सर्लाही प्रहरीले तीन दिनमा ३० बिघाभन्दा धेरै जमिनमा रोपिएको गाँजा फँडानी गरेको छ। नारायण खोलाका सयौँ किसानले लगाएको तयार हुनै लागेको गाँजा प्रहरीले फाँडेको हो।
लालबन्दी नगरपालिका–१४ नारायण खोलास्थित चुरे क्षेत्रका विभिन्न ठाउँमा गरेर ३० बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए।
प्रहरीले गएको आइतबारदेखि मंगलबारसम्म तीन दिन लगातार नारायणखोलामा गाँजा फँडानी अभियान चलाएको थियो। यो अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर ५० जनाभन्दा धेरै जना खटिएका थिए।
‘हामीले तीनदिनमा ३० बिघा जमिनको गाँजा फँडानी गरेका छौँ। यो अभियान अझै जारी छ’, एसपी सुवेदीले नेपालखबरसँग भने, ‘नारायणखोलाभन्दा पूर्वी क्षेत्र (चुरे पहाड) मा अझै गाँजा फँडानी गर्न बाँकी छ। आज पनि हाम्रो टोली त्यहाँ परिचालित हुँदै छ। केही प्रहरी हिजो त्यस क्षेत्रमा अनुगमन गर्न गएका थिए।’
एसपी सुवेदी एक साताअघि मात्रै सर्लाहीमा हाजिर भएका हुन्। सर्लाहीमा सरुवा भएर आउनासाथ उनले गाँजा खेती नष्ट गर्ने अभियानबाट आफ्नो काम सुरु गरेका छन्। सर्लाही आउनासाथ उनले सुरक्षा निकायका बैठक राखेर गाँजा खेती अभियान सुरु गर्ने निर्णय गरेका थिए।
नारायणखोलासहित सर्लाहीको पूर्वी क्षेत्रमा पर्ने चुरेका गाउँमा सयौँ बिघा जमिनमा व्यावसायिक रूपमा गाँजा खेती भइरहेको पाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अहिलेसम्म ३० बिघा जमिनको गाँजा फँडानी गरे पनि त्यसमा कति परिवार आबद्ध थिए, खुलाएको छैन। ‘यो खेती मेरो हो भनेर कोही आउँदैनन्। हामीले जहाँजहाँ भेटिन्छ, सबै गाँजाको बोट काटेर नष्ट गर्ने गरेका छौँ। यो खेती कसको हो भनेर खोजी गरेका छैनौँ।’
एसपी सुवेदीका अनुसार छोटो समयमा धेरै पैसा कमाउने उद्देश्यले नारायणखोलाका स्थानीय गाँजा खेतीमा लागेको देखिन्छ। धान, मकै, कोदो, फापरजस्ता अन्न बालीको खेती छाडेर स्थानीय व्यावसायिक रूपमा गाँजा खेतीमा लागेको दाबी प्रहरीको छ।
‘नेपालको कानुनले गाँजा खेती गर्न छुट दिएको छैन’, सुवेदीले भने, ‘गाँजा खेती नष्ट गरेपछि हामी नारायणखोलाका स्थानीयमा कानुनले बर्जित गरेको खेती नगर्न जनचेतनामूलक अभियान पनि लिएर जाने छौँ। स्थानीय तहसँगको समन्वयमा उनीहरूलाई फेरि अन्न बालीको खेतीमा प्रोत्साहन गर्ने अभियान हामी चालउने छौँ।’
नारायणखोलाका स्थानीयलाई गाँजा खेतीका लागि कसले प्रोत्साहन गरिरहेको छ, त्यसको पनि खोजी गरिने एसपी सुवदीले बताए।
‘हामीले गाँजा फँडानी गर्दा कुनै पनि स्थानीय यो मेरो खेती हो भन्न आउँदैनन्। त्यसैले यो गाँजा खेती बाहिरियाहरूले गएर गरेको पनि हुन सक्छ’, उनले भने, ‘त्यो पाटोबाट पनि हामी अनुसन्धान गर्ने छौँ।’
नारायणखोलाबाहेक सर्लाहीका अन्य ठाउँमा पनि गाँजा खेती भइरहेको सूचना आफूले पाएको एसपी सुवेदीको भनाइ छ। ‘हामीसमक्ष सूचना आएका सबै ठाउँमा हाम्रो टोली परिचालित हुनेछ’, उनले भने।
सिन्धुलीसँग सीमा जोडिएको नारायणखोला सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्र मानिन्छ। प्रहरी प्रशासनको उपस्थिति नभएको यस क्षेत्रका किसानले बर्सेनि गाँजा खेती गर्ने गरेका स्थानीय प्रशासनको दाबी छ।
अन्न बाली उत्पादन नहुने ठाउँमा समेत गाँजा खेती राम्रो हुन्छ। सिँचाइको सुविधा नभएको जमिनबाट पनि गाँजा खेतीबाट मनग्गे आम्दानी हुने भएपछि स्थानीय यसको खेतीमा लागेको पाइन्छ।
कानुनले बर्जित गरे पनि सर्लाहीसहित धेरै जिल्लाका किसानले लुकिछिपी गाँजा खेती गर्ने गरेका छन्। विभिन्न औषधीय गुण भएको गाँजालाई वैध गर्नुपर्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ।
कतिपय सांसदले संसदमै गाँजा खेतीलाई वैध बनाउनुपर्ने माग गर्ने गरेका छन्।
प्रहरीले गाँजा फँडानी अभियान चलाएपछि नारायणखोलाका किसान भने चिन्तामा छन्। गाँजा बेचेर जीविकोपार्जन गरिरहेका स्थानीयलाई अब वर्षभरि कसरी घर व्यवहार चलाउने भन्ने चिन्ता भएको हो।
प्रतिक्रिया