रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिए आजै (बिहीबार) पोखरा लगिने भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालका अनुसार, जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेसँग तेस्रो दिनको बयान बिहान साढे १० बजेदेखि चलिरहेको छ।
सरकारी वकिलको रोहबरमा रूपन्देही प्रहरीका अनुसन्धान अधिकारीले बयान लिइरहेको छ। बयान सकिएपछि उनलाई पोखरा लैजान साँझ ६:४० बजेको उडानका लागि टिकट काटिसकिएको छ।
रविसँग मंगलबार ४ घण्टा र बधुबार ९ घण्टाभन्दा बढी समय बयान लिइएको थियो।
दुई करोडबारे रविको बयानमा विरोधाभास, दोस्रो दिन ९ घण्टा सोधपुछ
प्रहरीले रविलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न गत मंगलबार पोखराबाट भैरहवा ल्याइएको थियो।
सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप रविमाथि छ। त्यस्तै लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ निकासा भएको पाइएको छ।
यसै प्रकरणमा उनका व्यापारिक साझेदार छविलाल बन्जाडे जोशीसँग यसअघि नै बयान लिएर पोखरा पठाइसकिएको छ। अर्का साझेदार जीबी भनिने गीतेन्द्रबाबु राई भने फरार छन्।
Shares

प्रतिक्रिया