ad ad

मधेस


दाइजो मागेको आरोपमा गिरफ्तार डाक्टर भन्छन् : तनाव धेरै भयो, सम्बन्ध विच्छेद गर्छु

दाइजो मागेको आरोपमा गिरफ्तार डाक्टर भन्छन् : तनाव धेरै भयो, सम्बन्ध विच्छेद गर्छु

फोटो : नेहा चाैधरीकाे फेसबुकबाट ।


जयन्त ठाकुर
मंसिर २८, २०७९ बुधबार १४:३३, जनकपुरधाम

२०७८ फागुन २५ गते महोत्तरीको औरही नगरपालिका वडा नम्बर–१ बस्ने नेहा चौधरीको विवाह सोही नगरपालिकाको वडा नम्बर–५ रामगोपालपुर बस्ने डा. पंकज चौधरीसँग भयो। 

नेहा र पंकज पहिलेदेखि नै प्रेम सम्बन्धमा थिए। २०७७ फागुन ६ गते पारिवारिक सहमतिमै इंगेजमेन्ट गरेको उनीहरुले जनकपुरधामको राजदरबार होटलमा धुमधामका साथ विवाह गरे।

काठमाडौंमा अध्ययनरत रहेकै बेला नेहा र पंकजबीच प्रेम भएको थियो। 

पंकज एमडी सकाएर विवाह गर्ने योजनामा रहेपनि नेहाकै दवाबमा एमडी नसकाउँदै विवाह गर्ने निर्णयमा पुगे। २०७८ फागुन २५ गते सामाजिक रितिरिवाजअनुसार विवाह गरेका उनीहरुबीच विवाह भएको महिना दिन नबित्द सम्बन्ध चिसिन थाल्यो।

गत महिना मात्रै नेहाले पंकजले आफूमाथि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइन्। दाइजोका लागि पंकजले पटक पटक आफूलाई कुटपिट गरेको नेहाको आरोप छ। उनकै जाहेरीका आधारमा पंकजलाई प्रहरीले ३ दिन थुनामा समेत राखेको थियो। पछि दुवै पक्षको छलफलपछि उनलाई छोडिएको थियो। 

नेहाले आफूलाई पटक–पटक शारीरिक तथा मानसिक यातना दिएको भन्दै चिकित्सकसमेत रहेका आफ्ना श्रीमान् पंकजविरुद्ध जिल्ला अदालत महोत्तरीमा घरेलु हिंसा र दाइजो सम्बन्धी मुद्दा दायर गरेकी छन्। 

ग्राण्डी अस्पतालमा जनरल फिजिसियनका रुपमा कार्यरत पंकजको यो घटना बाहिरिएसँगै अस्पतालले उनलाई बर्खास्तसमेत गरि सकेको छ। 

यता नेहाले लगाएको यो सबै आरोप निराधार रहेको पंकजको दाबी छ। नेहाले श्रीमान पंकजले आफूलाई पटक पटक मानसिक तथा शारीरिक रुपमा यातना दिएको आरोप लगाइरहेको समयमा पंकजले उल्टै नेहाले नै आफूलाई मानसिक यातना दिँदै आएको आरोप लगाएका छन्।

पंकजले बिहे भएको केही दिन नबित्दै नेहा सानोतिनो विषयमा पनि आफूसँग झगडा गर्दै आएको बताए। 

उनले भने, ‘नेहा सानो सानो विषयमा पनि मसँग झगडा गर्थिन्, म सम्बन्ध बचाउनका लागि पटक पटक मनाउने प्रयास गर्थें। मैले नेहामाथि कहिल्यै हातपात गरेको छैन। बरु पटक पटक उनलाई बचाउने प्रयास गरेको छु।’

पंकजका अनुसार नेहाले पटक पटक आत्महत्याको प्रयास समेत गरेकी छन्।

विवाहमा नेहाका बुवा सुरेश चौधरीले दाइजाेस्वरुप ५१ लाख रुपैयाँ दिएको नेहाले बताउँदै आएकी छन्। थप दाइजाे मागेर आफूलाई शारीरिक मानसिक यातना दिएको उनको आरोप छ। तर, पंकज त्यो आरोप मान्न तयार छैनन्। 

बुवा रामप्रवेश चौधरीले आफ्नो विवाहका लागि नेहाको परिवार समक्ष आफूलाई डाक्टरी पढाउन लागेको सबै खर्च व्यहोर्नुपर्ने सर्त राखेको कुरा विल्कुलै गलत रहेको उनले बताए। र, नेहाका बुवा सुरेश चौधरीले आफ्नो परिवारलाई ५१ लाख रुपैयाँ दिएको कुरा पनि झुटो रहेको पंकजको दाबी छ। 

नेहासँग प्रेम सम्बन्धमा रहेपनि उसको यही सानोतिनो विषयमा झगडा गर्ने बानीका कारण विवाह गर्ने पक्षमा आफू नरहेको बताउँदै पंकजले नेहाको घरपरिवारको दबाबकाबीच विवाह गर्नु परेको सुनाए।

उनले भने, ‘विवाहभन्दा पहिले मलाई जे डर थियो त्यही भयो। अब म सम्बन्ध बचाउन सक्दिन। त्यसैले सम्बन्ध बिच्छेदको मनस्थितिमा पुगेको छु।’

पंकजले नेहाले बाहिर भनेको, फेसबुकमा लेखे अनुसार कुनै घटना नै नभएको दाबी गरेका छन्।

पंकज फेरि पक्राउ
दाइजो विरुद्धको कसुरमा डा. पंकज चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको छ। महोत्तरीको रामगोपालपुर ५ का ३५ वर्षीय पंकजलाई प्रहरीले पक्राउ गरेको हो।

श्रीमती नेहाले दिएको दाइजोसम्बन्धी जाहेरीको आधारमा पंकजलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए। दाइजोविरुद्धको कसुरमा कारबाही गर्न पंकजमाथि अनुसन्धान गरिरहेको डीएसपी पोखरेलले बताए।

उनलाई जिल्ला प्रहरी कार्यालय जलेश्वरको हिरासतमा राखिएको छ। 

विवाहमा नेहाको माइती पक्षले नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ खर्च गरेका थिए। पंकजले दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूमाथि कुटपिट तथा यातना दिँदै आएको नेहाको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .