ad ad

मधेस


मन्दिरको जग्गा कब्जा गर्न भूमाफियासँग महन्थको मिलेमताे

अवैध संरचना निर्माण भइरहँदा सम्बन्धित निकाय मौन
मन्दिरको जग्गा कब्जा गर्न भूमाफियासँग महन्थको मिलेमताे

जयन्त ठाकुर
पुस ४, २०७९ सोमबार १५:१०, जनकपुरधाम

जनकपुरधामलाई मन्दिरै मन्दिर र पोखरी नै पोखरीको शहरको रुपमा चिनिन्छ। प्राचिन मिथिलाको राजधानीमा एक एक गरी पोखरी त हराई नै रहेका छन्, यसका साथै मन्दिरका जग्गासमेत विस्तारै अतिक्रमणको चपेटमा परिरहेको छ।  

अतिक्रमित भएका मठ–मन्दिरको जग्गामा अहिले ठूला ठूला होटल, महलहरू ठड्याइएका छन्।  

राजनीति र सामाजिक पहुँचको बलमा संस्थाको नाममा मात्र नभई व्यक्तिहरुले पनि मन्दिरको जग्गा अतिक्रमण गर्दै आइरहेका छन्।

गुठीको अधिनमा रहेका यस्ता जग्गा अतिक्रमण गर्न तथा गराउन यहाँ सम्बन्धित सरोकारवालाहरु स्वयं लागिपरेको आरोप स्थानीयको छ। मन्दिरको जग्गा अतिक्रमणमा महन्थहरु स्वयं सक्रिय छन्।

यसै क्रममा जनकपुरधामको दशरथ मन्दिरको जग्गासमेत भूमाफियाहरुको आँखामा परेको छ। सो मन्दिरको जग्गामा व्यावसायिक प्रयोजनका लागि भवन निर्माण गरिएको छ। मटिहानी स्थानक अधिनस्थ रहेको सो जग्गामा महन्थ जगन्नाथ दासले व्यवसायिक प्रयोजनका लागि सटर तथा भवनहरु निर्माण गराउन लगाएका छन्।

सडक विस्तारको क्रममा सो मन्दिरको पर्खाल गतवर्ष भत्काइएको थियो। शुरुमा भत्काइएको पर्खाल निर्माण गर्न लागिएको मटिहानी स्थानका महन्थ दासले बताए पनि पछि भवन नै निर्माण गराउन शुरु गरे। दशरथ तलाउको पश्चिमी–उत्तरी डीलमा अवस्थित दशरथ मन्दिरको महन्थ मटिहानीस्थित लक्ष्मीनारायण मठका मान महन्थ जगन्नाथ दास वैष्णव नै हुन्। मन्दिर वरपर मठको थुप्रै जग्गा छ।

तीमध्ये अधिकांश जग्गा भाडा, लिज तथा अन्य नाममा बिक्री भइसकेका छन्। अचेल मन्दिर परिसरमा मन्दिरसँगै टाँसिएरै दुई भवन निर्माण हुन थालेपछि स्थानीयवासी पनि आक्रोशित भए। केही दिन काम पनि रोकियो। तर फेरि अहिले आएर सो भवन निर्माण कार्य जारी छ भने सटरमा क्लिनिक सञ्चालनमा आइसकेको छ।
 
सो सटरमा प्रादेशिक अस्पतालका चिकित्सक एवं बालरोग विशेषज्ञ डा. जामुनप्रसाद सिंहले शंकटमोचन बाल क्लिनिक सञ्चालनमा ल्याएका छन्।

‘मन्दिरको जग्गामा ती भवनहरु कसरी बने मलाई थाहा छैन’ डा. सिंहले भने, ‘मैले सम्झौता गरेर त्यहाँका केही सटरहरु क्लिनिक सञ्चालनमा ल्याएको छु।’ 

सो भवनमा कुल ८ वटा सटरहरु निर्माण गरिएका छन् जसमध्ये सिंहले क्लिनिक सञ्चालनमा ल्याउनका लागि ४ वटा सटरहरु लिएका छन्।

‘मन्दिरको सो जग्गामा भवन निर्माण गर्नका लागि रकम अपुग भएपछि मैले १५ लाख रुपैयाँ भाडामा कटौती हुने गरी धरौटी राखेँ’ सिंहले भने ‘प्रति महिना ४२ हजारको दरले भाडामा ती सटरहरु लिएको छु।’ 

उनका अनुसार त्यो भवनको माथिल्लो तल्ला धर्मशालाको रुपमा प्रयोग गरिने र तलको तल्ला आयका लागि व्यवसायिक रुपमा प्रयोग गर्ने गरी सटरहरु निर्माण गरिएको छ।  

महन्थ दासले चार महिनाअघि गुठी संस्थान जनकपुरमा निवेदन दिइ मन्दिरको आय आर्जन गर्ने उद्देश्यले मन्दिरकै लगानीमा सटर निर्माण गर्ने अनुमति माग गरेको देखिन्छ।

महन्थ दास २०२६ साल जेठ २७ गते महिटानीको लक्ष्मीनारायण मठको महन्थ नियुक्त भएका थिए। उनी महन्थ नियुक्त हुनु अगावै अघि आफ्ना गुरु कौशलकिशोर दाससँग थुप्रै बिघा जग्गा बक्स गरेको औपचारिक कागज बनाउन सफल भएका थिए।

ती जग्गाहरु स्वआर्जन भएको भन्दै बिक्री वितरण पनि गरेका थिए। तर पुनरावेदन अदालत जनकपुरका न्यायाधीश कोमलनाथ शर्मा र मिहिर कुमार ठाकुरको संयुक्त इजलासले २०६७ सालमा जगन्नाथ दासले स्वआर्जन भनिएको जग्गा मठकै रहेको फैसला सुनाएको थियो।

फैसलामा मुलुकी ऐन, गुठीको महलको १० नम्बर बमोजिम आर्जन गर्ने महन्थका शेषपछि निजका कुनै उत्तराधिकारी महन्तलाई कुनै व्यहोराले मठको जग्गा बिक्री तथा राजीनामा आदि गर्ने अधिकार नरहेको उल्लेख गरिएको छ।

यसअघि भैरहवास्थित लक्ष्मीनारायण मठको जग्गा बिक्री गरेको आरोपमा केन्द्रीय गुठी संस्थानले मानमहन्थ जगन्नाथ दासलाई निलम्बन समेत गरेको थियो। निलम्बन विरुद्ध निषेधाज्ञा मुद्दा हालेका महन्थ दासलाई अदालतले ‘कामकाज गर्न नरोक्नु’ भनेको छ।

भैरहवाको जग्गा अवैध रुपमा बिक्री गरेको खेपिरहेका महन्थ दास आइतबार बिहान सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरेको आरोपमा पक्राउ परेका छन्।

उपमहानगर र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद मौन
दशरथ मन्दिरको जग्गा अतिक्रमण गरी अवैध निर्माण भईरहँदा समेत जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद मौन देखिएका छन्।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदकै छेउमै रहेको दशरथ मन्दिर र अवैध निर्माण भई रहेको जग्गा छ। यसका साथै निर्माणाधीन सो भवनको नक्सा समेत पास नभए पनि उपमहानगर मौन हुनुले मिलमतोको गन्ध आइरहेको स्थानीयवासीको आरोप छ।

यद्यपि जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले उपमहानगरपालिका सो अतिक्रमित जग्गा खाली गराउने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘शुरुमा हामीले सडकपेटीको अतिक्रमण खाली गराएकै हो, केही दिन काम रोकेकै हो।’ 

त्यो भवनको नक्सा पास भएको छैन। त्यसैले सो अतिक्रमण हटाउन उपमहानगर गम्भीर रहेको नगरप्रमुख साहले बताए। यद्यपि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदको क्षेत्राधिकार भित्र समेत सो मन्दिर पर्ने भएकोले आफूहरुले केही गर्न नसकेको उनको भनाई छ।

यता बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले दशरथ मन्दिरको जग्गामा निर्माण भइरहेको अवैध संरचना खाली गराउने प्रकृया अगाडि बढाई सकिएको दाबी गरे। 

उनले भने, ‘मन्दिरको जग्गामा निर्माणाधीन सो अवैध संरचना हटाउन हामी लागि परेका छौँ, केही दिन देर–सबेर होला तर ढुक्क हुनुस् त्यो खाली हुन्छ।’

उनले यसका लागि गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवालासँग समन्वय भइरहेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .