लुम्बिनी


कुखुराको भाले ‘अपरेसन’ गरेर आम्दानी गर्दै जानकी

कुखुराको भाले ‘अपरेसन’ गरेर आम्दानी गर्दै जानकी

नेपालखबर
माघ १३, २०८२ मंगलबार ११:२३, घोराही (दाङ)

दाङको घोराही उपमहानरपालिका-१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन हो। उनका दिन भालेको स्याहारसुसारमै बित्छन्। बधिया भाले बिक्रीबाट राम्रो आम्दानी भइरहेको उनको भनाइ छ। 

‘स्थानीय कुखुराको भालेलाई ‘अपरेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले भनिन्, ‘यो सिप सिकेपछि मैले आफैँ यो विधिको सुरुआत गरेर भाले बधिया बनाउने काम सुरु गर्न थालेँ।’

बधिया भालेको मासु बढी स्वादिलो हुने भएकाले पनि यसको खोजी व्यापक बन्दै गएको उनी बताउँछिन्। 

आठ वर्षदेखि व्यावसायिक रूपमा बधिया भोलेपालन गरिरहेकी जानकी आगामी दिनमा यसलाई बढाउँदै लैजाने योजना रहेको सुनाउँछिन्। 

अहिले फार्ममा ६० भन्दा बढी भाले रहेको उनले बताइन्। 

उनका अनुसार एउटा भालेलाई ३ हजार रुपैयाँभन्दा बढी पर्छ। 

बधिया भाले सामान्यतया दुई, साढे दुई किलोको हुने गर्छ।

उनले यो व्यवसायबाट वार्षिक ४ देखि ६ लाखसम्मको कारोबार गर्ने र घरखर्च चलाएर आधा रकम बचत भइरहेको बताइन्। 

उनले साना भाले किनेर पाल्ने गरेकी छन्। 

यसका लागि उनले लोकल कुखुरा पाल्ने स्थानीय किसानसँग सम्पर्क गर्ने गरेकी छन्। 

यसरी किनेका भाले चार महिनापछि बधिया बनाउने गरिएको जानकारीले जानकारी दिइन्। 

खुला ठाउँ भएका गाउँघरमा थोरै जमिन भए पनि बधिया भाले पाल्न सहज हुने उनी बताउँछिन्। 

सजिलो र कम लगानीमा गर्न सकिने भएकाले यो आकर्षक व्यवसाय बनेको छ।

दङ्गाली पोल्टी फार्म दर्ता गरेर व्यवसाय गरिरहेकी जानकीलाई श्रीमान्‌ले पनि सहयोग गरिरहेका छन्।

उनले भनिन्, ‘सबै काम आफैँले जानेपछि पछिल्लो समय झन् सहज भएको छ, बिक्रीका लागि पनि कुनै समस्या छैन।’

अघिपछिभन्दा चाडपर्वका बेला बधिया भालेको माग धेरै हुने उनको भनाइ छ।

‘साना चल्ला हुर्काएर, बधिया बनाएर बेच्दा दोब्बर मूल्य पाउन सकिन्छ’, उनले भनिन्, ‘यो व्यवसाय गरेदेखि आयआर्जनका लागि अन्य काम खोज्नुपरेको छैन।’

उनले उत्पादन गरेको बधिया भाले काठमाडौँ, पोखरालगायतका ठाउँसम्म पुग्ने गरेको छ।

जानकी मात्र होइन, जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन्।

बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad