मधेस


निजी विद्यालय छाड्दै, सरकारीमा भर्ना हुँदै

निजी विद्यालय छाड्दै, सरकारीमा भर्ना हुँदै

जनार्दन पोखरेल
साउन ९, २०७९ सोमबार ८:३२, सर्लाही

सर्लाहीको हरिवन–८ मा अवस्थित महादेव जनता मावि (मजमावि) मा सात वर्षअघिसम्म विद्यार्थी संख्या केवल ७ सयको हाराहारीमा थियो।

विद्यालयसँग करेसा जोडिएका अभिभावक पनि आफ्ना बालबालिकालाई डोर्याउँदै घरदेखि टाढा रहेका बोर्डिङ स्कूल पुर्‍याउँथे। 

शुल्क महंगो भए पनि मजमावि आसपासका बोर्डिङ स्कुलमा भने विद्यार्थीको चाप थामिनसक्नु थियो।

निःशुल्क पढ्न पाइने सामुदायिक विद्यालयमा भने वर्षेनी विद्यार्थी संख्या घट्दै थियो। अधिकांश स्थानीय सामुदायिक विद्यालयमा फर्केर पनि हेर्दैनथे।

विद्यालयमा विद्यार्थी संख्या सन्तोषजनक नभएपछि शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी घोत्लिन थाले।

विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण कसरी बढाउन सकिन्छ? भनेर विभिन्न उपायको खोजी सुरु भयो। शिक्षकहरुले देशका विभिन्न ठाउँमा रहेका राम्रा सामुदायिक विद्यालयहरूको अवलोकन, भ्रमण गरे। पहिलो उपायको रुपमा विद्यालय व्यवस्थापन समितिले वरपरका बोर्डिङ स्कुलमा जस्तै मजमाविमा पनि अंग्रेजी माध्यममा पठन–पाठन सुरु गर्ने निर्णय गर्‍यो। 

०७२ देखि विद्यालयले प्राथमिक तहमा अंग्रेजी माध्यमबाट पढाई सुरु गर्‍यो। अंग्रेजी माध्यममा पढाई सुरु भएपछि बिस्तारै विद्यालयमा विद्यार्थी संख्या बढ्न थाल्यो। शिक्षकहरुले पनि त्यही अनुसार मेहनत गर्दै गए। प्रधानाध्यापकले आफ्नो भूमिका बढाउँदै लगे।

अहिले विद्यालयको अवस्था फेरिएको छ। विद्यालयमा विद्यार्थी संख्या बढेर अहिले १९ सय नाघेको छ।

कक्षा कोठामा विद्यार्थी संख्या थामिनसक्नु भएपछि कक्षा ९ र १० मा पाँच–पाँच वटा सेक्सनमा पढाइ हुन्छ।

भवन अभावको कारण कतिपय कक्षामा सेक्सनसमेत छुट्याउन नसकिएको प्रधानाध्यापक जय शंकर सिंहले बताए।

विद्यार्थी संख्या र पठन–पाठन राम्रो भएको भन्दै शिक्षा मन्त्रालयले ०७४ मा मजमाविलाई नमूना विद्यालयमा छनोट गर्यो।

सरकारले विद्यालयमा आवश्यक भौतिक संरचना निर्माणको लागि बजेट पठाउन थाल्यो। विद्यालयमा आकर्षक खालका ठूला–ठूला भवनहरु बने।

विद्यालयमा अभिभावकको आकर्षण बढ्दै गयो। अहिले बोर्डिङ स्कूल छाडेर मजमाविमा भर्ना हुन विद्यार्थीको लर्को लाग्न थालेको छ।

‘यही भौतिक संरचनामा अब हामी यो भन्दा बढी विद्यार्थी पढाउन नसक्ने अवस्थामा पुगेका छौँ,’ प्रअ सिंहले नेपालखबरसँग भने, ‘अहिले विद्यालयमा कक्षा कोठाको अभाव छ। यस वर्ष भर्नाको लागि आएका चारसय भन्दा धेरै विद्यार्थीलाई हामीले फिर्ता गर्नुपर्‍यो। योभन्दा बढी विद्यार्थी अब विद्यालयले धान्नै नसक्ने अवस्था सिर्जना भएको छ।’

विद्यालयमा अहिले कक्षा १ देखि ५ सम्म अनिवार्य अंग्रेजी माध्यममा पढाइ हुन्छ। कक्षा ६ देखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पठन–पाठन हुन्छ। गत वर्षदेखि कक्षा ११ र १२ विज्ञान संकायकोसमेत पढाइ सुरु भएको छ।

