मधेस


लोकतन्त्र रक्षाका लागि साहित्यले पहलकदमी लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

लोकतन्त्र रक्षाका लागि साहित्यले पहलकदमी लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १८:३५, जनकपुरधाम

पूर्वराष्ट्रपति डा. रामवरण यादवले लोकतन्त्र रक्षाका लागि साहित्यले निरन्तर पहलकदमी लिई राख्नुपर्ने बताएका छन्। 

जनकपुरधाममा बिहीबारदेखि शुरु भएको ३ दिवसीय जनकपुर साहित्य महोत्सवको पहिलो दिन प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वराष्ट्रपति यादवले लोकतन्त्र रक्षाका लागि साहित्यले पहलकदमी लिनुपर्ने बताएका हुन्। 

८ दशक लामो संघर्षपछि ल्याइएको अहिलेको संविधानमाथिको खतरा नटरेको भन्दै संचारकर्मी, साहित्यकार तथा अभियानीहरुले यसको रक्षाका लागि निरन्तर आवाज उठाई रहनुपर्ने बताए। 

‘संविधानमाथि प्रहार गर्ने निरन्तर कुचेष्टा भईरहेको छ, पूर्व राष्ट्रपति यादवले भने, ‘अमेरिकामा रहेको २ सय ४० वर्ष पुरानो लोकतन्त्रमाथिको कालो बादल अहिलेसम्म लागेको छैन, हामीले लामो संघर्षपछि ल्याएको संघीय गणतन्त्रात्मक व्यवस्था सहितको लोकतन्त्र र संविधानमाथि आक्रमण भईरहेको छ। त्यसको रक्षाका लागि तेस्रो पुस्तालाई समेत तयार पार्ने काम गर्नुपर्छ।’

पछिल्लो समय संविधानको घाँटी निमोठ्ने काम हुँदा नेपाली जनताले आवाज उठाएकै कारण संविधानको रक्षा भएको पूर्वराष्ट्रपति यादवको भनाई थियो। 

उनले साहित्यमाथि चर्चा भइरहँदा यहाँको भाषा तथा संस्कृतिको रक्षाका लागि मात्रै नभई जनकपुरधामको पहिचान रहेको मठ मन्दिर तथा पोखरी संरक्षणका लागिसमेत आवाज उठाउनु पर्नेमा जोड दिए। 

साहित्य महोत्सवको प्रमुख अतिथिको आसनबाट पूर्वराष्ट्रपति यादव बोल्दै गर्दा पर्यावरण र जनकपुरधामको खस्कँदै गईरहेको शिक्षा अवस्थाप्रति समेत चिन्ता व्यक्त गरे। 

उनले भने ‘कुनै समय ज्ञानभूमिको रुपमा परिचित रहेको जनकपुरधामको पावनभूमि अहिले ज्ञानको ज्योतिबाट टाढा हुँदै गइरहेको देख्दा बडो दुःख लाग्छ।’ 

यस्ता साहित्यिक महोत्सवकै माध्यमले यहाँका तेस्रो पुस्तामा ज्ञानको ज्योति फैलाउन उनले आग्रह गरे। 

‘अहिले चुरेको अनियन्त्रित दोहन भइरहेको छ। चुरिया भएर राजमार्ग बनिरहेको छ। माटो दोहन भइरहेको छ’ उनले भने, ‘यसलाई कसले बचाउने? यो देशमा भएका तिनै तहको सरकारको जिम्मेवारी होइन र?’ यस्तै स्थिति रहिरह्यो भने हिमालको कवचको रुपमा रहेको मधेश मरुभूमिमा परिणत हुन्छ। त्यसैले चुरे संरक्षणका लागि समेत पहल गर्नु आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad