रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन्।
इँटाको माग घट्नासाथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्।
गत वर्ष २५ हजार रुपैयाँ प्रतिमेट्रिकटन खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रति मेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचेअनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए।
महासचिव गुप्ताले भने, 'इँटा उद्योगमा ६० प्रतिशत कोइलामा मात्र खर्च हुने गर्छ। नेपाली इँटा व्यवसायीले गुणस्तरहीन कोइला पनि चर्को मूल्यमा खरिद गर्नुपर्ने हुँदा आउने एक याम पछि इँटा उद्योग बन्द गर्ने मनसायमा इँटा उद्योगी पुगेका हुन्।'
जिल्लामा करिब ४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा आएका छन् तर पछिल्लो समय डिजेलमा भएको मूल्यवृद्धिका कारण कोइला ढुवानी खर्च बढ्नाका साथै सोचेअनुसार इँटाको माग नहुँदा सञ्चालित इँटा उद्योगसमेत बिक्री तथा बन्द हुने अवस्थामा पुगेको महासचिव गुप्ताको भनाइ थियो।

प्रतिक्रिया