लुम्बिनी


‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’

‘चेपाङ समुदायका महिला समयमै गर्भ जाँच गराउँदैनन्’

फाइल।


नेपालखबर
मंसिर २७, २०७९ मंगलबार ८:५९, काठमाडौँ

चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन्। महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन्।

तर, चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन्। लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरु स्वास्थ्यचौकी नै पुग्दैनन्।

पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन्। समयमै गर्भजाँच नगराउने हुँदा धेरै महिला र बच्चामा विभिन्न समस्या देखिने गरेको उनले बताए। ‘पेट नदेखिएसम्म केही भन्दैनन्, अरूले थाहा पाएपछि बल्ल जँचाउन आउँछन्’, उनी भन्छन्, ‘लाज नै यसको मुख्य कारण हो।’ सानै उमेरमा विवाह गर्ने चलनले गर्दा कतिपय अवस्थामा उमेर नै नपुगी आमा बन्ने र गर्भ जचाउन लाज मान्ने गरेको उनले बताए। 

उनले विद्यालयस्तरबाट नै उनीहरूलाई सचेत गराउँदै लैजानुपर्ने बताए।

वडाका अधिकांश चेपाङ महिलामा यो समस्या यथावत नै छ। ‘गर्भ बसेको भन्न लाज मान्ने हुँदा चार–पाँच महिना पुगिसकेपछि मात्रै स्वास्थ्यचौकी पुग्छन्’, जौगैराकी माया चेपाङ भन्छन्, ‘म आफू पनि कलिलै उमेरमा आमा बनेकीले त्यो अनुभव मैले पनि भोगेँ।’

उनले अहिले गाउँका अन्य महिलालाई सम्झाउने काम गरिरहेको बताउँछन्। बेलैमा गर्भ नजचाए आफ्नो ज्यान जोखिममा पर्ने र बच्चामा समस्या देखिन सक्ने उनले बुझेकि छिन्। ‘नयाँ छोरी–बुहारीलाई लजाउन हुँदैन भनेर भन्छु’, माया भन्छिन्, ‘समयमै गर्भ जाँच नगराएका कारण मेरा पनि दुईवटा सन्तान जन्मिएर खेर गए। समयमै गर्भ जाँचेको भए समस्या पत्ता लाग्थ्यो कि भन्ने लाग्छ।’ आमा र बच्चाको ज्यान जोखिममा पर्नबाट बचाउन पनि समयमै जाँच गर्नुपर्ने उनको भनाइ छ।
 
उनको जस्तै जौगैराकै शिला चेपाङको पनि समयमै गर्भजाँच नगर्दा एउटा वच्चा खेर गयो। स्वास्थ्यमा पटक–पटक समस्या देखिएको भन्दै उनले लाजका कारण स्वास्थ्यचौकी नजाँदा अहिले दुःख भोग्नुपरेको बताइन्। उनले गाउँमा चेतनाको स्तर कम हुँदा धेरैले यस्तो समस्या भोग्नुपरेको बताइन्। महिलासँगै पुरुषमा पनि प्रजनन स्वास्थ्यबारे जानकारी हुनुपर्ने उनको भनाइ छ।

चेपाङ समुदायमा यो समस्या कायम रहेपछि इच्छाकामना गाउँपालिकाले पनि सचेतनाका कार्यक्रम गरिरहेको छ। समयमै गर्भ जाँच्न आउने महिलाका लागि कम्तीमा चार महिनाका लागि आवश्यक पर्ने क्याल्सियम निःशुल्क वितरण गर्ने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक वासुदेव सापकोटाले जानकारी दिइन्।

ग्रामीण अल्ट्रासाउण्ड सुरू गरिसकेको जनाउँदै उनले गर्भ जाँच्न आउने महिलालाई कम्तीमा चार महिनाका लागि निःशुल्क क्याल्सियम उपलब्ध गराउने कार्यक्रम छिट्टै लागू हुने बताइन्। 

गाउँपालिकाबाट टोलटोलमा पुगेर पनि स्वास्थ्य सेवा सञ्चालन गरिरहेको उनले बताइन्। सङ्घीय सरकारकै योजनाअनुसार चितवनको इच्छाकामना र राप्तीको चेपाङ बस्तीमा ‘चेपाङका लागि पोषण’ कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्।

जनचेतनामूलक कार्यक्रमले केही सुधार भए पनि पूर्णरूपमा परिवर्तन ल्याउन नसकिएको सापकोटाले बताइन्।  सबै निकायको सहकार्य र स्थानीयस्तरमा नियमित सचेतनामूलक गतिविधिले मात्र परिवर्तन ल्याउन सकिने उनको भनाइ छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad