बुटवल बेलहिया ६ लेन सडकअन्तर्गत तिलोत्तमा नगरपालिकाको क्षेत्रमा मंगलबार मानव साङ्लो निकालिएको छ। योगिकुटीदेखि कोटिहवासम्म १३ किलोमिटर सडकमा जम्मा भएका सहभागीहरुले एकआपसमा हात जोडेर सरसफाइ अभियानमा प्रतिबद्धता जनाएका हुन्।
तिलोत्तमा नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको १००औँ श्रृंखलाको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअनुसार ६ लेन सडकमा मानव साङ्लो निकालिएको हो। तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले अयिभानमा सबै नगरबासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको बताए।
मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न संघ-संस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरुले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिए।
सहभागीहरुले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने, जथाभावी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता जनाएका थिए।
मंगलबार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाइ स्मारक उद्घाटनसमेत गरिएको छ। अभियान १००औँ श्रृंखलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाइ स्मारक निर्माण गरिएको हो। स्मारकमा पुरुष र महिलाले सरसफाइ गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ।
तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु आएसँगै नियमित सरसफाइ अभियान सुरु भएको हो। अभियानअन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरुको सहभागितामा नगर स्तरीय सरसफाइ अभियान सञ्चालन गर्ने गरिएको छ। चैत १ गते बुधबार अभियानको १००औँ श्रृंखला पूरा हुँदै छ। १००औँ श्रृंखला मनाउन फागुन २५ गतेदेखि सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन्।
प्रतिक्रिया