ad ad

लुम्बिनी


रुपन्देही २ बाट उम्मेदवारी दिने घोषणा गरेका डा. भुसाल भेटिन्छन् स्वास्थ्य शिविरमा

रुपन्देही २ बाट उम्मेदवारी दिने घोषणा गरेका डा. भुसाल भेटिन्छन् स्वास्थ्य शिविरमा

स्वास्थ्य शिविरमा बिरामी जाँच्दै डा. निकोलस भुसाल


सुदीप भण्डारी
साउन १८, २०७९ बुधबार १३:२७, बुटवल

अब हुने प्रतिनिधि सभाकाे निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका डा. निकाेलस भुसाल स्वास्थ्य शिविरमा भेटिने गरेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका १ मा रहेको पर्रोहा परमेश्वर बोलबम धाममा साउन १ गतेदेखि स्वास्थ्य शिविर चलिरहेको छ। बोलबमधामको मन्दिरमा भीडभाड भएका बेला निकाेलस आफैँ बसेर धाममा आएका दर्शनार्थीको स्वास्थ्य परीक्षण गर्ने र सल्लाह दिने गरेका छन्। 

निकाेलस आबद्ध संस्था युथ फर नेसन (राष्ट्रका लागि युवा) सहित रोट्याक्ट क्लब अफ कोटिहवा र सैनामैना जेसिजको संयुक्त आयोजनामा बोलबमधाममा स्वास्थ्य शिविर सञ्चालन भइरहेको हो।  निकाेलस युथ फर नेसनका अध्यक्ष हुन्। 

पर्रोहा बोलबम धाममा श्रावणी मेला चलिरहेको छ। मेला भर्न आउने दर्शनार्थीलाई लक्ष्य गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। बोलबम धाममा विशेष गरेर सोमबार र शनिबार भीड हुने गरेको छ। भीड हुने दिन निकाेलस आफैँ स्वास्थ्य परीक्षणमा खटिने गरेका छन्। अरू दिन उनका टिमका सहयोगी रहन्छन्। 

यो खबर लेख्दासम्म शिविरमा साढे २ हजारभन्दा बढी जनाले स्वास्थ्य परीक्षण गराएका छन्। विशेषगरी रुघाखोकी, ज्वरोका विरामी धेरै आउने गरेका छन् । त्यस्तै महिला तथा प्रसुती, हाडजोर्नी, मनोरोग र छालासम्बन्धी समस्या भएका बिरामी पनि शिविरमा आउने गरेको डा. भुसालले बताए। 

‘हरेक दिन कम्तीमा ४० देखि ५० जनासम्म यससम्बन्धी समस्या लिएर आउनुहुन्छ निःशुल्क ब्लड, सुगर परीक्षणको व्यवस्था पनि गरिएको छ’, डा. भुसालले भने, ‘हामीले उहाँहरूलाई निःशुल्क रूपमा औषधिका साथै आवश्यक परामर्श दिएर पठाउने गर्छौं।’ 

स्वास्थ्य शिविरलाई डा. भुसालले आफ्नो चुनावी अभियानसँग पनि जोडेका छन्। गत बुद्धजयन्तीमा उनले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन्। 

त्यस्तै काठमाडौंमा भएको स्वतन्त्र उम्मेदवारहरूको भेलामा पनि उनले आफ्नो उम्मेदवारीबारे बताएका थिए। नेतृत्वमा नयाँ पुस्ता आउनुपर्छ भन्ने अभिप्रायले आफूहरूले राजनीतिक अभियान थालेको भुसालले बताए। 

‘जन्मेदेखि एउटै पुस्ताको नेतृत्वको भरमा हामी बसिरहेका छौं। त्यसलाई ओभरटेक गर्न नयाँ पुस्ता नेतृत्वमा आउनैपर्छ’, उनले भने  ‘पहिले हामी सामाजिक र आर्थिक परिवर्तनका लागि अगाडि बढेका थियौं। अब राजनीतिक परिवर्तनका लागि अगाडि बढेका छौं। त्यसका लागि रुपन्देही क्षेत्र नम्बर २ मा राम्रो माहोल बनाइरहेका छौं।’ 

बुटवल र आसपासका क्षेत्र समेटिएको रुपन्देही क्षेत्र नम्बर २ एमालेका विष्णु पौडेलले २०६४ सालदेखि निरन्तर जितेको क्षेत्र हो। 

२०७४ सालको चुनावमा पौडेलले कांग्रेसका युवराज गिरीलाई २३ हजारको फराकिलो मतान्तरले हराएका थिए। एमालेले रुपन्देही २ लाई आफ्नो गढ ठानेको थियो। गत स्थानीय चुनावमा यो क्षेत्रअन्तर्गत बुटवल उपमहानगरपालिकामा कांग्रेस विजयी भएर एमालेको गढ भत्काएको थियो। 

प्रतिनिधि सभाको उम्मेदवार बन्ने तयारीस्वरूप निकाेलसले यहाँका स्थानीय समस्याको अध्ययन र अनुसन्धान गरिएको सुनाए। 
‘सुरुमा बुटवल १ को समस्या के छ भनेर त्यहाँका युवाहरूसँग अन्तरक्रिया गर्यौं। त्यहाँ तटबन्ध र पानीको समस्या रहेछ’, उनले भने, ‘वडा नम्बर ३ र ४ मा पहिरोको समस्या देख्यौं। फोहर व्यवस्थापन लगायत अन्य समस्याहरूको पनि अध्ययन गरेका छौं।’ 

समस्या समाधानका लागि सम्बन्धित कार्यालयमा गएर अन्तरक्रिया गरेको भुसालले बताए। 

बोलबमधाम बाहेक अन्य विभिन्न ठाउँमा निकाेलसको टिमले स्वास्थ्य शिविर सञ्चालन  गरेको छ। त्यस्तै रक्तदान कार्यक्रम, क्याम्पस, टोल तथा अन्य ठाउँमा युवाहरूसँगको अन्तरक्रिया पनि गरेको छ। गत असार १५ मा सैनामैना १ मा निकाेलसको समूहले रोपाइँ जात्रा पनि आयोजना गरेको थियो। 

अहिलेको चुनाव केन्द्रित मात्र नभई अरू बेला पनि उनले सामाजिक गतिविधि र अभियान सञ्चालन गरिरहेको छन्। भूकम्प, कोरोना संक्रमणका बेला पनि निकाेलस देशका धेरै ठाउँमा पुगेर काम गरेका थिए। मुलुकका धेरै जिल्लामा पुगेर उनले स्वास्थ्य शिविर सञ्चालन गरी सहभागी भएका छन्। 

डा. निकाेलस भुसाल मनरोग विशेषज्ञ हुन्। उनी त्रिवि शिक्षण अस्पताल (काठमाडौं) का आवासीय चिकित्सक समेत हुन्। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताउन उनले सहयोग गरेका थिए। 

तर बुटवलमा उनले उम्मेदवारी घोषणा गरे पनि चुनावी माहोल तातिसकेको छैन। तर स्वतन्त्र उम्मेदवारका रूपमा यतिबेलासम्म मुख्य गरेर उनको चर्चा सुरु भएको छ। निर्वाचनको मिति घोषणा भएपछि  डा. निकाेलसको नै चर्चा थप चुलिन्छ वा सेलाउँछ, त्यो थाहा पाउन केही हप्ता पर्खनुपर्ने हुन्छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .