ad ad

मधेस


प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जना नेता-कार्यकर्ताले एमाले छाडे

प्रदेश कमिटी सदस्यसहित बाराका ७६ जना नेता-कार्यकर्ताले एमाले छाडे

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार २०:४१, सर्लाही

बारा जिल्लामा कार्यरत नेकपा एमालेका ७६ जना नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन्। 

चारजना मधेश प्रदेश कमिटी सदस्यसहित ७६ जना एमाले नेता-कार्यकर्ताले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। त्यसरी पार्टी परित्याग गर्नेमा धेरैजसो बारा क्षेत्र नम्बर ३ का नेता कार्यकर्ता छन्।

पार्टी परित्याग गर्नेमा प्रदेश कमिटी सदस्यहरु काजी मोक्तान, उमेश कुशवाहा, कलामुद्दिन अन्सारी र प्रदीप साहसमेत छन्। उनीहरुसहित जिल्ला कमिटी सदस्य, पूर्व जिल्ला कमिटी सदस्य, नगर कमिटी र गाउँ कमिटी सदस्यसहित ७६ जना नेता कार्यकर्ताले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। 

७६ जना नेता कार्यकर्ताको हस्ताक्षरसहित जारी विज्ञप्तिमा पार्टीभित्र व्यक्तिवादी नियन्त्रण कायम भएको, विचार दर्शनबाट पार्टी स्खलित हुँदै गएको, इमानदार पार्टी सदस्य, मजदुर किसानको विश्वास पार्टीप्रति हराउँदै गएको जस्ता आरोप लगाइएको छ। 

पार्टीमा ४० औँ वर्षदेखि कार्यरत नेतालाई टिकट नदिएर बाहिरबाट आएका टुरिष्ट उम्मेदवारलाई टिकट दिइएकोले पार्टी परित्याग गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ। 

पार्टी परित्याग गरेका एमाले नेता कार्यकर्ताले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने उद्घोषसमेत गरेका छन्। 

एमालेले टिकट नदिएपछि बारा ३ मा एमाले नेता कलामुद्दिन अन्सारीले स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्। त्यसैगरी बारा ३ (क)मा एमालेका पुराना नेता नारायण क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

अन्सारी र क्षेत्रीले एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। एमाले परित्याग गरेको विज्ञप्ति जारी गर्नेमा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिने कलामुद्दिम अन्सारी पनि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .