ad ad

लुम्बिनी


गर्भवतीलाई गाउँमै भिडिओ एक्सरे सेवा

गर्भवतीलाई गाउँमै भिडिओ एक्सरे सेवा

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार ८:०, पाल्पा

गाउँमा भिडिओ एक्सरे सेवा नहुँदा पाल्पाको निस्दी गाउँपालिकाका गर्भवतीलाई सदरमुकाम तानसेन तथा रामपुर धाउनुपर्थ्यो। उनीहरूलाई भिडिओ एक्सरे सेवा लिन एक दिन पुरै बिताउनुपर्थ्यो। अब भने यहाँका गर्भवतीलाई सो सेवाका लागि अन्यत्र जानु पर्दैन। 

पालिकाले गर्भवतीलाई लक्ष्य गरी निःशुल्क ग्रामीण भिडिओ एक्सरे सेवा सञ्चालन गरेको छ। पलिकाका सातवटै वडामा रहेका स्वास्थ्य चौकीमार्फत प्रत्येक महिना एक दिन सेवा दिन थालिएको स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिसाले जानकारी दिए। 

वडा नं १ को बाकामलाङ स्वास्थ्य चौकीमा हरेक महिनाको २३ गते, वडा नं २ को सहलकोट स्वास्थ्य चौकीमा २२ गते, वडा नं ३ को झिरुवास स्वास्थ्य चौकीमा २१ गते, वडा नं ४ को मित्याल स्वास्थ्य चौकीमा ११ गते, वडा नं ५ को गल्धा स्वास्थ्य चौकीमा १४ गते, वडा नं ६ को अर्चले स्वास्थ्य चौकीमा १२ गते तथा वडा नं ७ को ज्यामिरे स्वास्थ्य चौकीमा १३ गते भिडियो एक्सरे सेवा दिइने उनले बताए। यही भदौ ११ गते उक्त सेवा सुरु गरिएको हो। 

‘प्रदेश सरकारले एक जना तालिम प्राप्त अनमीको व्यवस्था गरेपछि यो सेवा सुरु गरेका हौँ”, संयोजक दिसाले भने। गर्भवतीको समस्यालाई ध्यान दिँदै पालिकाले उक्त सेवा सुरु गरेको हो। 

गर्भवतीलाई वडामा रहेका स्वास्थ्य संस्थामार्फत हरेक महिना प्रत्येक वडा वडामा समय तय गरेर सेवा प्रवाह गर्न थालिएको उनले बताए। गाउँकै स्वास्थ्य चौकीबाट सेवा पाउँदा उनीहरूलाई ठूलो राहत मिलेको छ। यसअघि तानसेन र रामपुर धाउँदा यातायात, बास बस्नेलगायत समस्या थियो। 

स्थानीयस्तरमै सेवा पाउँदा सास्ती भोग्नुपर्ने समस्या टरेको निस्दी–४ की हिराकुमारी खाम्चाले बताइन्। 

‘टाढा जानुपर्ने झन्झटले गर्भवती स्वास्थ्य परीक्षण गर्दैनथे, अब ठूलो राहत भएको छ’, उनले भनिन्। मेसिन बिग्रिने, स्वास्थ्यकर्मी अभावलगायत समस्याले कतिपय बेला भने सेवा सेवा नलिइकन फर्कनुर्ने समस्या थियो। निजी क्लिनिकमा महँगीका कारण सेवा लिन समस्या थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .