पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा करिब ३१ वर्षपछि नेपाली कांग्रेसले ऐतिहासिक जित हासिल गरेको छ। लामो समयसम्म नेकपा एमालेको प्रभाव रहेको यस क्षेत्रमा यसपटक कांग्रेसका उम्मेदवार सन्दिप रानाले जित निकाल्दै कांग्रेसको विरासत फर्काएका हुन्।
रानाले १८ हजार ३३६ मत ल्याएर विजयी भए। उनले सोही क्षेत्रबाट ०७९ मा चुनाव लडेका नारायणप्रसाद आचार्यलाई १ हजार ५१७ मतान्तरले पराजित गरे। आचार्यले १६ हजार ८१९ मत पाए। यहा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो छ।
रास्वपाका विमल पन्तले १४ हजार ३३३ मत पाए।
यस्तो छ बिगत
इतिहास हेर्दा २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका कालुराम राना १५ हजार ९१० मतसहित विजयी भएका थिए।
त्यतिबेला नेकपा एमालेका दलबहादुर राना १५ हजार १ मतसहित पराजित भएका थिए। त्यसपछि भने २०५१ सालदेखि लगातार एमालेले यो क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्दै आएको थियो।
२०५१ सालको निर्वाचनमा एमालेका दलबहादुर राना १९ हजार ६९० मतसहित विजयी हुँदा कांग्रेसका कालुराम राना १४ हजार ८१५ मतमा सीमित भएका थिए। २०५६ सालमा पनि एमालेकै भद्रबहादुर थापा १९ हजार ४७७ मतसहित विजयी हुँदा कांग्रेसका विजयराज घिमिरे १६ हजार ३९३ मतमा रोकिएका थिए।
त्यसपछि २०६४ सालको निर्वाचनमा एमालेका दलबहादुर राना १९ हजार १८५ मतसहित विजयी बनेका थिए भने कांग्रेसका धनबहादुर राना १२ हजार ८७६ मत ल्याएर दोस्रो स्थानमा सीमित भए।
२०७० सालमा एमालेका राधाकृष्ण कडेल १७ हजार ८०४ मतसहित विजयी हुँदा कांग्रेसकी सिता देवी देवकोटा पाण्डे ११ हजार ९५८ मतसहित उपविजेता बनेकी थिइन्।
२०७४ सालको निर्वाचनमा पनि एमालेका दलबहादुर राना ३२ हजार ५४९ मत ल्याएर विजयी हुँदा कांग्रेसका विजयराज घिमिरे २३ हजार ९९३ मतमा सीमित भएका थिए। २०७९ सालको निर्वाचनमा एमालेका नारायणप्रसाद आचार्य ३१ हजार ३ सय ३ मतसहित विजयी हुँदा कांग्रेसका ज्ञानबहादुर गाहा २० हजार २५६ मत ल्याएर पराजित भएका थिए।
Shares

प्रतिक्रिया