उडाए।

केही समयपछि कोरोना महामारी सुरु भयो। संक्रमण नियन्त्रणको लागि भन्दै  सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो। कोरोना त्रासले मान्छेहरु घरभित्रै थुनिए। जनजीवन ठप्प भयो।

मेयर भरत थापा भने लकडाउनले थुनिएनन्। उनले अठोट गरिसकेका थिए, ‘सबैले हेला गर्ने यो सुख्खा बगरमा सुन्दर ताल निर्माण गरेरै छाड्छु।’

त्यसपछि बागमतीको बगरमा निरन्तर दर्जनौँ डोजर चले। दैनिक सयौँ मजदुर काममा खटिए। डोजरले खाडलबाट गिटी, बालुवा र माटो निकालिरहे। साता बित्यो, महिना बित्यो, वर्ष बित्यो। विशाल खाडल तयार भयो, पानीबिनाको।

तीन वर्षअघिको त्यही बागमतीको सुख्खा बगर यतिबेला रमणीय तालमा परिणत भएको छ।

चुरेको काखमा अवस्थित बागमती किनारको सुख्खा बगरमा आकर्षक ताल निर्माण भएको खबर आसपासमा फैलिँदै गयो। ‘ताल कस्तो रैछ?’ भन्दै मान्छेहरु टाढाटाढाबाटसमेत हेर्न आउन थाले।

ताल आसपासको क्षेत्रमा आगन्तुकलाई चिया, खाजा खाने कुनै होटल, पसल थिएनन्। व्यापार चल्ने आसमा स्थानीय भरत विश्वकर्माले ताल किनारमा टिनको छाप्रो ठड्याए। चिया, खाजा बेच्न थाले। छाप्रोअघि बोर्ड झुन्ड्याए।

ठेगानामा उनले लेखे– ‘बागमती नगरपालिका १२, भरत ताल’।

त्यसपछि आउने–जानेले यो ताललाई ‘भरत ताल’को रुपमा चिन्न थालेका हुन्।

होटल सञ्चालक बिकले बोर्ड झुन्ड्याएपछि एक कान, दुई कान हुँदै ‘भरत ताल’ कै नामले यो ताल प्रख्यात हुँदै गएको हो। राष्ट्रिय मिडियामा समाचार आउन थालेपछि भने धेरैले चासो दिन थाले।

कतिपयले मेयर थापाको नामबाट तालको नामाकरण ‘भरत ताल’ भनेर गरिएको भन्दै आलोचना पनि गर्ने गरेका छन्। तर, मेयर थापा त्यसलाई अस्वीकार गर्छन्।

‘हामीले त माछा पोखरी भनेर निर्माण थालेका थियौँ, स्थानीयले नै यसको नाम भरत ताल राखिदिएका हुन्,’ माओवादी केन्द्रबाट मेयरमा निर्वाचित थापाले भने।

एक सय २१ विघा क्षेत्रफलमा फैलिएको ‘भरत ताल’ अहिले मधेश प्रदेशकै सानको रुपमा चिनिन थालेको छ।

तालमा बोटिङ सुरु भएको गत असारदेखि नै हो। आजभोलि दैनिक हजारौँ मानिस तालमा बोटिङको लागि पुग्छन्। साँझ–बिहान ताल किनारमा तस्बिर खिच्ने, टिकटक बनाउने युवायुवतीको घुइँचो लाग्छ।

भरत तालमा यतिबेला दुई दर्जनभन्दा धेरै डुंगा (मिनी क्रुज) सञ्चालनमा छन्। जसमा नेपालको झण्डा फहराएको छ। डिजेल इन्जिनका धेरै मिनी क्रुज १० सिटे छन्। केही २० सिटे छन् भने एउटा एक सय ३५ सिटे पानीजहाज पनि सञ्चालनमा छ।

ती डुंगा चढेर तालमा १० मिनेट सयर गरेवापत् प्रतिव्यक्ति दुई सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क तिर्नुपर्छ। चाड पर्व र बिदाको दिन तालमा आगन्तुकको भिड अझ धेरै हुन्छ।