तीन वर्षअघि देखि नै विद्यालयमा प्राविधिक धारअन्तर्गतको बाली विज्ञान (प्लान्ट साइन्स) को पढाइ भइरहेको छ। अहिले बाली विज्ञानतर्फ कक्षा ९ देखि १२ सम्म १५० विद्यार्थी अध्ययनरत छन्।

गत वर्ष उनीहरुले विद्यालयको जमिनमा च्याउ, साग र आलु खेती गरेका थिए। अहिले करिब पाँच कठ्ठा जमिनमा धान खेती गरेका छन्। दुई  विघा जमिनमा कागती रोप्ने तयारी हुँदै छ। 

जिल्लामै अब्बल बन्दै मजमावि​​

महादेव जनता नमूना मावि यतिबेला सर्लाही जिल्लामै अब्बल सामुदायिक विद्यालयको रुपमा स्थापित हुँदै गएको छ।

यतिबेला सर्लाहीको लालबन्दीमा रहेको जनज्योति माविपछि विद्यार्थी संख्या धेरै भएको विद्यालयमा मजमाविको नाम आउँछ।

सर्लाही जिल्लामै सबैभन्दा धेरै विद्यार्थी संख्या भएको जनज्योतिमा हाल ३१ सय ३९ जना विद्यार्थी अध्ययन गरिरहेका छन्। 

अंग्रेजी माध्यमको पढाइ, नमूना विद्यालयमा छनोट र शिक्षकबीचको ‘टीमवर्क’को कारण मजमाविमा विद्यार्थी संख्या वर्षेनी बढ्दै गएको विद्यालयका सहायक प्रधानाध्यापक गिरीराज रानाले बताए। 

‘हाल विद्यालयमा विद्यार्थी संख्याको आधारमा कक्षाकोठा र शिक्षक दरबन्दीको अभाव छ,’ शिक्षक रानाले भने, ‘कक्षा कोठाको अभाव हुँदा जस्ताले छाएको पुरानो  र जीर्ण टहरामा समेत विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ। सेक्सन थप गर्न पाइएको छैन।’

विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी नहुँदा विद्यालयले निजी स्रोतका शिक्षकबाट कक्षा सञ्चालन गरिरहेको छ।

विद्यालयमा हाल निजी स्रोतका १४ जना शिक्षक कार्यरत छन्। ‘हाल विद्यालयमा शिक्षक र कर्मचारी गरेर ५५ जना छन्,’ प्रअ सिंहले भने, ‘त्यसमा दरबन्दीका शिक्षक १७ जना मात्रै हुन्। १९ जना शिक्षक कर्मचारीलाई हामीले निजी स्रोतबाट पारिश्रमिक दिने गरेका छौँ।’

विद्यालयमा कार्यालयसहित ३४ वटा कक्षा कोठा सञ्चालनमा छ। कक्षा कोठाको अभाव हुँदा कक्षा ११ र १२ का विद्यार्थीलाई एउटै सिफ्टमा पढाउन नसकिएको प्रअ सिंहले बताए।

पढाइको गुणस्तर सुधार गर्न विद्यालयले कक्षा ६ देखिका विद्यार्थीको लागि अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ। विशेषगरी अंग्रेजी माध्यममा अध्ययनरत करिब सात सय विद्यार्थीले अतिरिक्त कक्षा लिने गरेका छन्।

त्यसबापत अंग्रेजी माध्यममा अध्ययनरत करिब पाँच सय विद्यार्थीले मासिक एक हजार रुपैयाँ अभिभावक सहयोग शुल्क बुझाउँछन्। त्यो शुल्क निजी स्रोतका शिक्षक–कर्मचारीको पारिश्रमिकमा खर्च हुने गरेको छ। 

अपुग रकम नमूना विद्यालयको शैक्षिक सुधार कोषबाट पनि खर्च गर्ने गरिएको छ। त्यसबाहेक विद्यालयको आफ्नै करिब १० बिघा जग्गा छ। त्यसको आम्दानी पनि निजी स्रोतका शिक्षक, कर्मचारीको पारिश्रमिकमा खर्च हुने गरेको सहायक प्रअ रानाले बताए।

‘हाम्रो उद्देश्य विद्यार्थीसँग शुल्क लिने होइन,’ नेपालखबरसँग उनले भने, ‘तर विद्यार्थी संख्याको आधारमा सरकारले शिक्षक दरबन्दीको व्यवस्था नगर्दा बिहानको अतिरिक्त कक्षा सञ्चालनको लागि केही रकम विद्यार्थीका अभिभावक सँग उठाउनुपर्ने बाध्यता छ।’

निजी स्रोतका शिक्षक कर्मचारीको लागि वार्षिक ६० देखि ६५ लाख रुपैयाँसम्म खर्च हुने गरेको प्रअ सिंहले जानकारी दिए।

दक्षिणी क्षेत्रका विद्यार्थीको आकर्षण
तराई मधेसका अधिकांश सामुदायिक विद्यालयमा अझै पनि राम्रो पढाइ हुँदैन।

शिक्षकहरु नियमित विद्यालयमा नजाने, गए पनि समयसम्म नबस्ने, विद्यार्थीको पढाइमा ध्यान नदिने समस्या छ। जसको कारण सामुदायिक विद्यालयप्रति शिक्षक र विद्यार्थीको आकर्षण छैन।

कतिपय सामुदायिक विद्यालय आवश्यक विद्यार्थी संख्या नहुँदा बन्द हुने अवस्थामा पुगेका छन्।

तर, सामुदायिक विद्यालय भएर पनि मजमावि भने सर्लाही जिल्लामै अब्बल विद्यालयको रुपमा स्थापित हुँदैछ।

हरिवन नगरपालिका बाहेक सर्लाहीको दक्षिणी क्षेत्रका ९ वटा स्थानीय तहका विद्यार्थी यतिबेला हरिवनमा डेरामा बसेर मजमाविमा पढिरहेका छन्। जिल्ला सदरमुकाम मलंगवा, सलेमपुर, चक्र घट्ट, बसबरिया, गोडैता, हरिपुरसहित महोत्तरी, सिन्धुली र रौतहट जिल्लाका विद्यार्थीसमेत अध्ययनको लागि मजमाविमा भर्ना भएका छन्।

‘तीन सय भन्दा धेरै अभिभावक मजमाविमा आफ्ना बालबालिकालाई पढाउनका लागि हरिवनमा डेरा लिएर बस्नु भएको छ,’ प्रअ सिंहले भने, ‘यसले पनि मजमाविप्रति विद्यार्थीको आकर्षण बढिरहेको पुष्टि हुन्छ।’

यस वर्ष कक्षा १ देखि ५ सम्मका कक्षामा करिब चार सय नयाँ विद्यार्थी थपिएका छन्। ‘वरपरका बोर्डिङ स्कुल छाडेर यस वर्ष महादेवमा भर्ना हुन चाहने धेरै विद्यार्थीलाई हामीले भर्ना गर्न सकेनौँ,’ प्रअ सिंहले भने, ‘यता भर्ना नपाएका विद्यार्थी यस वर्ष बोर्डिङमै ‘होल्ड’ भएका छन्।’

शिक्षक राना मजमाविमा विद्यार्थी संख्या बढ्नुमा पढाइको गुणस्तर सुधारसँगै कोभिड संकटलाई पनि कारण मान्छन्। ‘कोभिडको बेला धेरै अभिभावकले रोजीरोटी गुमाए।

बोर्डिङ स्कूलमा महंगो शुल्क तिरेर पढाउन सक्ने अवस्था नभएका धेरै अभिभावकले आफ्ना बालबालिकालाई मजमाविमा भर्ना गरे। यसले पनि विद्यालयमा विद्यार्थीको चाप बढ्यो,’ उनले भने।

शैक्षिक गुणस्तरको लागि विभिन्न प्रयास
शैक्षिक गुणस्तर राम्रो बनाउन विद्यालयमा तहगत इन्चार्ज तोकिएको छ। तहगत अफिस सञ्चालनमा छन्।

शिक्षकहरुलाई पढाइको लागि आवश्यक शैक्षिक सामग्री र उपकरणहरुको प्रवन्ध गरिएको छ। अडियो, भिडियो, प्रोजेक्टरको माध्यमबाट पनि पढाई सञ्चालन गर्ने व्यवस्था मिलाइएको शिक्षक रानाले जानकारी दिए।

पढाइको सुधारको लागि विद्यार्थीले ‘होमवर्क’ डायरी र ‘लगबुक’ को प्रयोग गर्छन्। यसबाट कुन शिक्षकले कक्षा कोठामा गएर कति दिन र कति घण्टा पढाए त्यसको रेकर्ड विद्यार्थीले नै राख्न सक्छन्।

विद्यालयमा बिहानको प्रार्थना सभामा शारीरिक अभ्यास (पिटी) गर्ने गरिएको छ। विद्यालय हाताभित्रै शिक्षक–विद्यार्थीलाई खाजाको लागि क्यान्टिन सञ्चालनमा छ। विद्यार्थीले विद्यालय हाताभित्रै शुद्धीकरण गरिएको स्वच्छ पानी पिउन पाउँछन्। 

विद्यालयले प्रत्येक शुक्रबार कुनै न कुनै तहगत अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरेको छ। त्यसले विद्यार्थीको अतिरिक्त क्षमता वृद्धिमा सहयोग पुगेको शिक्षक रानाले बताए।

विद्यालयमा लाइब्रेरी र इ–लाइब्रेरी सञ्चालनमा छ। ‘लाइब्रेरी’लाई अझ व्यवस्थित गर्ने प्रयास हुँदैछ,’ उनले भने। 

विद्यालयका प्रत्येक कक्षा कोठामा ‘ग्रिनबोर्ड’ छ। ४० वटा कम्युटर सहितको ‘कम्युटर ल्याब’ र छुट्टै ‘साइन्स ल्याब’ पनि सञ्चालनमा छ। साइन्स ल्याबमा उपकरणहरु थप गर्ने तयारी भइरहेको शिक्षक रानाले जानकारी दिए। बालि विज्ञानको पढाइको लागि छुट्टै ल्याब सञ्चालनमा छ।

विद्यालय क्षेत्रभित्र प्रअ र शिक्षकहरूबीच सम्वादको लागि ‘इन्टरकम’ जडान गरिएको छ। अबको केही दिनमै त्यो सञ्चालनमा आउँदै छ। विद्यालयका मुख्यमुख्य ३२ ठाउँमा सीसी क्यामेरा राखिएका छन्।

अब प्रत्येक कक्षा कोठामा पनि साउन्ड सिस्टम र सीसी क्यामेरा  जडान गर्ने तयारी विद्यालयले अघि बढाएको छ। विद्यार्थीलाई कुनै सूचना र जानकारी दिन स्वचालित घण्टी जडान गरिएको छ। त्यसको सञ्चालन प्रअको कोठाबाट हुन्छ। 

आफ्नो वेवसाइट र फेसबुक पेजमार्फत विद्यालयले आफ्ना गतिविधि र सूचनाहरु विद्यार्थी र अभिभावकसम्म पुर्‍याउने गरेको छ।

विद्यालयले खेलकुद प्रशिक्षकको व्यवस्था गरेको छ। दैनिक रूपमा विद्यार्थीहरुले फुटबल, भलिबल, क्रिकेटलगायत विभिन्न खेलकुदको अभ्यास गर्ने गर्छन। नगर स्तरीय खेलकुद प्रतियोगितामा माजमाविले हालसम्म अब्बल स्थान हासिल गर्दै आएको छ।

विद्यालयमा बाल क्लब सञ्चालनमा छ। त्यसले जनचेतनामूलक विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ। विद्यालयका करिब ७० जना विद्यार्थी स्काउटमा आवद्ध छन्।

त्यसले विद्यार्थीमा नेतृत्व विकास र सामाजिकीकरण मा सहयोग पुगेको छ। विद्यालयमा जुनियर रेडक्रस सर्कल छ। त्यसले पनि विद्यार्थीलाई सामाजिक गतिविधिमा संलग्न हुन सहयोग पुगेको छ।

विद्यालयले समय–समयमा अभिभावकसँग अन्तरक्रिया गर्छ। विद्यार्थीको त्रैमासिक नतिजालाई फाइलिङ गर्ने र विद्यार्थी तथा अभिभावकलाई देखाउने गरिएको छ। भौतिक तथा शैक्षिक व्यवस्थापनको लागि विद्यालयले स्थानीय तह र गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ।

विद्यालय हाताभित्र सेमिनार हल, पार्किङ क्षेत्र र विभिन्न भौतिक संरचना निर्माणका काम हुँदैछन्।

हरिवन नगरलाई सर्लाही जिल्लाकै ‘शैक्षिक हब’ बनाउने दीर्घकालीन योजना अनुसार विद्यालयले शैक्षिक सुधारको प्रयास गरिरहेको पनि शिक्षक रानाले बताए।

याे पनि- सर्लाहीका डेढ सय शिक्षकले पार्टी फेरे, प्रचण्डले माओवादीमा गरे स्वागत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .