लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय तथ्यांक व्यवस्थापन सूचना प्रणाली औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
प्रदेश योजना आयोगमार्फत मुख्यमन्त्री चेतनारायण आचार्यलाई हस्तान्तरण गरिएको १ हजार १ सय ९६ तथ्यांक चर, ३४ वटा क्षेत्र र १ सय ६४ सूचक समेटिएको प्रणाली सोमबारदेखि सञ्चालनमा आएको हो।
नयाँ प्रणालीमार्फत अब शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलगायतका विविध क्षेत्रका तथ्यांक एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध हुनेछन्।
शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रणालीले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई मजबुत बनाउने विश्वास ब्यक्त गरे। उनका अनुसार अब योजना निर्माण, कार्यान्वयन र अनुगमन थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
नागरिकलाई राज्यका कामबारे सुसूचित गराउँदै पारदर्शिता अभिवृद्धि गर्ने दिशामा यो महत्वपूर्ण उपलब्धि भएको उनले उल्लेख गरे।
मुख्यमन्त्री आचार्यले प्रणालीको नियमित अद्यावधिक र सञ्चालनका लागि प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताए।
उद्घाटनमै सीमित नराखी यसको प्रभावकारी कार्यान्वयनमा प्रतिष्ठानले अगुवाइ गर्नुपर्नेमा उनले जोड दिए।
प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्यालले सुशासन प्रवर्द्धन, सेवा प्रवाह र जवाफदेहितालाई केन्द्रमा राखेर प्रणाली निर्माण गरिएको बताए। तथ्यमा आधारित योजना निर्माण, आवधिक योजनाको कार्यान्वयन तथा नियमित अनुगमनलाई यस प्रणालीमार्फत सुदृढ बनाइने जनाए।
सबै पालिकालाई जोड्ने प्रयास
प्रदेशका १०९ वटै पालिकालाई यस प्रणालीमा जोड्ने तयारी गरिएको छ। यसले तीनै तहका सरकारबीच समन्वय सुदृढ गर्दै विकासका प्राथमिकता निर्धारण र स्रोत साधनको प्रभावकारी उपयोगमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
प्रणाली सञ्चालन तथा नियमित अद्यावधिकको जिम्मेवारी प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई दिइएको छ। प्रणालीलाई दिगो र प्रभावकारी रूपमा सञ्चालन गर्दै डिजिटल शासनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
बेलायतको अन्तर्राष्ट्रिय विकास सहयोग, द एसिया फाउन्डेसन र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा तयार गरिएको यो प्रणालीले लुम्बिनी प्रदेशलाई स्मार्ट गभर्नेन्सतर्फ अघि बढाएको छ।
के छन तथ्यांक?
प्रदेश स्थापना भएदेखि हालसम्मका कार्यसम्पादन र उपलब्धिहरूको तथ्यांकगत विश्लेषण समेत यसमा समेटिएको छ। प्रणालीमा कुल १ हजार १ सय ९६ तथ्यांक चरहरू समेटेर ३४ वटा क्षेत्र विकास गरिएको छ।
यसका अतिरिक्त ४२ चरहरू समावेश गरिएको छुट्टै राष्ट्रिय स्तरको तथ्यांक सेट पनि तयार गरिएको छ। ड्यासबोर्डमार्फत सहज र स्पष्ट रूपमा जानकारी प्रस्तुत गर्न १ सय ६४ सूचकहरू विकास गरिएको छ।
नागरिक केन्द्रित तथ्यांक, सार्वजनिक तथ्यांकमा सहज पहुँच र तथ्यांकलाई मानव जीवनसँग जोड्ने उद्देश्यले प्रणाली विकास गरिएको हो ।
यसमा प्रदेश स्थापना यता भएका कार्यसम्पादन, विषयगत विवरण, दोस्रो आवधिक योजनाका लक्ष्य, तथ्यांक भण्डारण तथा मूल्यांकनका पक्षहरू समेटिएका छन्।
Shares

प्रतिक्रिया