सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट शनिबार बिहान एकजनाको मृत्यु भएको छ।
कमलामाई नगरपालिका १३ स्थित माथिल्लो रानीबासमा जंगली हात्तीको आक्रमणबाट ४० वर्षीय दण्डपाणि पौडेलको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि तत्कालै जिल्ला अस्पताल सिन्धुली लगिएको थियो।
तर उपचारका क्रममा शनिबार बिहान साढे ७ बजे पौडेलको मृत्यु भएको डीएसपी दाहालले जानकारी दिए।
‘काठको दुईतले घरमाथि सुतिरहेको बेला राति साढे ३ बजे उहाँलाई हात्तीले आक्रमण गरेको रहेछ’, डीएसपी दाहालले नेपालखबरसँग भने, ‘हात्तीले घर माथिबाट खसालेर घिसार्दै ५० मिटर टाढा पुर्याएपछि छाडेर भागेछ।’
गाउँलेहरुले होहल्ला गर्न थालेपछि पौडेललाई गम्भीर घाइते बनाएर हात्ती जंगलतिरै भागेको स्थानीयले बताएका छन्।
हात्तीले आक्रमण गर्दा पौडेलको घरमा सामान्य क्षतिसमेत पुगेको डीएसपी दाहालले बताए।
एक साताअघि पनि रानीबासमा आएको हात्तीको बथानले स्थानीयका घर र बालिनालीमा सामान्य क्षति गरेको थियो। रानीबास क्षेत्रमा ६/७ वर्षदेखि बर्सेनि जंगली हात्तीले दुःख दिइरहेको छ।
हात्तीलाई नियन्त्रण गर्नेतर्फ स्थानीय प्रशासन र वन कार्यालयले कुनै चासो नदेखाएको गुनासो स्थानीयले गरेका छन्।
Shares

प्रतिक्रिया