आगन्तुकबाट नगरपालिकाले दैनिक लाखौँ रुपैयाँ राजश्व संकलन गर्न थालेको छ। २० प्रतिशत कर लिएर नगरपालिकाले व्यवसायीलाई तालमा डुंगा सञ्चालन गर्न दिएको छ। ताल वरपर सयौँ होटल र घुम्ती पसल खुलेका छन्। सयौँ मजदुर अहिले पनि तालको सौन्दर्य बढाउने काममा खटिएका छन्।

‘ताल क्षेत्र व्यवस्थित भइसकेको छैन,’ मेयर थापा भन्छन्, ‘निर्माणको काम पुरा भएपछि झण्डै एक हजार जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्।’

ताल निर्माणमा अहिलेसम्म करिब ४० करोड रुपैयाँ खर्च भइसकेको छ। राष्ट्रिय योजना आयोगदेखि मधेश प्रदेश सरकारले पनि ताल निर्माणमा सहयोग गरेका छन्। बागमती नगरपालिकाले आफ्नो धेरै बजेट ताल निर्माणमा लगाइसकेको छ।

मेयर भरत थापा

‘तालको सौन्दर्यकरणको काम सकिँदा झण्डै ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ,’ मेयर थापाले भने।

एक सय २१ विघा क्षेत्रफलमा फैलिएको तालमा बागमती नदीबाट निरन्तर पानी प्रवाह भइरहेको छ।

तालमा दुई खण्ड छन्। यतिबेला दक्षिणतर्फको खण्डमा मर्मतको काम भइरहेको छ। उत्तरतर्फको खण्ड भने सञ्चालनमा छ।

‘दक्षिण तर्फको खण्डमा पानी नअडिएको कारण मर्मतको काम भइरहेको छ,’ मेयर थापाले भने, ‘मर्मतको काम सकेपछि दुवै ताल सञ्चालनमा आउँछन्।’

तालमा पानीको गहिराई १० देखि ३० फिटसम्म छ। ‘बागमती नदीमा ठूलो बाढी आउँदा पनि तालमा असर नपर्ने गरी संरचना निर्माण गरेका छौँ,’ मेयर थापाले भने, ‘सुरक्षाका उपायहरु अवलम्बन गरिएको कारण तालबाट वरपरका बस्तीमा कुनै समस्या हुँदैन।’

ताल आसपासका क्षेत्रमा होटल, पिकनिक स्पट निर्माण हुँदैछ।

‘हाम्रो आवश्यकताले यो तालको निर्माण गरेका हौँ,’ थापा भन्छन्, ‘अब यो ताल नगरको दिगो आर्थिक स्रोतको रुपमा रहने छ।’

भिडिओ

तालको वरपर चार मिटर चौडा र पाँच मिटर उचाइको मेसिनरी वाल निर्माण गरिएको छ। तालको बीचमा वारपार गर्ने पुल छ। पुलसँगै जोडेर सुविधा सम्पन्न होटल निर्माण हुँदैछन्।

तालको बीच क्षेत्रमा शिव र बुद्धको मन्दिर निर्माण गर्ने योजना नगरपालिकाले बनाएको छ।

‘धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले शिव र बुद्धको मन्दिर निर्माण गर्ने योजना बनाएका हौँ,’ मेयर थापाले भने।

स्थानीयवासीहरुका अनुसार पोखरीमा पानी भर्न सुरु गरेपछि वरपरका बस्तीका इनार र चापा कलहरुमा सुकेका मूलहरु फुट्न थालेका छन्। 

‘यो तालबाट स्थानीयवासीलाई देखिने भन्दा नदेखिने फाइदा बढी छ,’ मेयर थापाले भने, ‘तालकै कारण वरपरको जमिनको उर्बरा शक्ति बढ्न थालेको छ। वरपर सिमसार क्षेत्र निर्माण हुँदा चराचुरुङ्गी, वन्यजस्तुदेखि लिएर वातावरणमा पनि सकारात्मक प्रभाव पर्दै गएको छ।’

ताल भरिएपछि निकास भएको पानी सिँचाइमा प्रयोग हुन्छ। सिँचाइ गरेर पनि धेरै भएको पानी पुनः बागमती नदीमै जानेगरी निकास मिलाइएको छ। ताल खन्दा निस्किएको ढुंगा, बालुवा र माटो रेल्वे निर्माणमा प्रयोग भइरहेको छ।

तालमा बोटिङ मात्रै होइन, माछापालन गर्ने योजना पनि नगरपालिकाले बनाएको छ। तालमा अहिले पनि लाखौँ माछाका भुराहरु हुर्किरहेका छन्।

ताल नजिकै पिकनिक स्पटका लागि ९० विघाको बगैँचा तयार हुँदैछ। जसको संरक्षणको लागि नगरपालिकाले विभिन्न योजना बनाएको छ।

अहिले बगैँचामा फलफूलका बोटविरुवा हुर्किरहेका छन्। किसानले त्यहाँ परवल खेतीसहित फलफूलका बोटविरुवा हुर्काइरहेका छन्। जसबाट उनीहरुलाई प्रत्यक्ष लाभ पनि पुगेको छ।

ताल वरपर होटल, लज सञ्चालनको लागि व्यवसायीले सम्पर्क गर्न थालेका छन्। ताल किनारमा चलचित्र विकास बोर्डको कार्यालय बस्ने सहमति भइसकेको छ।

बागमती नदी सर्लाही र रौतहटको सीमा भएर बग्छ। सर्लाहीतर्फ बागमती नदीको पुलबाट छेउको ड्याम हुँदै दुई किमी यात्रापछि भरत ताल पुग्न सकिन्छ। बागमती नगरपालिकाले ताल निर्माणको कामलाई आफ्नो गौरवको आयोजना मानेको छ।

ताल करिडोर १ सय २१ विघा क्षेत्रफलमा फैलिएको छ। १ सय ५ विघा क्षेत्र पानीको लागि छुट्याइएको छ । ताल वरपर फलामे रेलिङ निर्माण हुँदै छ। हिँड्नको लागि आकर्षक फुटपाथ बनाइएको छ।

तालको अवलोकन र बोटिङ गर्न टाढाटाढादेखि सर्वसाधारणदेखि भीआईपीसम्म पुग्ने गरेका छन्। अहिलेसम्म पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितले भरत तालमा पुगेर बोटिङ गरिसकेका छन्।

सशस्त्र प्रहरीले विपतकालीन उद्धारको अभ्यास पनि भरत तालमै गरेको छ। स्थानीय प्रशासनले भरत ताललाई केन्द्रित गरेर आफ्ना कार्यक्रमहरु गर्न थालेका छन्।

ताल किनारमा एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी नानुकुमारी चौधरीले ताल सञ्चालमा आएपछि व्यापार बढेको सुनाइन्।

‘यहाँ होटल चलाएबापत प्रत्येक शनिबार स्थानीय बागमती युवा क्लबलाई ३ सय रुपैयाँ शुल्क तिर्ने गरेका छौँ’, चौधरीले भनिन्, ‘नगरपालिकाले भने अहिलेसम्म होटल सञ्चालन गरेवापत शुल्क लिन थालेको छैन।’

तालमा बोटिङ गरिरहँदा भेटिएका सिमराका गोविन्द चौधरीले मिडिया र साथीभाइबाट सुनेको कारण ताल हेर्न आएको बताए।

‘आज हामी पाँच जनाको समूहमा आएका छौँ, बोटिङ गर्यौं। धेरै रमाइलो भयो,’ उनले भने, ‘तर ताल वरपरको क्षेत्रमा सुविधा सम्पन्न होटल भने अझै सञ्चालनमा आएको रहेनछ। सोचेको जसरी खान पाइएन।’

इटहरीका खगेन्द्र घिमिरेले यसअघि सप्तकोसीको चतरामा बोट सञ्चालन गर्थे। केही सयमयता घिमिरेले पनि भरत तालमा बोट सञ्चालन गरिरहेका छन्।

‘हाम्रो पानी जहाज एक सय ३५ सिट क्षमताको छ। प्रतियात्रु ३ देखि ५ सय लिएर यात्रा गराउँछौँ,’ घिमिरेले भने, ‘आम्दानीको २० प्रतिशत नगरपालिकालाई बुझाउनु पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .