महोत्तरीको गौशाला नगरपालिका–१२ का महेन्द्रलाल लामाले गौशाला प्राविधिक शिक्षालयलाई अढाई करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने १२ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन्।
नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका ८४ वर्षीय लामाले गौशाला १२ लक्ष्मिनियामा कठ्ठाकै २० लाख रुपैयाँभन्दा धेरै मूल्य पर्ने १२ कठ्ठा जग्गा दान गरेका हुन्।
लामाले दिएको जग्गामा गौशाला नगरपालिकाले ३ करोड ८७ लाख ९० हजार रुपैयाँ लागतमा चारतले भवन बनाइरहेको छ। भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
आफ्नै भवन नहुँदा शिक्षालयका विद्यार्थी हाल गौशाला–१२ कान्तिबजारस्थित राष्ट्रिय जनता माविको भवनमा अध्ययन गरिरहेका छन्।
‘आफ्नै भवन नहुँदा डिप्लोमा तहमा आयुर्वेदिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई पठनपाठनमा समस्या छ’, शिक्षालयका प्रधानाध्यापक इन्दल महतोले नेपालखबरसँग भने, ‘आगामी पुससम्ममा भवन निर्माण कार्य पूरा हुन्छ। त्यसपछि विद्यार्थीले शिक्षालयको आफ्नै सुविधासम्पन्न भवनमा पढ्न पाउने छन्।’
तीन वर्षदेखि सञ्चालित शिक्षालयमा पहिलो र दोस्रो वर्षमा क्रमशः २६ र ३० जना विद्यार्थी अध्ययन गरिरहेका छन्। यस वर्ष नयाँ भर्नाका लागि सीटीईभीटीले सञ्चालन गरेको प्रवेश परीक्षामा ६० जना विद्यार्थी सहभागी भएका छन्। त्यसको नतिजा आउन बाँकी छ।
त्यसमध्ये ४० जनाले मात्रै आयुर्वेदिक शिक्षा अध्ययनका लागि भर्ना हुन पाउने प्रधानाध्यापक महतोले जानकारी दिए।
शिक्षालयमा अछाम, मकवानपुर सिरहा, सप्तरी, सुनसरीसहित देशका १३ जिल्लाका विद्यार्थी पढिरहेका छन्।
आयुर्वेदिक शिक्षालय नजिकै आयुर्वेदिक अस्पताल भवन पनि निर्माण भइरहेको छ। आयुर्वेदिक शिक्षालयमा अध्ययन गर्ने विद्यार्थीले अस्पतालमा प्रयोगात्मक अभ्यास गर्नेछन्।
वामपन्थी नेता लामाले आयुर्वेदिक शिक्षालयलाई १० र आयुर्वेदिक अस्पताल भवन निर्माणको लागि दुई कठ्ठा जग्गा निःशुल्क दिएका हुन्। अस्पताल भवनसँगै उनले गुम्बाका लागि पनि २ कठ्ठा जग्गा दान गरेका छन्। गुम्बामा भवन निर्माण जारी छ।
‘गाउँमा मेरो उमेरका सबैको मृत्यु भइसक्यो। अब कति नै बाँचिएला र’, लामाले भने, ‘बाँचुन्जेल यो समाजका लागि केही गरौँ भन्ने लागेर क्याम्पस र अस्पताल भवन निर्माणको लागि जग्गा दान गरेको हुँ।’
उनले लक्ष्मिनियाँमा आयुर्वेदिक शिक्षालय स्थापना हुनुमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ठूलो हात रहेको बताए।
‘गिरीजीको आयुर्वेदिक चिकित्सातिर अलि बढी नै लगाव छ। उहाँ नभएको भए यो शिक्षालय बन्ने थिएन’, उनले भने, ‘महोत्तरीको विकासमा गिरीजीको ठूलो योगदान छ। त्यैमध्येको एउटा यो शिक्षालय पनि हो।’
निर्मल लामा, जय गोविन्द साहजस्ता वामपन्थी नेताको प्रभावबाट राजनीतिमा लागेको बताउने लामा अहिले राजनीतिक व्यवस्था फेरिए पनि श्रमजीवि गरिब जनताको आर्थिक अवस्थामा सुधार आउन नसकेको बताउँछन्।
‘उमेरमा हामीले धेरै वर्ग संघर्ष गर्यौं,’ अहिले आफूलाई कम्युनिस्ट भन्ने नेताहरू पनि वर्ग संघर्षको कुरा गर्दैनन्, वर्ग समन्वयको कुरा गर्छन्। वर्ग समन्वयले धनी र गरिबको खाडल अझ बढाउँछ।’
एक बिघा जग्गा किनेर सुकुमवासीको बस्ती बसाए
लामाले २०४४ सालमा गौशाला नगरपालिका १२ लक्ष्मिनियाँमा आफैँले एक बिघा जग्गा किनेर गरिब सुकुम्बासीको बस्ती बसाएका थिए। जहाँ अहिले चमार, मुसहर, विश्वकर्मा, तामाङसहित २० भन्दा धेरै गरिब सुकुमवासी परिवारले बसोबास गरिरहेका छन्। उनीहरू सबैलाई लामाले १० धुरदेखि एक डेढ–कठ्ठासम्म जग्गा पास गरेर दिएका छन्।
‘त्यतिबेला यहाँ घर हुने कसैको पनि नागरिकता थिएन’, लामाले भने, ‘उनीहरूलाई नागरिकता बनाउनदेखि घर बनाएर बसोबास गर्न पनि मैले नै सहयोग गरेको हो।’
तत्कालीन जनमोर्चा, नेपालको महोत्तरी जिल्ला अध्यक्ष भएर लामो समय काम गरेका लामा पञ्चायती व्यवस्थामा भूमिगत र अर्धभूमिगत भएर पार्टीमा क्रियाशील भए। जनयुद्धको बेला पक्राउ परे। ०३६ देखि ०४६ सम्म उनले अर्ध भूमिगत र भूमिगत जीवन बिताए।
उनी अहिले पनि राजनीतिमा सक्रिय छन्। ‘माओवादी केन्द्रको आठौँ महाधिवेशनमा महोत्तरीबाट प्रतिनिधि भएर काठमाडौं गएको थिएँ’, गएको पुसमा भएको माओवादीको महाधिवेशन सम्झँदै उनले भने, ‘त्यतिबेला प्रचण्ड, नारायणकाजीसहितका धेरै नेतासँग भेटघाट र छलफल भयो।’
२०१३ सालमा कक्षा १० मा पढ्दै गर्दा उनले ‘यो बुर्जुवा शिक्षा पढेर केही हुँदैन’ भनेर पढाइ छाडे।
‘त्यतिबेला नेताहरू यस्तो बुर्जुवा शिक्षा पनि कसैले पढ्छ भन्थे। उहाँहरूकै लहैलहैमा लागेर मैले पनि पढाई छाडिदिएँ। एसएलसी दिनै गइँन’, लामाले भने, ‘राजतन्त्रको अन्त्य गर्ने भनेर कम्युनिस्ट आन्दोलनमा लागियो। निर्मल लामा, जयगोविन्द साह जस्ता तत्कालीन कम्युनिस्ट नेतासँग मैले धेरै संगत गरेँ। तर, अहिले उहाँहरू जस्ता नेता पाउन मुस्किल छ।’
बुवाकै प्रेरणाले उनकी छोरी लक्ष्मी लामा अहिले राजनीतिमा सक्रिय छन्। मनाङमा बसिरहेकी उनी अहिले माओवादी केन्द्रको केन्द्रीय सदस्य छन्।
‘हाम्रो बुवा कम्युनिस्ट विचारलाई व्यवहारमै उतार्नुपर्छ भन्ने मान्छे हो’, उनले भनिन्, ‘बुवाले हामी दुई बहिनी छोरीलाई छोरा सहर नै अंश दिनुभएको छ। उहाँले आफूलाई राख्नुभएको केही जमिन संघ÷संस्थालाई दान दिँदै आउनुभएको छ।’
Shares
प्रतिक्रिया