ad ad

लुम्बिनी


भैरहवाको आकासमा फेरि उड्न छोड्यो जजिरा

मन्त्रीले मिति तोके पनि छैन टुंगो
भैरहवाको आकासमा फेरि उड्न छोड्यो जजिरा

फाइल तस्बिर


सुदीप भण्डारी
बैशाख २७, २०८० बुधबार १९:२४, बुटवल

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले औपचारिकता पाएको यही जेठ ३ गते वर्ष दिन हुँदै छ।

२०७९ साल जेठ ३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए। सो दिन कुबेतबाट आएको जजिरा एयरवेजलाई स्वागत गरिएको थियो।

उद्घाटन भएको एक वर्ष पुग्दै गर्दा न त जजिराले नियमितता पायो, न अरु उडान नै थपियो। मुआब्जा र निर्माणमा अर्बौं खर्च गरेर बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आहिले आन्तरिक उडानमा मात्र सिमित छ।

जजिरा भैरहवाको आकासमा उड्न छोडेको ३ हप्ता भन्दा बढी भइसक्यो। गत असोजदेखि उडान रोकेको जजिराले फागुनबाट पुनः उडान सुरु गरेको थियो।
तर फेरि अहिले आफ्नो व्यवसायिक कारण देखाउँदै जजिराले उडान हटाएको छ।

‘३ हप्ता जति भइसक्यो। उसले उडान गरेको छैन। कमर्शियल रिजन भनेर अहिले रोकेको छ’ अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दिपक बज्रचार्यले भने, ‘अर्को सूचना नभएसम्म बन्द हुने भनेको छ।’

अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको वर्ष दिनसम्म नेपाल एयरलाइन्सले पनि उडान थालेको छैन।

गत बुद्धजयन्ती समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले आउँदो जेठ १५ गते भैरहवाबाट नेपाल एयरलाइन्सले नियमित उडान थाल्ने बताएका थिए।

मन्त्रीले बोले पनि नागरिक उड्यन प्राधिकरणबाट नेपाल एयरलाइन्सले अझै उडानको अनुमति लिएको छैन।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता बज्राचार्यले नेपाल एयरलाइन्सको उडानबारे जानकारी नआएको बताए।

‘उडान थाल्ने भनेर हामीले पनि सुनेका हौं। प्राधिकरणसँग प्रमिसन लिएको जानकारी छैन’ उनले भने।

नेपाल नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नेपाल एयरलाइन्सले उडान गर्ने जानकारी दिएको तर अनुमति लिइनसकेको बताए।

‘मे को तेस्रो साताबाट दिल्ली र मलेशिया उडान गर्छु भनेको छ। मिति तोकेको छैन। अनुमति लिइसकेको छैन’ उनले भने, ‘अनुमतिको लागि प्रस्ताव ‘पेश गर्यो भने तुरुन्तै भइहाल्छ।’

२०७१ साल माघमा तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि लुम्बिनीमा पर्यटकको आगमन बढ्ने र यो क्षेत्रमा आर्थिक विकास हुने व्यवसायीहरुले आशा गरेका थिए।

शिलान्यासको साढे ७ वर्षमा निर्माण सम्पन्न भएर उद्घाटन पनि भयो। तर पूर्णरुपमा सूचारु हुन नसक्दा पर्यटन व्यवसायीहरु निराश छन्। भैरहवाका पर्यटन व्यवसायी सञ्जय बजिमयले काठमाडौँका केही माफियाहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिएको भन्दै आक्रोस पोखे।

‘त्यहाँ ठूला ठूला होटल र व्यवसाय चलाएका केही माफियाहरुले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिन खोजेका छन्’ उनले भने, ‘मुख्य गरि नेपाल एयरलाइन्स र हिमालयन नचलाइकन अरु विदेशी कम्पनीहरु आकर्षित हुँदैनन्।’

गत बुद्धजयन्तीका दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आउँदा यहाँका व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न माग गरेका थिए।

काठमाडौँबाट हुने २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान भैरहवा ल्याउन र भारत भ्रमणको उडान गौतमबुद्ध विमानस्थलबाटै गर्न उनीहरुको माग थियो।

नागरिक उड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलले सुरुमा बिजनेस नपाएपनि भविष्यमा राम्रो चल्ने अपेक्षा गरे। निरौलाले वैदेशिक रोजगारीमा जान चाहानेहरुको लागि रुपन्देहीमा म्यानपावर कम्पनी र मेडिकल सुविधा भएमा विमान कम्पनीहरु आकर्षित हुने बताए।

‘अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोगकर्ता अधिकांश वैदेशिक रोजगारमा जानेहरु हुन्। उनीहरुको लागि म्यानपावर कम्पनीहरु खुल्नुपर्यो। मेडिकलको सुविधा पनि हुनुपर्यो’ उनले भने, ‘सुविधा त्यहीँबाट उपलब्ध भयो भने अरु एयरलाइन्स आफैँ आउँछन्।’

विभिन्न बैठकहरुमा पर्यटन मन्त्रालयको तर्फबाट आफूहरुले यो कुरा राखेको र यसको लागि श्रम मन्त्रालयलको पहल आवश्यक हुने निरौलाको भनाइ छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .