ad ad

कारोबार


प्रदेश १ मा सुपारीको ‘जालो’

प्रदेश १ मा सुपारीको ‘जालो’

सुमन पुरी
साउन ९, २०७९ सोमबार ७:१९, विराटनगर

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने विराटनगरको रानीबाट बिहीबार इलाका प्रहरी कार्यालयले ८ वटा भारतीय नम्बर प्लेटका ट्रक नियन्त्रणमा लियो।

ट्रकमा २ लाख १९ हजार ५९६ किलो सुपारी फेला पर्यो। यति सुपारीको मूल्य ८ करोड ६३ लाख ८१ हजार रुपैयाँ भन्दा बढी पर्ने। प्रहरीको भनाइ छ।

मनोकामना ट्रेडर्स विराटनगर १४ का नाममा झापाबाट खरिद भएर आइसा एक्सपोर्ट कोलकातालाई बिक्री गरेको कागजातसमेत प्रहरीले सुपारीसँगै बरामद गर्यो।   

सुपारी निर्यातका लागि नेपाल सुपारी खेती विकास संस्था अर्जुनधारा सिफारिस गरेको छ। सो सुपारी झापामै उत्पादन भएको उद्योग वाणिज्य संघ भद्रपुर झापाले उत्पतिको प्रमाणपत्रसमेत दिएको छ। 

एकैपटक ठूलो परिमाणको सुपारी भारततर्फ निकासी गर्न लागेकाले शंका लागेर अनुसन्धानका लागि ट्रकहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी मोरङका प्रमुख शान्तिराज कोइरालाले नेपालखबरलाई बताए। 

झट्ट सुन्दा भारतमा बेच्न लैजान लागेको सुपारी प्रहरीले समात्नुपर्ने कारण के? सरकारले निर्यात प्रवद्र्धन गर्ने नीति लिइरहेका बेला झापामा फलेको सुपारी विराटनगर हुँदै भारत लैजाँदा प्रहरीलाई किन आपत्ति? के नेपालको सुपारी भारत लैजान नपाइने हो र ? सोझो नजरले हेर्दा यस्तो प्रश्न उब्जनु स्वभाविकै हो।

तर, प्रदेश १ मा सुपारीको कथा अलि बेग्लै छ। 

सुपारी खेतीकै कुरा गर्ने हो भने झापा–मोरङ सुनसरी सुपारीका लागि उर्वर भूमि हो। तथ्यांक अनुसार नेपालभरी उत्पादन हुने सुपारीको करिब ८० प्रतिशत झापामै फल्छ। यो जिल्लामा मात्रै वार्षिक करिब १० हजार मेट्रिक टन सुपारी फल्ने गरेको छ। 

बोटबाट टिपेको काँचो सुपारी गतवर्षसम्म प्रतिकिलो २५, ३० रुपैयाँमा आउँथ्यो। अहिले भाऊ केही बढेको छ। सुकेको सुपारीको मूल्य प्रतिकिलो ३९० देखि ४२० रुपैयाँसम्म पर्छ।

पछिल्लो समय सुपारीका पातबाट टपरी लगायतका सामग्रीसमेत बनाउन थालिएको छ र यसको व्यवसायिक खेतीले किसानहरू लाभान्वित हुने गरेका छन्। 

नेपालमा भन्दा भारतमा सुपारीको मूल्य प्रतिकिलो झण्डै १ सय रुपैयाँ बढी छ। भारतमा सुपारीको माग अत्यधिक छ, जसले गर्दा नेपालको सुपारीले भारतको बजार धान्न सक्ने स्थिति छैन।

भारतले तेस्रो देशबाट सुपारी आयात गर्दा बढी भन्सार तिर्नुपर्छ। तर, नेपालबाट आयात गर्दा धेरै नै सस्तो पर्छ। नेपालमा सुपारीको मूल्य पनि सस्तो देखाउन पाइने र भन्सार दर पनि कम भएकाले भारतीय व्यापारीहरू थाइल्याण्ड, मलेसिया आदि मुलुकबाट आफ्नो देशमा भित्र्याइने सुपारी कोलकाता बन्दरगाहबाट सिधै झापा–मोरङतिर ल्याउँछन् र नेपालमै फलेको फर्जी कागजात बनाएर विराटनगरको बाटो हुँदै भारत लैजान्छन्।

सुपारीको यस्तो धन्दामा झापा–मोरङतिरका नेपाली व्यापारी, सरकारी कर्मचारी र प्रहरी हाकिमहरूको सेटिङ मिलाइने र तस्करी धन्दा चल्ने गरेको बेलाबखत चर्चा भइरहन्छ। प्रदेश १ मा जब प्रहरी हाकिम र भन्सारका नयाँ कर्मचारी आउँछन्, सुपारी कारोबारको पहिलेको सेटिङको जालो खल्बलिन्छ र सुपारी बोकेका ट्रकहरु समातिएका खबरहरु बाक्लो आउने गर्छन्।

विस्तारै लेनदेन र सेटिङ मिल्न थालेपछि सुपारी समातिएका खबरहरु पनि कम हुँदै जान्छन्। तर, कारोबार चाहिँ वर्षौँदेखि यथावत नै हुने गरेको छ।    

पछिल्लो एक सातामा प्रदेश १ का विभिन्न स्थानबाट ठूलो मात्रामा सुपारी बरामद हुनुले प्रहरी र व्यापारी बीचको सेटिङ बिग्रिएको  स्पष्ट हुने सुपारी निर्यातमा संलग्न व्यापारीहरू बताउँछन्। 

प्रदेश १ मा नयाँ प्रहरी प्रमुख आएसँग प्रहरीको निशाना सुपारीमाथि परेको व्यापारीको भनाइ छ। व्यापारिक स्रोतका अनुसार यसअघि सुपारी निर्यात कार्य नियमित भइरहेको थियो  । 

गत असार २५ गते झापाको मेचीनगर नगरपालिका–५ स्थित तिरिङबाट पनि प्रहरीले सुपारी बरामद गरेको थियो। मे १ च ४९८० नम्बरको पिकअप गाडी चेक जाँचका क्रममा करिब ७ सय किलो अवैध सुपारी बरामद गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। जसको मुल्य करिब २ लाख ८० हजार बराबर रहेको प्रहरीको भनाइ छ। 

तर, प्रदेश १ प्रहरीका प्रवक्ता नविन राई प्रहरीले नियमितरुपमा तस्करीका घटना रोक्ने काम गरिरहेको बताए। उनले सुपारी बरामद हुनु र नयाँ प्रहरी प्रमुख आउनुमा कुनै साइनो नभएको दाबीसमेत गरे। 

सुपारीको अवैध जालो 
नेपालमा भन्दा भारतमा सुपारीको मूल्य बढी भएकाले नेपालबाट भारत सुपारी लैजाने कार्यमा देशका ठूला व्यापारिक घराना लाग्ने गरेका छन्। 

बिहीबार नियन्त्रणमा लिइएको सुपारीका धनी नविन घिमिरेका अनुसार उनले असारमा मात्रै मनोकामना ट्रेडर्सबाट ८० ट्रक सुपारी भारत निर्यात गरे।

उनले प्रश्न गरे, ‘अरुबेला केही नबोल्ने प्रहरी अहिले सुपारी नियन्त्रणमा किन लागेको छ?' 

नेपालमा इन्डोनेसिया, मलेसिया र थाइल्याण्डलगायतका मुलुकबाट सुपारी आयात हुने गरेको छ। ती मुलुकबाट सुपारी आयात गर्दा कोलकाता बन्दरगाहसम्मको भाडा र बीमा प्रति टन २ हजार ५ सय अमेरिकी डलर लाग्ने गर्छ। 

भारतीय व्यापारीले भारतमै सुपारी आयात गर्दा सुपारीको भन्सार मूल्यको ८० प्रतिशत तिर्नुपर्छ। यसमा थप जीएसटी (सामान सेवा शुल्क) २८ प्रतिशत तिर्नुपर्छ। तर, नेपालमा भने भन्सार शुल्क प्रति टन १ हजार ५० डलर मात्रै लाग्ने गरेको छ। यो हिसाबले प्रतिकिलो ४ सय रुपैयाँ परेको सुपारीबापत बढीमा १९० रुपैयाँ तिर्दा पुग्छ। 

तर, भारतका व्यापारीले तेस्रो देशबाट भारतमा सुपारी आयात गर्दा भन्सार र जीएसटीको मूल्यसमेत जोड्ने हो भने प्रतिटन करिब २ हजार ६ सय डलरसम्म तिर्नुपर्छ। यो भनेको प्रतिकिलो ३३० रुपैयाँजति पर्न जान्छ। 

नेपाल हुँदै भारत पठाउन पाए भन्सारमा मात्रै प्रतिटन १ हजार १ सय अमेरिकी डलर जोगिने भएकाले भारतीय व्यापारीहरुले नेपाली व्यापारीसँग मिलेर नेपाल हुँदै भारतमा सुपारी लैजाने धन्दामा लागेको जानकारहरु बताउँछन्।  

२५ हजार मेट्रिक टन सुपारी ल्याउन सेटिङ 
तेस्रो देशबाट सुपारी आयात गरी भारत पठाउने व्यापारीले सरकारी कर्मचारीलाई समेत प्रभावमा पार्दा आवश्यक नै नरहेको सुपारी आवश्यक रहेको भन्दै आयातमा खुल्ला गर्ने गरिएको छ।  

भन्सार विभागले ०७८ साल चैत्रमा ३ दिनका लागि २५ हजार मेट्रिक टन सुपारी ल्याउन दिने कोटा खोलेको थियो। ठूला व्यापारीसँगको सेटिङमा विभागले कोटा खुलाउँदै ३ दिनमा कोटा बन्द गरेको थियो। तेस्रो देशबाट सुपारी ल्याउनका लागि ८५ वटा फर्महरुले निवेदन दिएका थिए।  

कोटा खोले पनि निवेदन दिने समय भने तोकिएको थिएन। समय नतोकिए पनि ५ दिनमा ८५ भन्दा बढी ट्रेडिङ कम्पनीहरुले निवेदन दिएका थिए। तर, सही सूचना प्रवाह नगरी विभागले कोटा स्थगन भए जसरी नै चैत्र १२ गते सूचना जारी गर्दै तीन दिनभित्र कागजात नपुगेका भए आवश्यक कागजात बुझाउन सुचना जारी गरेको थियो। 

सुपारी कारोबारमा संलग्न रहेका तर यस बर्ष कोटामा नपरेका एक  असन्तुष्ट व्यवसायीले सरकार र व्यापारीबीच सेटिङमा काम हुने गरेको बताए। वाणिज्य विभागले अनेक अन्योल सिर्जना गर्दै सेटिङमा आयात अनुमति दिने गरेको बताए। 

उनले भने कसलाई आयात अनुमति दिने भन्ने पहिला नै तय भइसकेको हुन्छ। निवेदन त केवल औपचारिकता मात्रै हो। 

आयातीत सुपारीलाई उत्पतीको प्रमाणपत्र 
पाँच वर्षयता नेपालका सुपारी किसानहरू मारमा परेको भन्दै तेस्रो मुलकबाट सुपारी आयातमा प्रतिबन्ध लगाइएको थियो। त्यसबेला नेपालमा वार्षिक ५० हजार टन हाराहारीमा सुपारी इन्डोनेसिया, मलेसियालगायत तेस्रो मुलुकबाट आयात हुने गरेको थियो। 

नेपाल–भारतबीच सन् १९५० को सन्धी बमोजिम तेस्रो मुलुकबाट आयात भएको बस्तु तथा सामान भारत निर्यात गर्न प्रतिवन्ध लगाइएको छ।

तेस्रो मुलुकबाट आएको सुपारी वैधानिक बाटोबाट भारत पठाउन नपाएपछि तेस्रो मुलुकबाट आएको सुपारीलाई समेत व्यापारीसँगको मिलेमतोमा नेपालमै उत्पादन भएको भन्दै उत्पत्तिको प्रमाण पत्र जारी गर्न थालिएको छ। 

भारतमा ठूलो माग रहेको र मूल्य पनि एक किलोमा करिब एक सय रुपैयाँ फरक पर्छ। यति ठूलो फाइदा हुने भएपछि व्यापारीसँगको मिलेमतोमा तेस्रो देशबाट आएको सुपारीलाई नेपालमै उत्पादन भएको भन्दै सेटिङ मिलाएर उत्पतिको प्रमाण पत्र जारी गर्न थालिएको हो। 

उद्योग संगठन र व्यापार संघले सुपारीको उत्पत्तिको प्रमाण पत्र जारी गर्ने गरेको छ। यसरी नेपालमा उत्पादन भएको प्रमाणपत्रका आधारमा भारतमा सुपारी निकासी हुने गरेको छ।  

नेपालमा उत्पादन भएको सुपारी भारत पठाउँदा प्रतिकेजी ४५ रुपैयाँ भन्सार महसुल लाग्ने गरेको छ। २०६८ साल अघिसम्म  प्रतिकेजी ३० रुपैयाँ मात्रै भन्सार महसुल लाग्ने गरेको थियो। 

संसदको छानबिन समिति थन्कियो प्रतिवेदन 
यसअघि बाणिज्य विभागले कोटामा सुपारी ल्याउने बाटो खोलेपछि विवाद भएको थियो। यसपछि नेपालमा यति धेरै सुपारी आवश्यक नरहेको र संस्थागत भ्रष्टाचार भएको भन्दै राष्ट्रियसभाका सांसद रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय संसदीय छानविन गठन भएको थियो। 

सांसदहरु कविता बोगटी, शारदा भट्ट, महेश महरा, गंगादेवी बेलबासेसहितको छानबिन समितिले छानबिन नसकिउञ्जेल सुपारी आयात नगर्नू भन्दै भन्सार विभाग, वाणिज्य विभाग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको थियो।

तर, छानबिन समितिको निर्देशन विपरीत सुपारी नेपाल भित्र्याउने क्रम रोकिएन। 

छानबिन समितिका संयोजक सांसद रमेशजंग रायमाझीले समितिले दिएको निर्देशन नमाने पनि सबै कुरा समेटेर संसदीय समितिमा प्रतिवेदन बुझाएको बताए।

तर, प्रतिवेदन भने कार्यान्वयनमा नगएको सांसद रायमाझीले बताए। उनले सुपारी आयातमा ठूलो खेल रहेको भन्दै आर्थिक लोभमा वाणिज्य र भन्सारका कर्मचारीहरु फसेको बताए। 

छानबिन समितिले नेपाललाई सुपारी आवश्यक रहेको हो कि होइन, सुपारी निर्यात गर्दा नेपाली किसानलाई के कति घाटा हुन्छ, लगायतका विषयमा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको रायमाझी बताउँछन्। 

०४६ सालदेखिको धन्दा
०४६ सालको जनआन्दोलनपछि झापा–मोरङमा सुपारी कारोबारको अनौठो धन्दा सुरु भएको मानिन्छ। 

काँकडभिट्टामा त्यसबेलादेखि नै सुपारीको खुलेआम कारोवार हुन थालेको थियो। सुपारीमा राम्रो मुनाफा देखेपछि झापाका व्यवसायीले यो कारोबारमा हात हालेका थिए। 

नेपालको झापा, मोरङलगायतका जिल्लामा किसानहरुले लगाएको सुपारी किनेर भारत लैजाँदा मुनाफा भएपछि भारतीय व्यापारीको सहयोगमा तेस्रो मुलुकबाट आयात गरेर समेत सुपारी भारत पठाउने काम त्यस बेलादेखि नै थालिएको हो। सो समयबाटै सुरु भएको  अवैध कारोवार करिव २ दशक सम्म विना रोकतोक चल्यो।

यसैक्रममा ०६८ सालदेखि भने सुपारी कारोबारमा सरकारी नजर पर्न थाल्यो। ०६८ साल माघ २१ गते नेपालबाट भारततर्फ जाँदै गरेको ९ हजार केजी अवैध सुपारी पहिलोपटक बरामद भएपछि सुपारी कारोबारबारे हल्ला चल्यो।  

सुपारी पक्राउपछि यसको अवैध कारोबार रोक्न प्रतिकेजी ४५ रुपैयाँ भन्सार महसुल लगाइयो। त्यसअघि ३० प्रतिशत भन्सार महसुल लाग्दै आएको थियो। 

तर, भन्सार महसुल बढाउँदासमेत यो धन्दामा लागेकाले आफ्नो काम रोकेनन्। सुरक्षाकर्मी र दलका नेताहरुलाई सेटिङ मिलाएर अवैध बाटोबाट सुपारी भारत निर्यात गर्ने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .