ad ad

मधेस


सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार ६:११, सर्लाही

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ।

हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको पीडित परिवारले जनाएको छ। 

केही वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको दुई कोठे घर निर्माण गरिदिएको थियो। दुई कोठामध्ये एउटा कोठा दाइ मोती माझी र अर्को कोठा रमेशले अंशबन्डा गरेका थिए। एउटै कोठामा रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पङ्कज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित पाँच जना बस्ने गरेका थिए। किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढ्ने ओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्याङ्ग्रिएर ज्यान गएको बताए। 

स्थानीय  मुसहरको पनि लगाउने न्यानो कपडा र ओढ्ने ओछ्याउने नहुँदा समस्या रहेको हरिपुर नगरपालिका–९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए। रमेशको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको बारे आफूलाई पनि कसैले जानकारी नगराएको वडाध्यक्ष रायले बताए। उनले चिसो प्रभावितका लागि गैरसरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .