ad ad

मधेस


हरिवन खानेपानीमा झण्डै ४० लाख अनियमितता

हरिवन खानेपानीमा झण्डै ४० लाख अनियमितता

नेपालखबर
असोज १०, २०७९ सोमबार १२:१३, काठमाडौँ

सर्लाहीको हरिवन–८ मा अवस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ३९ लाख ६४ हजार रुपैयाँभन्दा धेरै आर्थिक अनियमितता भएको छानबिनको क्रममा देखिएको छ। 

हरिवन नगरपालिका–८ का वडाध्यक्ष प्रज्वल ढुंगानाको संयोजकत्वमा गठित समितिले डेढ महिना लगाएर गरेको अध्ययनको क्रममा समितिको कोषबाट ३९ लाख ६८ हजार ४६५ रुपैयाँ आर्थिक अनियमितता भएको खुलेको हो।

समितिले हरिवन नगरपालिकाको वडा नम्बर ८ र ११ मा खानेपानी वितरण गर्दै आएको छ। 

गएको साउन २५ गते भएको उपभोक्ता भेलामा सहभागीले समितिमा व्यापक आर्थिक अनियमितता भएको भनेर चर्को विरोध गरेपछि वडाध्यक्ष ढुंगानाको नेतृत्वमा ११ सदस्यीय सर्वदलिय तथा सर्वपक्षिय छानविन समिति गठन गरिएको थियो। 

आर्थिक वर्ष ०७५÷०७६ देखि चालु आर्थिक वर्षको अहिलेसम्म संस्थाको आय व्ययको विवरण, सम्पूर्ण श्रेस्ता र जिन्सी सामानहरुकोसमेत अभिलेख हेरेपछि समितिले प्रतिवेदन तयार पारेको हो।

संस्थालाई सरकारीसहित विभिन्न निकायबाट प्राप्त अनुदान र खानेपानीको महशुलबापत उपभोक्ताबाट संकलित रकममध्येबाट ३९ लाख ६८ हजार ४६५ रुपैयाँ आर्थिक अनियमितता भएको छानविनका क्रममा खुलेको प्रतिवेदनमा उल्लेख छ।
 
आइतबार संस्थाको प्रांगणमा आयोजित उपभोक्ता भेलामा छानविन समितिका संयोजक प्रज्वल ढुंगानाले हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी र उपमेयर हरिमाया घलानलाई छानविनको प्रतिवेदन हस्तान्तरण गरेका छन्। 

खानेपानी समितिको अध्यक्ष यज्ञविनोद ढुंगेल छन्। ढुंगेल निवर्तमान वडाध्यक्षसमेत हुन्। अध्यक्ष ढुंगेल र कोषाध्यक्ष संजिता घिमिरलेले विभिन्न व्यक्ति र संस्थालाई बिना विल भर्पाइ विभिन्न मितिमा रकम भुक्तानी गर्दा आर्थिक अनियमितता भएको निष्कर्ष छानविन समितिले निकालेको हो।

स्वयं अध्यक्ष ढुंगेल र कोषाध्यक्ष उप्रेतीको नाममा पनि बिना बिल भर्पाइ लाखौँ रकम निकासा भएको छानबिनका क्रममा देखिएको छ।

अध्यक्ष ढुंगेलको नाममा एकपटक एक लाख २० हजार र अर्कोपटक २१ हजार रुपैयाँ भुक्तानी भएको देखिन्छ। त्यसैगरी कोषाध्यक्ष उप्रेतीले पनि समितिबाट विभिन्न मितिमा गरेर ४ लाख ६३ हजार ५ सय रुपैयाँ भुक्तानी लिएकी छन्। 

अध्यक्ष ढुंगेल र कोषाध्यक्ष उप्रेतीको नाममा भुक्तानी भएको रकमकोसमेत सम्पूर्ण बिल भर्पाइ फेला पार्न नसकिएको संयोजक ढुंगानाले जानकारी दिए। 

त्यसैगरी समितिकी पूर्व कर्मचारी देवी भट्टराईले अझैसम्म एक लाख ९४ हजार ३८८ रुपैयाँ बैँक दाखिला नगरी आफैँसँग राखेको छानबिनमा देखिएको छ।

त्यस्तै इन्धन खर्चबापत २ लाख ४८ हजार १८३ रुपैयाँ खर्च भएको देखाइए पनि त्यसको पनि कुनै बिल भौचर फेला पार्न नसकिएको समितिले जनाएको छ।

‘समितिले आवश्यक सामान खरिद गरेको भने पनि त्यसको कुनै विल भर्पाइ नभएकाले निकासा भएको करम के काममा कति खर्च भयो, त्यो यकिन गर्न सकिएन,’ संयोजक ढुंगानाले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘श्रेस्ता हेर्दा जिन्सी सामग्रीहरु खरिद गरेको देखिए पनि त्यसको अभिलेख देखिँदैन। भुक्तानी दिँदा कुनै बिल भर्पाइ पनि राखेको पाइएन।’

समितिको रेकर्डमा १ हजार ६ सय ३९ जनाले धारा जडान गरेका छन्। त्यसमध्ये १ एक हजार ५ सय जनाको मात्रै रकम समितिमा जम्मा भएको देखिन्छ। 

एउटा धारा जडान गरेबापत समितिले उपभोक्तासँग ३ हजार ५ सय रुपैयाँ असुल्दै आएको छ। १३९ जना उपभोक्ताले धारा जडान गरेवापत बुझाएको रकमको पनि हरहिसाव नभेटिएको संयोजक ढुंगानाले जानकारी दिए। १३९ वटा धारा जडानबापतको चार लाख ९३ हजार ४५० रुपैयाँको पनि हरहिसाव फेला नपरेको छानविनमा देखिएको छ।

छानविन समितिको प्रतिवेदन बुझ्दै मेयर बुढाथोकीले अब छानविन समितिले औँल्याएका  व्यक्तिहरुलाई पत्र काटेर बोलाइने बताए। 

‘यसमा हामी थप छानबिन गर्ने छौँ। खर्च भएको रकमको बिल भर्पाइसहित विश्वसनीय आधार नदेखाए उनीहरुमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढ्छ,’ बुढाथोकीले भने, ‘रकम हिनामिना भएको रहेछ भने उनीहरुबाट जसरी पनि त्यो रकम असुल उपर गरिने छ।’

समितिका पूर्व अध्यक्षसमेत रहेका निवर्तमान प्रदेश सांसद डिल्ली उप्रेतीले पनि खानेपानीको रकम हिनामिना गर्ने कसैलाई पनि नछाडिने बताए। 

ढुंगेल नेतृत्वको समितिको यस अघि नै म्याद सकिए पनि अर्को समिति बन्न सकेको छैन। समितिमा व्यापक आर्थिक अनियमितता भएको पाइएपछि अर्को समिति बन्न नसकेको हो। 

छानबिन समितिले अनियमितताको विवरणसहित प्रतिवेदन बुझाएकाले अबको केही दिनमै नयाँ समिति गठन गर्ने गृहकार्य समितिले सुरु भएको छ। 

आइतबारको उपभोक्ता भेलाले नयाँ कार्यसमिति चयनको लागि कांग्रेसका डाकुरनाथ खतिवडा, एमालेका हरिवन नगर कमिटी अध्यक्ष सीताराम पोखरेल, माओवादी केन्द्रका इन्द्र पाठक र नेकपा एकीकृत समाजवादीका भरत कार्की रहेको संयोजन समिति गठन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .