लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम भोलि (जेठ २१ गते) ल्याउने भएको छ।
प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो। नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख अमिक शेरचनलाई आमन्त्रण गरिएको छ।
संघीय सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेसँगै लुम्बिनी प्रदेश सरकार पनि बजेट बनाउने चटारोमा छ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र केही महत्वपूर्ण योजनाहरुलाई समेटेर सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।
प्रदेश गौरवका आयोजनालाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम बनाइएको बताइएको छ।
पछिल्लो समय देशको अर्थतन्त्रमा देखिएको प्रभावका कारण यसवर्ष बजेटको आकार घट्ने देखिएको छ।
अर्थ मन्त्रालयले चालु आर्थिकवर्षको भन्दा ३० प्रतिशत घटाएर योजना बनाउन मन्त्रालयहरुलाई निर्देशन दिएको छ।
Shares
प्रतिक्रिया